नेपाली राजनीतिमा वृद्धतन्त्रको बहस

जीवनपर्यन्त पद ओगट्ने नेताहरूको प्रवृत्तिले गाँजिएको नेपाली राजनीतिमा फेरि एकपटक उमेर र पद हदको बहस शुरु भएको छ । 

नेपाली राजनीतिमा वृद्धतन्त्रको बहस

राजनीतिमा नेतृत्वको उमेर मानक हो कि योग्यता ? पार्टी नेता कार्यकारी पद दुई अवधि नै काफी हो कि सास फेरुञ्जेल? राजनीतिमा पार्टी नेतृत्व उमेर महत्त्वपूर्ण हो कि उसको विचार, नीति र काम ?

नेपाली राजनीतिक बजार यिनै सवालको पक्ष–विपक्षमा तरंगित हुन थालेको छ। १५–१७ असोजमा ललितपुर गोदावरीमा हुन लागेको नेकपा (एमाले)को विधान महाधिवेशनमा ‘७० वर्षे उमेर र कार्यकारी पदमा दुई अवधि’को हदबन्दी लैजाने तयारी भएसँगै यो विषयले चर्चा पाउन थालेको हो।

नेपालका राजनीतिक दलमा उमेर र अवधि हदको सान्दर्भिकताबारे विमर्श गर्नुअघि  एकछिन १८ वर्षअघिको मलेसिया पेनाङ सेमिनारमा पुगौँ !
एउटा अन्तर्राष्ट्रिय संस्थाले आयोजना गरेको सेमिनार। युवा नेतृत्व निर्माण, चुनौती र अवसरबारे गरमागरम बहसले सेमिनार तातेको छ। बदलिँदो विश्व परिवेशमा लोकतन्त्र र समाजवादबारे झन् चर्को विमर्शले तातो थप्दैछ। सेमिनारमा सहभागी छन्, नेवि संघका तत्कालीन सभापति गुरुराज घिमिरे। न्युजिल्याण्डकी जेसिन्डा अर्डर्न। घिमिरे र अर्डर्नसहित दर्जनौँ मुलुकका युवा सेमीनारमा सहभागी छन्।

न्युजिल्यान्डकी वर्तमान प्रधानमन्त्री जेसिन्डा आर्डनसँग सन् २००४ मा नेविसंघको तत्कालीन अध्यक्षको हैसियतमा गुरुराज घिमिरे। र, एक फिलिपिनी युवा नेता तस्वीर : घिमिरेको ट्वीटरबाट

उनै घिमिरे आउने कांग्रेस महाधिवेशनमा पदाधिकारीमा भिड्ने सुरसार गर्दै गर्दा ३७ वर्षको उमेरमै अर्डर्न भने चार वर्षअघि नै न्युजिल्याण्ड लेबर पार्टी नेता र प्रधानमन्त्री भएकी छन्।  “मेरो उमेरमा शेरबहादुर दाइ प्रधानमन्त्री, रामचन्द्र पौडेल मन्त्री भएर सभामुख भइसक्नुभएको थियो,” पदाधिकारीमा दाबी गर्नुको कारण सुनाउँछन् घिमिरे, “हाम्रो पुस्ताले पार्टी नेतृत्व गर्ने र मुलुक हाँक्ने बेला भइसक्यो।”

२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस गठन गर्दा विश्वेश्वरप्रसाद कोइराला ३२ वर्षको भएको प्रसंग उप्काउँदै घिमिरे अहिले पनि विश्वका धेरै देशमा पार्टीका नेता र प्रधानमन्त्री ३०–४० वर्ष उमेर समूहका भएको जानकारी दिन्छन्।

बीपी ३६ वर्षको उमेरमा गृहमन्त्री र ४५ वर्षमा प्रधानमन्त्री बनेका थिए। त्यस्तो विरासत बोकेको कांग्रेसमा उनै बीपीका भाइहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइराला भने जीवनको अन्तिम घडीसम्म पनि सभापति नै थिए।

यो इतिहासबाट नेपालका वामपन्थी दल पनि मुक्त छैनन्। यद्यपी मदन भण्डारी नेकपा (एमाले) को महासचिव र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (मशाल)का महामन्त्री हुँदा ४० पुगिसकेका थिएनन्।

नेताका उमेर र अवधि हदबन्दी मन्थन अघि नेपालमा विद्यमान विभिन्न दलका र अन्तर्राष्ट्रिय अनुभव हेरौँ। नेपालको राजनीतिमा मूलतः तीन धार छन्– वामधार, पूँजीवादी धार र वैकल्पिक धार।

वामधार
नेपालमा संसद्वादी र गैरसंसद्वादी दुवै खाले वामपन्थी पार्टी छन्। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत करिब आधा दर्जन संसद्मा लीन संसद्वादी वाम दल छन्। तिनले त पटकपटक सरकारको नेतृत्वसमेत गरेका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य ‘किरण’ नेतृत्व नेकपा (क्रान्तिकारी माओवादी) र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीजस्ता गैरसंसदीय वामदल छन्।

केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहनविक्रम सिंह, नारायणमान विजुक्छें ‘रोहित’, सीपी मैनालीजस्ता ५० वर्ष माथिका नै दलको नेतृत्वमा छन्। गैरसंसदीय वाम दल नेकपा र वैज्ञानिक समाजवादीको नेतृत्व भने युवाले गरेका छन्।
आजीवन नेतृत्वको प्रचलन भने विश्व कम्युनिस्ट आन्दोलनमै देखिन्छ।

कम्युनिस्टको अन्तर्राष्ट्रिय अभ्यास हेर्दा चे ग्वेभारामात्र यस्तो नेता देखिन्छन्, जसले आफ्नो जीवनकालमा पाएको पद प्रतिष्ठा, सुखसयलसमेत त्यागेर क्रान्तिमा हिँडे। क्रान्तिमै ज्यान गुमाए। बाँकी नेता कोहीले पनि जीवनको उत्तरार्द्धसम्म पनि पार्टी सत्ता होस् या राज्यसत्ता, पद त्यागेनन्। सोभियत संघमा स्टालिन र चीनमा माओ त्से तुङ बाँचुन्जेल पार्टी र राज्यसत्तामा रहे।

‘८६ वर्षका मोहनविक्रम सिंह र ८४ वर्षका नारायणमान विजुक्छेंलाई पार्टी खिएर पीँधमा पुगिसक्दा पनि नेतृत्वको अतृप्त चाहना अझै पूरा भएको छैन, सीपी मैनालीलाई अनेक पटक फुटेर भएर पनि महासचिव भइरहनुपरेको छ, पुष्पकमल दाहाललाई साढे तीन दशक नेतृत्व गर्दा पनि आफूभन्दा योग्य पार्टीमा कोही छैन भन्ने लागिरहेको छ। एमालेमै पनि लामो समय नेतृत्व गरिरहनुभएका नेताहरूलाई दोस्रो–तेस्रो नेता भएर बस्न मन नलागेको घटना भर्खरै पनि देखा परेको छ,’ ७० लाग्न लागेका आफ्ना अध्यक्ष केपी ओलीलाई भने नछोइकन एमाले नेता विष्णु रिजाल सामाजिक सञ्जालमा लेख्छन्।

पुँजीवादी धार
नेपालमा लोकतन्त्रको पर्याय भनिने नेपाली कांग्रेसमा शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरू पार्टी सभापतिको होडमा छन्। गिरिजाप्रसाद कोइराला र सुशील कोइराला पार्टी सभापतिसँगै आर्यघाट पुगेको प्रसंग माथि उल्लेख भइसकेको छ। तर, उमेरकै कोणबाट हेर्दा विश्वको अभ्यास हेर्दा भने वामभन्दा पुँजीवादी एक कदम प्रगतिशील देखिन्छन्।

“चाहेको भए, जर्ज वासिंगटन जीवनभर राष्ट्रपति हुन कसले रोक्नु ? तर उनी भएनन्। नेपालमा पृथ्वीनारायण शाह र अमेरिकामा वासिंगटनको एउटै समय थियो। जर्जले अमेरिकालाई वैभवशाली बनाउने जग बसाएर आजको अमेरिका बन्यो। पृथ्वीनारायणले सामन्तीकरण गर्दै गएकाले आजको यस्तो गरिब नेपाल बन्यो,” जनता समाजवादी पार्टीका नेता गंगा श्रेष्ठ तुलना गर्छन्।

टोनी ब्लेयर राजनीतिबाट अवकाश लिँदा ५५ वर्षका थिए भने दुई कार्यकाल पूरा गरेर अवकाश लिँदा ५० वर्षका। संयुक्त राज्य अमेरिकाका वर्तमान राष्ट्रपति जो वाइडेन ७९ का छन्। बाराक ओबामा भने ४६ को हुँदा राष्ट्रपति भएका थिए। चीनको अभ्यासमा ६० को हाराहारीमा नेतृत्वमा आउने र ७० को हाराहारीमा पुग्दा अवकाश लिने गरेको देखिन्छ। भारतको राजनीतिमा राजीव गान्धीको उमेरका युवा र नरेन्द्र मोदीजस्ता दुवै।

वैकल्पिक धार
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी होस् वा रविन्द्र मिश्रको वैकल्पिक समाजवादी पार्टी, यिनले आफूलाई वैकल्पिक शक्ति भन्छन्। वैकल्पिक केलाई भन्ने विषयमा बहस गर्न सकिएला। किनकि रविन्द्र मिश्रजस्ता पश्चगमनको विचारवाला पनि आफूलाई वैकल्पिक शक्ति भन्छन्। दिल्लीका अरविन्द केजरीवाल पनि आफूलाई वैकल्पिक शक्ति नै भन्छन्।

यी दलहरूमा एउटा समानता भने छ। संगठनमा युवालाई प्रश्रय दिएका छन्। ३० देखि ५० वर्षकाले नेतृत्व सम्हालेका छन्।
नेता श्रेष्ठका अनुसार जसपाले एक व्यक्ति एक कार्यकारी जिम्मेवारी तय गरेको छ। एक व्यक्ति दुई कार्यकाल भने उल्लेख छैन।
“राजनीतिमा उमेरको हदबन्दी लागु हुन्छ कि हुन्न ? बहस होला। तर लागु गर्नुपर्छ भनेर बाबुराम भट्टराईले आफू ७० वर्ष पुगेपछि पार्टीको कार्यकारी जिम्मा नलिने भन्नुभएको छ,” श्रेष्ठ भन्छन्।

राजनीतिक विश्लेषक शंकर तिवारी विश्वमा अहिले चलेको उमेर र अवधि हदबन्दीका सवाल कर्पोरेट कम्पनीसँग तुलना गर्छन्।
“ग्लोबल टे«न्ड हेर्दा त्यहाँको व्यवस्था नै कर्पोरेट अफिस जसरी चलेका छन्। पश्चिमा देशमा पश्चिमा लोकतन्त्र कर्पोरेट स्टाइलले चलेका छन्,” तिवारीको तर्क छ, “त्यहाँको चेतना पनि माथि छ। तिनले सहायकमन्त्री, छायामन्त्री भएर जान पर्दैन। सन् २००० यता त सामाजिक सञ्जालले गाइड गरेको देखिन्छ।”

“कांग्रेस संक्रमणकालमा गुज्रिरहेको छ। कांग्रेस, एमाले हुँदै अहिले माओवादी पनि त्यही समस्याबाट ग्रस्त देखिन थालेको छ,” तिवारी भन्छन्। उनका अनुसार भर्खरै सम्पन्न कांग्रेसको स्थानीय तहको चुनावमा युवा आएकाले परिवर्तन खोजेको संकेत गरेको छ।

“नेपालमा त वैकल्पिक पार्टीबाहेक चाहे मधेसी दल नै किन नहोउन्, सबैतिर वृद्धतन्त्र छ। वृद्धतन्त्र हुँदा डाइनाष्टीतन्त्र हावी हुन्छ,” तिवारी भन्छन्। उनका अनुसार पार्टी नेतृत्वमा युवा नै हुनुपर्छ। तर यसका लागि क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता सुनाउँछन्। उनले अघिल्लो महाधिवेशनमा गगन थापाको महामन्त्री उम्मेदवारीलाई क्वारेन्टिनमा बसी लिएको चेकजाँच पासको संज्ञा दिन्छन्।

“त्यस बेला गगनलाई महामन्त्री कहाँ सुहाउँछ र भन्थे। अहिले फिट छ भन्छन्।  अब उनले क्वारिन्टन चेकपास गरेका छन्”, तिवारीको टिप्पणी छ।

थापाले ५५ वर्ष पुगेपछि सक्रिय राजनीतिबाट सन्यास लिने बताएका छन्। तिवारीका अनुसार नेपालका राजनीतिक दल गम्भीर संक्रमणबाट गुज्रँदैछन्। “३६, ४६ को पुस्ताबाट अब नेतृत्व सिधै ६३ को पुस्तामा आउन थालेको छ,” तिवारी तर्क छ।

नेपालमा सान्दर्भिकता
पश्चिमा पूँजीवादी पार्टी र केही वाम पार्टीले पनि अभ्यास गरेका अवधि हद नेपालमा पनि सान्दर्भिक देखिएको हो। एक, वृद्धतन्त्रले नेपालका तथाकथित मूलधारे राजनीतिक दल नेपाली राजनीति समस्याग्रस्त छन्। दुई, राज्य सत्ताको होस् या पार्टी सत्ताको होस्, पदसँगै आर्यघाट जाने ‘सत्ता–सम्मोहन’ संस्कृति मौलाउँदो छ। तीन, नेपाली राजनीति र राजनीतिकर्मीमा नैतिक मूल्य ह्रास  भइरहेको छ। चार, नातावाद, कृपावाद र परिवारवाद संस्कृति फैलिएको छ।

अहिले बजारमा उठेको नेतृत्व उमेर र अवधि हदबन्दी नेपालमा सान्दर्भिक छ। तर, उमेर र अवधि हद दुवै हो कि एउटा कुनै ? यसबारे भने मतक्यैता देखिन्न।

“उमेर मापन होइन। अवधि सीमित गर्नु उत्तम बाटो हो। ४६ वर्षमा ओबामा भए त ६७ वर्ष गिरिजाप्रसाद कोइराला सांसद र प्रधानमन्त्री। कोइरालाले राजनीतिक सन्यास त मृत्युपछि लिए। त्यसैले एमाले बनाएको उमेर हदको अर्थ छैन,” घिमिरे भन्छन्, “यस्तो कुरा फौजी र निजामती कर्मचारीमामात्र लागु हुन्छ। सबै बूढा धेरै उमेरसम्म सक्रिय हुँदैनन्। सीमित मात्र सक्रिय हुने हुन्। अपवाद हो, बूढा सक्रिय हुने। हाम्रोमा उमेर हद उपयुक्त होइन।”

एमाले पोलिटब्युरो सदस्य गोकुल घर्तीमगर पनि उमेर प्रमुख विषय नरहेको तर्क गर्छन्। “नीति, विचार र योग्यता नै प्रमुख हो। तर नेपालमा नेतृत्व आर्यघाट नजाँदासम्म पद नछाड्ने संस्कृति विकास भयो,” उनले भन्छन्। नेतृत्व जाम हटाउन दुई अवधि कार्यकारी पदमा रहने प्रावधान राखेको मगरको भनाइ छ।

माओवादी नेता एवं पूर्वमन्त्री कमला रोकामगर उमेर हद र अवधि हदबारे बहस गर्नुपर्ने तर्क सार्छिन्। नेतृत्वप्रति देवत्वकरण वा  मानवीकरण प्रवृत्तिका साथै एकै परिवारको वंश परम्पराले नेपाली राजनीति अनुहार कुरूप बनाएकाले यी कुराले बढी सान्दर्भिक भएको उनको भनाइ छ।
माओवादी नेता रामदीप आचार्य उमेर र अवधि भन्दा पनि विचार पक्ष मुख्य भन्छन्।

“युवा भए पनि दृष्टिकोण गलत छ भने सकियो नि। उमेर र दृष्टिकोण दुवै युवा हुन जरुरी छ,” आचार्य कथन छ, “तर, हाम्रो समाजले नै भन्छ– आगो ताप्नु मुढाको, कुरा सुन्नु बूढाको।”

हदबन्दीले पार्टीको ज्यान आउला ?
हदबन्दी लागु भए वृद्धतन्त्रग्रस्त नेपालका राजनीतिक दलमा ज्यान आउला रु नेतृत्व जाम र एकै व्यक्तिले मात्र खाने चलन हट्ला ?
“तीन पार्टी, कांग्रेस, एमाले र माओवादीमा कुनै बदलाव आउने देखिन्न। ओली निरंकुशतातिर जाँदै छन्। दाहालले माओवादीमा न विधि विकास गरे न त उत्तराधिकारी बनाउने सवालमै सकारात्मक देखिन्छन्। पुराना कम्युनिस्टले गर्ने उत्तराधिकारको कुरा पनि गरेका छैनन्। बाँचुञ्जले बनाउने र त्यसपछि जे सुकै होस् भन्ने देखिन्छ,” नेता श्रेष्ठ भन्छन्, “नेपालका राजनीतिक दलका मूल नेतृत्वले त सतिप्रथा कायमै राखे। मुख्य नेता मरेपछि पार्टी पनि सति जाने हो। यस्तो चलन चलाए।”

नेपालका राजनीतिक दलहरूलाई यी दुबै मात्र नभई थप अरू कुनै विधि भए, ती पनि लागु गर्नुपर्ने देखिन्छ। त्यसो भएमात्र नेपालको राजनीति र राजनीतिक दलका ज्यान आउने छाँट छ।

तिवारी भन्छन्, “नेपालमा राजनीतिक पार्टीले भन्दा पनि संविधानले नै यस्ता कुराको ग्यारेन्टी गर्नुपर्ने देख्छु। नेपाली राजनीति त वृद्धतन्त्रले समस्याग्रस्त छ।”

उनको अनुसार पाँच वर्ष पुरा अवधि कहिल्यै नटिकेको नेपालमा दुई अवधि भनेर तोक्नुमा भने समस्या देख्छन्। उनको थप कथन छ, “यसलाई सम्बोधन गर्ने उपाय अरू हुन सक्छ।”

घिमिरेका अनुसार उनको दल कांग्रेससहित नेपालका राजनीतिक पार्टी परम्परागत हिसाबले पार्टी चल्छन्। “हामीले दौडिने भनेका छौँ तर तर हामी त हिँड्न पनि सकेका छैनौँ,” घिमिरे भन्छन्, “यसपालिको महाधिवेशनबाट पनि पुरानो पुस्तालाई बिदा गर्न सकिने छाँट छैन। लिगेसीवाला परम्परागत जञ्जाल तोड्न गाह्रो छ। तिनले थिचिहाल्छन्। बनिबनाउले जितिहाल्छ,” घिमिरे स्थापित डाक्टर र नयाँ राम्रो डाक्टर पुरानो र नयाँ पुस्ताका नेतासँग तुलना गर्छन्, “नयाँ राम्रो डाक्टर आए पनि चलेको डाक्टरकहाँ गएजस्तै हो। दक्षिण एसियामा यति जरा गाडेको छ कि, तोड्न सकिने छैन।”

नेपालका मूलधारे दल भनिएका कांग्रेस, माओवादीले क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन गर्दैछन्। तिनले एमालेको सिको गरेर उमेर र अवधि हद राख्लान् ? कि त्योभन्दा पनि गतिलो प्रावधान छान्लान् रु एमाले नेता रिजाल प्रश्न सोध्दै लेख्छन्, ‘कांग्रेसमा सभापतिका लागि ८० वर्षतिर लम्किरहनुभएका नेताहरू नै दौडमा हुनुहुन्छ।

बेलाबेलामा एमालेलाई समेत लोकतन्त्रको कक्षा दिन पछि नपर्ने कांग्रेसका मित्रहरू आफ्नो पार्टीको विधानमा एमालेका जस्तै प्रावधान राख्न सक्नुहुन्छ तरु एमालेका नेताहरूलाई अधिनायकवादी आरोप लगाउने माओवादीका नेताहरूले के आफ्नो मुख्य नेतृत्वलाई अब पुग्यो भन्ने गरी विधान संशोधन गर्न सक्नुहुन्छ त ?’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved