सन्दर्भ : रेबिजविरुद्धको दिवस

कसरी बन्यो रेबिज खोप? नेपालमा रेबिजको अवस्था कस्तो छ?

कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ। त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ। जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ।

नेपालभ्युज

कसरी बन्यो रेबिज खोप? नेपालमा रेबिजको अवस्था कस्तो छ?

काठमाडौं। आज विश्व रेबिजविरुद्धको दिवस। शतप्रतिशत प्राणघातक रोग रेबिज अहिलेको समयमा जनस्वास्थ्यमा ठूलो खतरा र चिन्ताको विषय बनेको छ। यसलाई नियन्त्रण गर्न विभिन्न सतर्कता अभियानहरु पनि चलाइएका छन्।

तर पनि रेबिजका विषयमा आम मानिसमा आवश्यक जानकारी रहेको पाइँदैन। रेबिज कसरी लाग्छ र यसबाट बँच्ने उपायहरु केके हुन् भन्ने विषयमा सबैलाई जानकारी हुन आवश्यक छ।

रेबिजविरुद्धको पहिलो खोप सन् १८८५ मा बनेको थियो। यसको थप परिस्कृत खोप सन् १९०८ मा बजारमा आएको हो। प्रख्यात फ्रान्सेली वैज्ञानिक लुई पाश्चरले रेबिजविरुद्धको खोपको सफल परीक्षण गरेका हुन्।

चिकित्सा विज्ञानको क्षेत्रमा पाश्चरको योगदानले क्रान्ति ल्यायो। लुई पास्चरको जन्म २७ डिसेम्बर १८२२ मा भएको हो। मृत्यु आजकै दिन अर्थात् २८ सेप्टेम्बर १८९५ मा भएको हो। संसारकै प्रसिद्ध रसायन विज्ञ पाश्चरको स्वास्थ्य क्षेत्रमा योगदानका कारण उनको नाम स्मरणीय छ्र।

पाश्चरद्वारा गरिएका खोजहरूले शिशु ज्वरोको कारण हुने मृत्युदरमा पनि कमी आयो। कुकुर, स्याल आदि जनावरको टोकाइबाट लाग्ने रेबिज रोकथामको लागि सर्वप्रथम भ्याक्सिन उनैले पत्ता लगाए। उनका प्रयोगहरूले रोगका जीवाणु सिद्धान्तलाई सहयोग पुर्यायो।

पाश्चरलाई जीवाणु तत्त्वका तीन संस्थापक मध्येमा गणना गरिन्छ। जसमध्ये अरू दुई जना फर्डिनान्ड् चोन र रोबर्ट कोच्र पास्चरले रसायन विज्ञानको क्षेत्रमा पनि धेरै खोजहरू गरेका थिए। जसमा विषमता र क्रिष्टलको आणविक आधारको खोज उल्लेखनीय मानिन्छ।

पाश्चरको योगदानले आज विश्वमा धेरैको ज्यान बचाएको छ। उनले खोप बनाउनुभन्दा पहिले कुखुरालाई चिकनपक्स जीवाणुविरुद्धको भ्याक्सिन दिएका थिए। खोपपछि कुखुरा बिरामी परेन। कुखुरामा रोग प्रतिरक्षा क्षमता बढ्यो। त्यसपछि पाश्चर नयाँ नयाँ भ्याक्सिनको आविष्कारमा लागे।

सन् १८८१ मा उनले एक रोग प्रतिरोधात्मक भ्याक्सिन बनाए। एक व्यक्तिलाई जनावरले टोकेको थियो। त्यो भ्याक्सिन लगाएपछि व्यक्ति बाँच्न सफल भए। र, पछि परीक्षण गर्दा सफल भएको पहिलो मानव निर्मित खोप मानिन्छ।

नेपालको सन्दर्भमा रेबिज
नेपालमा हरेक वर्ष रेबिजका कारण करीब ९०० जनाको मृत्यु हुने गरेको डरलाग्दो तथ्यांक छ। मर्नेहरू अधिकांश बालबालिका छन्। काठमाडौँको शुक्रराज ट्रफिकल अस्पतालमा मात्रै दैनिक १०० भन्दा बढी रेबिजविरुद्धको भ्याक्सिन लगाउन आउने गर्छन्। अधिकांश कुकुरको टोकाइबाट बिरामी भएका व्यक्ति उपचारमा आउँछन्।

विशेषज्ञहरूका अनुसार रेबिज भाइरसको संक्रमण भएपछि पनि समयमा उपचार गरे केही समयसम्म ज्यान जोगाउन सकिन्छ। त्यसैले समयमै उपचार गर्नुपर्ने विज्ञको सुझाव छ।

टेकु अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनका अनुसार भुस्याहा कुकुरभन्दा घरपालुवा कुकुरको टोकाइबाट पीडित भएकाहरू धेरै उपचारको लागि आउने गर्छन्। नेपालमा रेबिजविरुद्धको भ्याक्सिन लगाउनुपर्छ भन्ने धेरै व्यक्तिलाई जानकारी नै नभएको उनको भनाइ छ।

‘‘जो कसैले रेबिजविरुद्धको भ्याक्सिन अनिवार्य लगाए राम्रो हुन्छ। तर यो लगाउनुपर्छ भन्ने धेरैलाई थाहा छैन’’, डा. पुन भन्छन्। रेबिजविरुद्धको भ्याक्सिन सरकारले निःशुल्क वितरण गर्दै आइरहेको छ।

जनावरको टोकाइलाई बेवास्ता गर्दै हुनुहुन्छ ?
रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो। रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ। कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ। त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ। जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ।

सुरुमा जनावरको र्‍यालमा रहेका भाइरस जनावरको टोकाइबाट घाउमा पुग्छ। यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधेय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्दछ। गिदीमा संक्रमण भएपछि मात्र विशेष लक्षणहरू देखिन्छन्।

अन्त्यमा गिदीका मसिना स्नायुबाट भाइरस र्‍याल ग्रन्थी, छाला, आँखाको कोर्दिया र अन्य अंगमा पुग्दछ। यस्ता संक्रमित जनावरले टोक्दा र्‍याल ग्रन्थीमा भएको भाइरस फेरि अर्को जनावरको शरीरमा प्रवेश गर्छ।

यस्ता छन् रेबिजका लक्षण
रेबिज लागेमा सुरुमा लक्षण देखिँदैन। पछि मात्रै लक्षण देखिन्छ। ज्वरो आउने, झम्झमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ। त्यस्तै पानी, हावादेखि डराउने, चिटचिट हुने, रिसाउने जस्ता समस्या पनि देखिन्छ।

रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्दछ। जसबाट अरू मानिसमा पनि सर्न सक्छ। रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ। रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ। रेबिजका कारण हृदयाघात र मृत्यु पनि हुन सक्छ।

रेबिज लागे बाँच्न गाह्रो
रेबिज रोग लागिसकेपछि बाँच्न गाह्रो हुन्छ। रेबिजपछि बिरामीको दुखाइ व्यवस्थापन र बाँचुन्जेल सजिलो बनाउने मात्र हो। रेबिजको संक्रमणबाट टाढा रहनका लागि घरपालुवा कुकुरलाई नियमित रूपमा खोप लगाउने, भुस्याहा कुकुरबाट बच्ने र सम्भव भए व्यवस्थापन गर्ने गर्नुपर्ने विज्ञहरू बताउँछन्।

कुकुर, स्याल, चमेरो, बिरालोको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउने, रेबिजको भाइरस हुने सम्भावित जनावरले टोकेपछि तत्काल साबुन पानीले घाउ सफा गर्दा जोखिम कम हुन्छ।

जतिसक्दो चाँडो अस्पताल पुर्‍याई रेबिजविरुद्धको खोप लगाउनु उपयुक्त मानिन्छ। कुकुरले टोकेपछि छिटो भ्याक्सिन लगाउँदा भाइरस धेरै फैलन पाउँदैन। कुकुरले टोकेको ४८ देखि ७२ घण्टासम्म भ्याक्सिन लगाउनुपर्ने चिकित्सकहरूको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved