दशैंमा आउँदैछन् यी किताब

नजिकिँदै गरेको दशैंलाई नै लक्षित गरेर बजारमा किताब आउने क्रम पनि बढ्दो छ।

नेपालभ्युज

दशैंमा आउँदैछन् यी किताब

काठमाडौं। दशैंमा रमाइलो गर्ने अनेक तरिका छन्। कोही घुम्न निस्कन्छन् त कोही मीठामीठा परिकार बनाएर जमघटमा रमाउँछन्। दशैंको बिदामा नयाँ किताब पढेर रमाउने एकखाले जमात पनि छन्।

नजिकिँदै गरेको दशैंलाई नै लक्ष्य गरेर बजारमा किताब आउने क्रम पनि बढ्दो छ।

बेला पब्लिकेसनले पनि दशैंअघि दुई किताब बजारमा ल्याउने तयारी गरिरहेको छ। एउटा कवि विमल निभाको कवितासंग्रह ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ र अर्काे विनोदविक्रम केसीको निबन्धसंग्रह ‘भेन्टिलेटरमा आमा’।

बेला पब्लिकेसनकी प्रकाशक बन्दना ढकालका अनुसार विमलले एमालेकै बल्खुस्थित मुख्यालयमा आत्महत्या गरेका झापा विद्रोहका योद्धा रहेका डेगेन्द्र राजवंशीलाई सेरोफेरोमा राखेर कविता तयार गरेका हुन्। उनी भन्छिन्, “विमल निभाले वर्तमान राजनीतिलाई कटाक्ष गरेर लेखिएका कविताहरू छन्। त्यस्तै विनोदविक्रम केसीले परिवर्तनको आकांक्षामा वर्तमान समयको विकृति विसंगतिलाई व्यंग्य गर्दै निबन्ध तयार पारेका छन्। उनको निबन्धमा भावनात्मक सूक्ष्मतासँगै वैचारिक तीव्रता छ।”

बेला पब्लिकेसनबाटै भोगिराज चाम्लिङको सम्पादनमा दुई किताब ‘किरात मिथक र विश्लेषण खुवालुङ’ र ‘किरात सभ्यता र मुन्दुम’ प्रकाशनको क्रममा छ। यी दुई पुस्तक भने दशैंलगत्तै बजारमा आउनेसमेत प्रकाशक ढकालले जानकारी दिइन्।

किताब पब्लिसर्सले हालै लेखक सुजित मैनालीको ‘सती : इतिहास र मीमांसा’ पुस्तक बजारमा ल्याएको छ। इन्डिगो प्रकाशनले पनि यसपालिको दशैं अघि झन्डै दर्जन पुस्तक प्रकाशन गर्न लागेको छ। प्रकाशक विष्णुकुमार पौडेलका अनुसार लेखक चन्द्रदेव जोशीको ‘मार्क्सवाद र विश्व कम्युनिस्ट’ प्रकाशनको क्रममा छ। साथै विष्णुकुमारकै बालकथा ‘हिउँको मूर्ति’, प्रमोद प्रधानको ‘साहसी डाँफे’, देवकी अभिलाषीको ‘पाटेबाघ र डल्ले कमिलो’ लगायत १० वटा बालकथाका पुस्तक दशैंअघि आउने उनले जानकारी दिए।

बीएन पुस्तकले पनि दशैंअघि आधा दर्जन पुस्तक बजारमा ल्याउने तयारी गरिरहेको छ। प्रकाशक सूर्य बिसीका अनुसार प्रेम दर्शनमा आधारित लेखक कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ बजारमा आउने तयारीमा छ भने रिटायर्ड सीडीओ धनप्रसाद शर्मा पौडेलले सुदूरपश्चिमको ग्रामीण परिवेशको कथालाई बुनेर तयार पारेको उपन्यास आउने क्रममा छ।

साथै विनाकारण जेल सजाय भोग्न विवश कैदीको कथालाई समेटेर रेशम गिरीको उपन्यास ‘चक्रधूम’ आउँदैछ भने राहुल शांकृतायनले लेखेको ‘लेनिनको जीवनी’लाई मीनराज वसन्तले अनुवाद गरी प्रकाशन भएको छ।

साथै पूर्वी तराईको ग्रामीण समाजका छोटा कथालाई समेटेर तयार भएको दिनेश कुमार संग्रौलाको कथासंग्रह ‘मैतुंगो’ पनि दशैंअघि पाठकका हातमा पुर्‍याउने तयारीमा छन् सूर्य।

फाइनप्रिन्टले दुई अनुवाद प्रकाशन गर्दैछ। अंग्रेजी ‘हिप्पी’को अनुवाद सुरेश बडालले गरेका छन् भने नेपाली ‘फातसुङ’लाई अजित बरालले ‘सङ अफ सोइल’ अनुवाद गरेका छन्। तर यी दुवै किताब दशैंअघि आइपुग्छन् कि आइपुग्दैनन्, टुंगो नभएको बराल बताउँछन्।

बुकहिलले दशैंमा नयाँ किताब र पुराना किताबको नयाँ संस्करणका साथै अनुवादका किताब पनि बजारमा ल्याएको छ। नवराज लम्सालको महाकाव्य ‘अग्नि’, दीपक पराजुलीको ‘मिथ्या’, खप्तडबाबाको ‘स्वास्थ्यविज्ञान’लगायत नयाँ पुस्तक आएका छन् मल्लके सुन्दरको अनुवादमा ‘चिनचियाङ बुढो सुय्मो’, रामचन्द्र केसीको अनुवाद ‘मेटाफोर्सिस’ र योङ्गे मिङ्युर रिम्पोछेको किताब सरोज धितालले अनुवाद गरी ‘जिउनुको मज्जा’ प्रकाशित भएको छ। साथै मदनमणि दीक्षितको ‘माधवी’, सञ्जीव उप्रेतीको ‘सिद्धान्तका कुरा’, युवराज नयाँघरेको ‘एक हातको ताली’ लगायत पुस्तक रिप्रिन्ट भएका छन्।

सांग्रिला पब्लिकेशनले पनि हालै नरहरि आचार्यको ‘जीवनको पाठशाला’, ‘सम्झना र सम्बन्ध’ र रमेश रुछेन राईको ‘श्वेत शार्दूल’, ‘मदन भण्डारीको जीवन’ प्रकाशन गरेको छ।

साथै भुवन ढुंगानाको ‘अक्षरश’, विन्दा पाण्डेको ‘धर्तीमाथिको दावी’, ‘अधिकारको लडाइँ’ र दिपेश घिमिरेको ‘नेपाली समाजमा शासन (अवस्था र चरित्र)’ प्रकाशनको क्रममा छन्।

कोभिड-१९ को असर पुस्तकमा पनि

अजम्बरी पुस्तक प्रकाशनले यो वर्ष दशैंलक्षित पुस्तक बजारमा ल्याएको छैन। प्रकाशनका कृष्ण अविरलका अनुसार कोभिडले पुस्तक बजार धराशयी बनाएको कारण पुस्तक ननिकालेको हो।“ऐतिहासिक महत्वका ११ वटा पुस्तक छाप्न तयार पारेर राखेका छौँ,” उनी भन्छन्, “बजार सुधार नभएसम्म कुनै पनि पुस्तक निकाल्दैनौँ।”

कोभिड-१९ को महामारीपछि पुस्तक बजार प्रभावित भएको बुकहिलका खड्का बताउँछन्। उनी भन्छन्, “मानिसलाई खानबस्नको समस्या भयो। त्यसले गर्दा पुस्तक बजार एकदमै छैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved