सत्ता गठबन्धनभित्र मन्त्रालय भागबण्डाको सकस

नेताहरूसँग देउवाको आग्रह : उपप्रधानमन्त्री र राष्ट्रियसभाबाट मन्त्री प्रस्ताव नगुर्नस्

गठबन्धनका दलहरूले सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तार धकेलिँदै गएको छ।

नेपालभ्युज

सत्ता गठबन्धनभित्र मन्त्रालय भागबण्डाको सकस

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले साढे दुई महिनापछि मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। मन्त्रिपरिषद् विस्तार नहुँदा चौतर्फी आलोचना खेपेका देउवाले सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता भएपछि तयारीलाई तीव्रता दिएका हुन्। गठबन्धन दलका नेताहरूबीच मन्त्रिपरिषद् विस्तारकै विषयलाई लिएर द्विपक्षीय, बहुपक्षीय बैठकहरू चलिरहेका छन्।

बुधबार बिहान देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्। भेटपछि प्रचण्डले पार्टीका स्थायी समिति बैठक डाकेका छन्। बैठक मूलतः मन्त्रिपरिषद् विस्तारकै विषयमा केन्द्रित रहने माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश साह बताउँछन्। उनी भन्छन्, “बैठकमा राष्ट्रिय सम्मेलनका केही मुद्दाका विषय पनि केन्द्रित हुनेछ।”

बुधबार बिहानको भेटमा देउवाले प्रचण्डस‍ँग मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नराख्ने अडान दोहोर्‍याएका छन्। बालुवाटार स्रोतका अनुसार देउवाले दुई कुरामा जोड दिए। एक, उपप्रधानमन्त्री प्रस्ताव नआओस्। दुई, राष्ट्रिय सभा सांसदलाई पनि प्रस्ताव नगरियोस्।

प्रधानमन्त्रीका दुई आग्रहसहित स्थायी समिति बैठक बस्दै गरेको माओवादी केन्द्रले मन्त्रिपरिषद्मा पठाउने नामहरूको छनोटको अभ्यास थालेको छ। अहिले मन्त्रिपरिषद्मा माओवादी केन्द्रबाट अर्थमन्त्री जनादर्शन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल सहभागी छन्।

मन्त्रिपरिषद् विस्तारको अभ्यासले तीव्रता पाउन थालेपछि सत्तारुढ गठबन्धनका अर्का नेता उपेन्द्र यादव काठमाडौं फर्केका छन्। बुधबार जनकपुरमा बस्ने तय भएको जसपा मधेश प्रदेशको बैठक भदौ १९ गतेलाई सारेर उनी काठमाडौं फर्किएका हुन्।

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता नभई सरकारमा नजाने अडान राख्दै आएका यादव पनि काठमाडौं फर्केपछि सरकारमा पठाउने नामहरू छनोटमा व्यस्त भएका छन्। गठबन्धनका एक नेता भन्छन्, “माओवादी केन्द्र, जसपा र नेकपा (एस) सबैले आन्तरिक रूपमा मन्त्रिपरिषद्मा पठाउने नाम छनोट गरेलत्तै विस्तार प्रक्रिया बढ्छ।”

त्यस्तै जनता समाजवादी पार्ट्टी (जसपा) वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ भन्छन्, “सम्भवतः आजै गठबन्धनको बैठक बस्नेछ र कुन कुन मन्त्रालय कसको भागमा पर्ने टुंगो लाग्छ।” उनले थपे, “मन्त्रालयहरूको टुंगो लाग्नेबित्तकै हामी मन्त्री टुंगो लगाउछौं।”

उनका अनुसार हालसम्म मन्त्रालयको संख्या कसले कति लिने तय भएको भए पनि कसलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागिसकेको छैन। सरकारको नेतृत्व गरिरहेको कांग्रेसले प्रधानमन्त्रीसहित सात, माओवादी केन्द्र, नेकपा (एस) र जसपाले पाँच मन्त्री र एक-एक राज्यमन्त्री पाउने सहमति बनेको बताइएको छ।

अहिलेसम्म कांग्रेसले गृह, कानून, परराष्ट्र र स्वास्थ्य मन्त्रालय सम्हालेको छ भने माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय पाएका छन्। प्रधानमन्त्री देउवाले अब आफ्नो दलबाट तीन जनालाई मात्रै मन्त्री बनाउन पाउनेछन्।

यसअघि परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गर्दा पार्टीभित्र असन्तुष्टि बढेको थियो। खासगरी रामचन्द्र पौडेले खड्कालाई पार्टीमा छलफल नगरी मन्त्री नियुक्त गरेकोमा रोष प्रकट गरेका थिए। पार्टीभित्रका वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौला समूह, महामन्त्री शशांक कोइरालालाई चित्त बुझाएर मन्त्रिपरिषदमा लैजाने नाम छनोट गर्नु देउवाका लागि चुनौतीपूर्ण देखिन्छ।

माओवादी केन्द्रको अवस्थाबारे त प्रचण्डले खुलेरै भनिसके। उनले भनेका थिए, “कसलाई मन्त्री बनाऊँ भनेर म आफैं आतंकित भएको छु।” माओवादीले पनि अब तीन मन्त्री र १ राज्यमन्त्रीको नाम छनोट गर्नुपर्ने छ। दुई जना मन्त्री यसअघि नै नियुक्त भइसकेका छन्।

नेकपा (एस)मा पनि मन्त्री बन्न इच्छुकहरूको होडबाजी चलेको छ। अध्यक्ष माधव नेपाल बिरामी परेकाले यो पार्टीको औपचारिक बैठक बस्न सकेको छैन। यो दलको भागमा पनि पाँच मन्त्री र एक राज्यमन्त्री परेका छन्।

यस पार्टीका महासविच बेदुराम भुसाल भन्छन्, “हामी अनौपचारिक रूपमा मन्त्रिपरिषद्मा लैजाने नामबारे छलफलमा छौं। नेताहरूबीच सहमति बनेपछि छिट्टै औपचारिक रुपमा बैठक गरेर टुंग्याउँछौं।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved