ईपीएल क्रिकेट

अधुरै रह्यो नेपालमै अफ्रिदीको ब्याटिङ हेर्ने चाहना

पाकिस्तान जानुअघि अफ्रिदीले भने, “क्रिकेटको माध्यमबाट दुई देशबीचको सम्बन्ध बढाउन नै म नेपाल आएको हुँ।”

अधुरै रह्यो नेपालमै अफ्रिदीको ब्याटिङ हेर्ने चाहना

काठमाडौं। नेपालमै ‘बुम बुम अफ्रिदी’को बिष्फोटक ब्याटिङ हेर्ने क्रिकेटप्रेमीको चाहना यो पटकलाई पूरा भएन। नेपालको मैदानमा हुन लागेको शाहिद अफ्रिदीको ऐतिहासिक ब्याटिङमा आइतबारको वर्षा बाधक बन्यो।

अघिल्लो दिन परेको पानीले मैदानको आउट फिल्ड पूरै भिजेका कारण एभरेष्ट प्रिमियर लिग (ईपीएल)को काठमाडौं किंग्स इलाभेन र विराटनगर वारियर्स बीचको सोमबारको पहिलो खेल हुन सकेन।

ईपीएलमा मात्र दुई खेल खेल्न नेपाल आएका अफ्रिदीले एक खेल मात्र खेल्न पाए। त्यसमा पनि उद्घाटन खेलमा ललितपुर प्याट्रियट्सविरुद्ध उनले बलिङ मात्र गरे। पहिलो खेलमा उनको ब्याटिङको पालै आएन।

सोमबार नेपाली क्रिकेट समर्थक अफ्रिदीकै ब्याटिङ हेर्न त्रिवि खेल मैदान कीर्तिपुर पुगेका थिए। ओभर घटाएर भए पनि खेल हुने र घरेलु मैदानमा उनको ब्याटिङ हेर्न पाउने आशामा समर्थकहरु आधा दिनसम्म टण्टलापुर घाममा कुरेर बसिरहेका थिए। बेला बेलामा मैदानमा आएर अफ्रिदी दर्शकतिर हात हल्लाउँथे। यतिमै पनि दर्शक खुशी भएर हुटिङ गर्थे।

तर आधा दिनसम्म पनि मैदानको पानी नसुकेपछि खेल भएन। खेल रद्ध भएलगत्तै अफ्रिदी खेल मैदान कीर्तिपुरबाट फर्किए भने उनको ब्याटिङ कुरिरहेका समर्थकको चाहना पूरा हुन सकेन।

अर्को पटक कि त पूरै प्रतियोगिता खेल्नेगरी नेपाल आउने, होइन भने छोटो समयका लागि मात्र नआउने बाचासहित पाकिस्तानका पूर्वकप्तान तथा स्टार अलराउण्डर अफ्रिदी सोमबार नै स्वदेश फर्किएका छन्।

पाकिस्तान जानुअघि अफ्रिदीले भने, “क्रिकेटको माध्यमबाट दुई देशबीचको सम्बन्ध बढाउन नै म नेपाल आएको हुँ। विशेषगरी भारतीय उपमहाद्वीपमा हाम्रा लागि क्रिकेट धर्म जस्तै हो, जसले एक अर्को राष्ट्रबीच सुमधुर सम्बन्ध बनाउन मद्दत गर्छ।”

नेपाली क्रिकेटको बारेमा उनले थपे, “युवा नेपाली क्रिकेटरहरुको विकासका लागि तल्लो तहदेखि नै काम गर्नु आवश्यक छ। यसका लागि क्रिकेटमा सरकारले सहभागिता र सुविधा बढाउनु पर्छ। क्रिकेटमा नेपाली टिमको क्षमता निकै उच्च छ। यू-१९ क्रिकेटमा पाकिस्तान पनि नेपालसँग पराजित भएको मलाई याद छ। भविष्यमा नेपाली क्रिकेटरहरुलाई म पाकिस्तानमा क्रिकेट खेल्न बोलाउने छु।”

अफ्रिदीकै कारण यो चौंथो संस्करणको ईपीएलको उद्घाटन खेल नेपाली खेलकुदकै एक ऐतिहासिक खेल बनेको थियो। भलै उनले एक खेल मात्र खेले। तर उनी जत्तिको हाई-प्रोफाइल भएको कुनै पनि खेलका खेलाडीले नेपालमा आएर व्यावसायिक खेल खेलेका यो पहिलो अवसर हो।

हुन त यसअघि पनि विश्व चर्चित खेलाडीहरु फुटबल स्टार डेभिड बेकहम, क्रिकेटका सचिन तेन्दुलकर र भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह ध्वनीले नेपालको भ्रमण गरिसकेका छन्।

तर ती सबै खेलाडी सामाजिक कार्य र च्यारिटीका लागि मात्र नेपाल आएका थिए। उनीहरुले च्यारिटी म्याच मात्र खेले। त्यसैले नेपालमा आएर व्यावसायिक खेल खेल्ने अफ्रिदी अहिलेसम्मकै उच्च कोटीका खेलाडी हुन्।

उद्घाटन खेलमा काठमाडौंैका लागि ४ ओभर बलिङ गरेका उनले विकेट भने लिन सकेनन्। उनले ३२ रन खर्चेका थिए। पहिलो पटक नेपालमा व्यावसायिक खेल खेलिरहेका अफ्रिदीको एक मात्र खेलमा आकर्षक प्रदर्शन भने देख्न पाइएन।

तर अफ्रिदीले कस्तो खेले भन्दा पनि उनले नेपालमा आएर व्यावसायिक खेल खेले, यो नै नेपाली क्रिकेटका लागि ठूलो कुरा हो। काठमाडौंै किंग्स इलाभेनका कप्तान सन्दीप लामिछानेका अनुुसार अफ्रिदी टिममा जोडिनु नै यो टिमका लागि मात्र नभएर ईपीएल र नेपाली क्रिकेटकै ठूलो उपलब्धि हो।

पहिलो पटक नेपाल आएका अफ्रिदीले नेपाल आफ्नै घर पाकिस्तान जस्तो लागेको बताएका थिए। त्यसैगरी आफू व्यावसायिक खेलाडी भएको नाताले नेपाली क्रिकेटलाई सहयोग गर्न आएको प्रतिक्रिया दिएका थिए।

अफ्रिदी विशेषगरी लेग स्पिन बलिङ र आक्रमक ब्याटिङका लागि माहिर मानिन्छन्। एकदिवसीय क्रिकेटमा उनले ३७ बलमा शतक पूरा गर्ने रेकर्ड बनाएका थिए।

एकदिवसीय क्रिकेटमा पनि टी-ट्वान्टी शैलीको आक्रमक ब्याटिङ रुचाउने उनलाई यसैकारण “बुम बुम अफ्रिदी”को उपनाम दिइएको थियो। एकदिवसीय क्रिकेटमा सर्वाधिक ३५१ छक्का हान्ने कीर्तिमान उनकै नाममा छ।

२००७ को टी-ट्वान्टी विश्वकपमा पाकिस्तान उपविजेता बन्दा अफ्रिदी विश्वकपकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। यसपछि पाकिस्तानले सन २००९ को टी-ट्वान्टी विश्वकपको उपाधि जित्दा भने उनले फाइनलको प्लेयर अफ दी म्याचको उपाधि जितेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved