काठमाडौं। चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
हुम्लामा चीनले नेपाली सीमामा अतिक्रमण गरेको भन्दै संघले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएकाहरूले ‘चीनद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर’, ‘हुम्ला जिल्लामा रहेको १२ नम्बर पिलर सार्न पाइँदैन’ लगायत प्ले कार्ड प्रदर्शन गरेका थिए।
त्यस्तै उनीहरूले नेपाल–चीन सीमाबारे लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गठन गरेको समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन्।
लोसपा युवा अध्यक्ष मुकेश कुमार झाले चीनले नेपाली भूमि अतिक्रमण गर्दा पनि सरकार मौन रहेको भन्दै विरोध प्रदर्शन गरिएको जानकारी दिए। त्यस्तै उनले चीनमा एमबीबीएस गरेका विद्यार्थीहरूलाई नेपालमा इन्टर्नशिप गराउनुपर्ने माग राखिएको बताए।
संघले नेपालको सीमा रक्षाका लागि निरन्तर खबरदारी गर्ने जनाएको छ। चीन र नेपालको सीमा भएको विषयमा अध्ययन गर्न सरकारले बनाएको समितिले पनि गृहमन्त्रीलाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ।
झाको नेतृत्वमा र विद्यार्थी नेता रन्जित निष्पक्ष, युवा अध्यक्ष रन्जित सिंह, नेता आभा लाभ, प्रमेश साह, ज्ञानेन्द्र झा, नेता रामजी रायलगायत नेताहरूको उपस्थिति थियो।