बुटवल। बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक गणेश पंगेनी एक हप्तापछि धरौटीमा रिहा भएका छन्।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट हिजो सोमबार उनी ५ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी तथा कार्यालयका प्रवक्ता विजयराज पौडेलले इलाका प्रहरी कार्यालय बुटवलबाट पेस हुन आएको अमर्यादित व्यवहारको मुद्दा हेरेपछि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले धरौटीमा छाडेको जानकारी दिए।
“अमर्यादित व्यवहारसम्बन्धी मुद्दा चलाइएको रहेछ। हिजो नै ५ हजार धरौटी राखेर तारेखमा छाडिएको छ,” उनले भने। बुटवल उपमहानगरपालिकाका मेयर सुवेदी अघिल्लो हप्ताको सोमबार पहिरो अनुगमनका क्रममा वडा नं ३ ज्योतिनगर पुगेका बेलामा पंगेनीले उनको टाउकोमा मुक्का हानेका थिए। प्रहरीले त्यस साँझ नै पक्राउन गरी अनुसन्धान थालेको थियो।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान गरी अमर्यादित व्यवहारसम्बन्धी मुद्दा बनाई जिल्ला प्रशासनमा पेस गरेको थियो। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मदन कुँवरले घटनाको प्रकृति हेरेर जिल्ला प्रशासन कार्यालयमा मुद्दा पेस गरिएको बताए। “हामीले केही दिन राखेर अनुसन्धान गरेपछि जिल्ला प्रशासनमा मुद्दा पठाएका थियौँ। त्यहाँबाट धरौटीमा रिहा भइसकेको छ,” उनले भने।