नयाँ यात्रामा कन्हैया कुमार

भारतीय कांग्रेसका उद्धारक होलान् ?

भारतीय कांग्रेसलाई युवा नेता उत्पादन गर्ने तर लामो समय पार्टीमा टिकाउन नसक्ने आरोप लाग्दै गर्दा कन्हैयाको कांग्रेस यात्रा कस्तो रहला ? आगामी दिनले देखाउने छ।

भारतीय कांग्रेसका उद्धारक होलान् ?

काठमाडौँ। ‘मेरो राजनीति भारतको कर्पोरेट क्षेत्रलाई पोस्न होइन’, २०१९ मा भारतमा भएको लोकसभा निर्वाचनको कार्यक्रमका दौरान कन्हैया कुमारले भनेका थिए। मंगलाबार उनी भारतको पूँजीवादी व्यक्तिहरुको पार्टीको आरोप लाग्ने गरेको भारतीय राष्ट्रिय कांग्रेसमा प्रवेश गरेका छन्, औपचारिक रुपमा। पार्टी प्रवेशका क्रममा उनले भारतको प्रजातन्त्र खतरामा परेको र भारतको प्रजातन्त्रलाई कांग्रेस पार्टीले मात्रै जोगाउन सक्ने दाबी गरे।

२०१९ को लोकसभा निर्वाचनमा कन्हैया बिहारको बगुसराय जिल्लाबाट प्रतिस्पर्धा गर्दै थिए। उनको प्रमुख प्रतिस्पर्धी थिए, तत्कालिन मन्त्री एवंम भारतीय जनता पार्टी (भाजपा) का नेता गिरिराज सिंह। भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) का तर्फबाट निर्वाचनमा होमिएका उनले आफू किन निर्वाचित हुनुपर्छ–जोडतोडले प्रचार त गरेका थिए, तर जित्ने सम्भावनामा आफै यकिन थिएनन्। उनी भाजपा र उसका गठबन्धन दल बाहेक र कांग्रेस लगायतका दलको समर्थनमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तय भए पनि व्यवहारमा त्यो सम्भव भएन। आम आद्मी पार्टी र बहुजन समाजवादी पार्टीले भने उनलाई समर्थन गरेका थिए।

निर्वाचन अभियानमा सहयोग गर्न दिल्ली विश्वविद्यालय, हैदरावाद विश्वविद्याल, जेएनयूका विद्यार्थीदेखि प्राध्यापकसम्म उनको गृह जिल्लामा मान्छेको भीड थियो। महिला अभियानकर्ताको भीड पनि उस्तै थियो। कन्हैयाका पीएचडी सुपरभाइजर एसएन मलाकार पनि उनको चुनावी अभियानमा सहभागी थिए।

‘राजनीति जमिन र जमीर (आत्मसम्मान) सँग जोडिएको हुनुपर्छ, वर्तमान समयमा भारतको राजनीतिले न जमिनको सम्मान गरेको छ न आफ्नो जमीरको नै’, मालाकारले भनेका थिए, ‘हाम्रो राजनीतिक मुद्दा यसबाट विकर्षण भएको छ। आकर्षण जगाउन कन्हैयाले भूमिका खेल्न सक्छ। त्यसैले हामीले उसलाई समर्थन गरिरहेका छौँ।’ जनतासँग जोडिन सक्ने राजनीतिक नाराकै कारण कन्हैया भारतमा लोकप्रिय भएका हुन्।

जनतासँग जोडिने नारामा उनको जति भूमिका छ त्यति नै उनको तत्कालीन पार्टीको पनि। कम्युनिस्टको राजनीति गर्दा उनलाई भूईँमान्छेको राजनीति गर्न सहज थियो। कांग्रेस प्रवेशसँगै उनका यसअघिका राजनीतिक मुद्दाले कस्तो आकार लिन्छ भन्ने प्रश्न सबैभन्दा कठोर प्रश्न बनेको छ।

भारतीय कांग्रेसमा नेतृत्वको खडेरी रहेको चर्चा भएको पाइन्छ। राहुल गान्धीको नेतृत्वमा लोकसभा निर्वाचनमा प्रतिस्पर्धा गरेको कांग्रेसले खासै सुधारिएको प्रर्दशन गर्न नसकेसँगै गान्धी नेतृत्वबाट बाहिरिए। आफ्नो कुरा जनतामाझ पुर्याउन सक्ने क्षमतामा गान्धीले धोका खाएको चर्चा भयो। कांग्रेसलाई वक्तित्व क्षमता भएको र पार्टीका कुरालाई जनतामाझ बुझ्ने हिसाबले राख्न सक्ने नेताको खोजी हुँदै गर्दा कन्हैयामा त्यो गुण कांग्रेसले भेटेको विश्लेषण गरिएको छ।

अर्कोतर्फ भारतको राजनीति दुई भागमा विभाजित रहेको पाइन्छ। हिन्दुवादी समूहलाई भाजपाले नेतृत्व गरेको आरोप लाग्दै गर्दा हिन्दु इतर समूहको नेतृत्व फिका देखिन्छ। भारतको राजनीतिक घटनाक्रम हेर्दै गर्दा भारतको आगामी लोकसभाको निर्वाचनमा पनि पछिल्लो निर्वाचनमा जस्तै साम्प्रदायिक विषय प्रमुख मुद्दा बन्ने देखिन्छ।

यस्तो अवस्थामा हिन्दुवादी पक्षको नेतृत्व प्रधानमन्त्री मोदीले गर्दै गर्दा अर्को खेमाको शक्ति सञ्चय अभियानका रुपमा पनि कन्हैयाको कांग्रेस प्रवेशलाई विश्लेषण गर्न सकिन्छ। यस्तै कनैयाको कांग्रेस प्रवेशलाई हिन्दुवादी शक्ति विरोधी युवा नेतालाई आफ्नो पक्षमा ल्याउने कांग्रेसको अभियानका रुपमा व्याख्या गरिएको छ। त्यसैको अर्को कडी हो गुजरातका एमएलए जिग्नेश मेवानी। कन्हैया कांग्रेस प्रवेश गर्दैगर्दा यी अर्का युवा नेताले पनि कांग्रेसको हात समातेका हुन्।

‘‘अभिव्यक्ति स्वतन्त्रता लडाइँका एक योद्धा हुन् कन्हैया’’, उनलाई कांग्रेसमा औपचारिक रुपमा प्रवेश गराउँदा भारतीय कांग्रेसका महासचिव केसी वेणुगोपाल भन्छन्। खासमा कन्हैयाको प्रख्याति पनि अभिव्यक्ति स्वतन्त्रताकै लडाइँबाट शुरु भएको हो।

दिल्ली जेएनयू विद्यार्थी संगठनका यी पूर्वअध्यक्षले विद्यार्थी कालमा दिएका भाषण र विचारबाट धेरै मानिस उनीसँग प्रभावित रहेको पाइन्छ। प्रभावित हुने पछिल्लो क्रममा भारतकै पुरानो मध्यको पार्टी कांग्रेस देखिएको हो। यद्यपी, उनलाई कांग्रेसमा प्रवेश गराउँदा पार्टीलाई फाइदा हुने आकलनमा ठेस लाग्न सक्ने विश्लेषण नभएको होइन।

कन्हैया राजद्रोहको मुद्दा खेप्दै आएका पात्र हुन्। विद्यार्थी कालमा देश विरोधी भाषण गरेको आरोप उनीमाथि लागेको छ। २०१६ को यो घटनापछि उनले त्यही आरोपमा जेल सजाय पनि काटेका पात्र हुन्।

भारतमा राष्ट्रवादी सोच तीव्र गतिमा विकसित हुँदै गर्दा कन्हैयाले कांग्रेस पार्टी प्रवेश गरेका छन्। उनले पार्टी प्रवेश गरेसँग २०१६ को उक्त घटनाका विषयमा कांग्रेसले पनि स्पष्टीकरण पक्कै मागिनेछ। कन्हैयालाई आगामी लोकसभाको निर्वाचनलाई ध्यानमा राख्दै कांग्रेस पार्टी प्रवेश गराइएको हो भन्नेमा शन्देह छैन। तर, निर्वाचनका क्रममा उनलाई लागेको आरोपलाई कांग्रेसले पनि समाना गर्नुपर्ने अवस्था आउन सक्छ।

भारतीय कांग्रेसले तामझामसहित युवा नेतालाई आफ्नो पार्टीमा यसअघि पनि प्रवेश गराएको थियो। ज्योतिरादिंत्य सिन्धिया, जितिन प्रसाद, नारायण राने लगायतका युवा नेताले कांग्रेसका साथ छोडिसकेका छन्। सिन्धिया र जितिन प्रसाद कांग्रेस नेता राहुल नजिक रहेका युवा नेताका रुपमा परिचित थिए। भने, राने महाराष्ट्रका मुख्यमन्त्री भइसकेका व्यक्ति हुन्। सिन्धियाले केही समयअघि कांग्रेस पार्टी परित्याग गरी भाजपातर्फबाट मध्यप्रदेशको मन्त्री पद लिएका छन्।

पार्टी राजनीतिले आफ्नो विकास नगर्ने देखेपछि उनीहरुले पार्टी परिर्वतन गरेको आरोप लाग्ने गरेको छ। कांग्रेसमा रहँदा भारतीय प्रधानमन्त्री मोदीको कट्टर विरोध गर्ने यी नेताहरु पछि मोदीकै पार्टीको सदस्य भएका हुन्।

पार्टी प्रवेश गर्ने क्रम र छोड्ने क्रम चलिरहँदा कांग्रेस प्रवेश गरेका कन्हैया कुमार पछिल्लो समयका प्रभावशाली युवा नेता हुन्। भारतीय कांग्रेसलाई युवा नेता उत्पादन गर्ने तर लामो समय पार्टीमा टिकाउन नसक्ने आरोप लाग्दै गर्दा कन्हैयाको कांग्रेस यात्रा कस्तो रहला ? आगामी दिनले देखाउने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved