अंगेला मर्केल युगको विरासत के हो ?

उनी इमान्दार थिइन् तर राजनीतिक प्रतिबद्धता उनको रूचिको विषय थिएन।

अंगेला मर्केल युगको विरासत के हो ?

फिल्म निर्माता र गे अधिकार अभियन्ता रोजा भोन प्रनहाइमले एकपटक आत्मस्विकार गरेका थिए, उनले अंगेला मर्केललाई त प्रेम गर्छन् तर उनको ‘क्रिश्चियन डेमोक्रेटिक युनियन पार्टी’लाई भने घृणा गर्छन्।

क्षुद्र विभाजनबाट माथि उठेको नैतिक रुपमा आकर्षक र अर्ध-राष्ट्रपति मर्केलको यही छवि जर्मनीभरी र बाहिर व्याप्त छ। डोनाल्ड ट्रम्पको शासन कालमा उनी उदार अन्तर्राष्ट्रिय व्यवस्थाको अन्तिम रक्षकको रुपमा परिचित भइन्। उनको कार्यकालका पछिल्ला हप्ताहरूलाई बोरिस जोन्सनले कूटनीतिको ‘उच्चता’ भनेर व्याख्या गरेका छन्। कतिसम्म भने, मर्केलकै कारण वर्षौं पीडित ग्रिसका वामपन्थी प्रधानमन्त्री अलेक्सिस सिप्रासले समेत उनको ‘इमान्दारी’को प्रशंसा गरेका छन्।

तर यो छविको आलोचना गर्ने अर्को कोण भने कतै हराएको छ। त्यो हो, उनी कुनै राजनीतिक मान्यता नभएकी अवसरवादी नेता हुन् तर आफ्ना पुरुष प्रतिद्वन्द्वीलाई तह लगाउन टेबलपछाडि ‘क्याथेरिन द ग्रेट’को तस्विर र विम्बात्मक खञ्जर राख्छिन्।

यो कथा जहिल्यै सेक्सिस्ट वाहियात हुनेगर्छ। तर संसारकै अन्तिम इमान्दार नेताको गुणगान भने सही भइरहन्छ। हो, आफ्नो पार्टीलाई ठूलो गठबन्धनमा कायम राखिरहन र अप्ठ्यारा क्षणमा युरोपेली युनियनलाई जोगाइरहन मर्केल सफल भएकै हुन्। तर उनले त्यसो गर्न किन सकिन भने जर्मनीको निर्यात उच्च हुँदा हरेकको सहमति किन्नसक्ने पैसा उनीसँग थियो।

हुन त भविष्यका इतिहासकारहरू सुक्ष्म राजनीति व्यवस्थापन गर्नसक्ने उनको खुबीबाट आश्चर्यचकित हुनसक्छन्। त्यसो त उनीहरूले यो पनि निष्कर्ष निकाल्न सक्छन्, जलवायु परिवर्तन संकट समाधानका लागि उनलाई विश्व नेतृत्वमै विशिष्ट स्थान दिइएको थियो। तर उनी असफल भइन्।

जर्मनीकी पहिलो महिला चान्सलरले पद त्याग्दै गर्दा मर्केलोजोस्ट्सी (मर्केलशास्त्रीहरू) शासन गर्ने उनको विशिष्ट तरिकाबारे चर्चा गर्न व्यस्त छन्। सावधान, सहमति निर्माण उन्मुख र व्यावहारिक- यस्तै शब्दावली उनीहरूले प्रयोग गरिरहेछन्।

उनी प्रोटेस्टेन्टवादी हुनुको केही अर्थ छ (जसले उनलाई कोनार्ड एडेनउरसँग मिलेर निर्माण गरेको पार्टी ‘रेनिश क्याथोलिज्म’ मा अपरिचित सरह बनाइदिएको थियो) ? के भौतिकशास्त्री पृष्ठभूमिले उनलाई विश्वका विज्ञान विरोधी र खासगरी अमेरिकी राष्ट्रपतिको प्रतिकारमा उभ्याइदिएको थियो ? वा पूर्वी जर्मनीमा हुर्केकैले उनले कसैलाई पनि तुरुन्तै विश्वास नगर्न र सकेसम्म कम बोल्न सिकेकी थिइन् ?

सत्य अझ साधारण हुनसक्छ। एकपटक मर्केलले निकै साहसी निर्णय गरेकी थिइन् जसले उनको राजनीतिक जीवन झण्डै समाप्त नै पारेको थियो। सन् २००५ मा उनले कर घटाउने, राज्यको कल्याणकारी भूमिका घटाउने र अझ ‘लचिलो श्रम बजार’ सिर्जना गर्ने जस्ता नवउदारवादी नीतिको पक्षमा उभिएकी थिइन्। संघीय निर्वाचनमा गेरहार्ड स्रोडरबाट उनी झण्डै हार्नेवाला थिइन्। गेरहार्ड त्यतिबेला निकै अलोकप्रिय थिए। मर्केलले झण्डै हारेको चुनाव उनले हारे।

त्यो राजनीतिक तरिकाको रुपमा मर्केलवादको शुरुवात थियो। त्यो तरिका थियो, व्यावहारिक प्रतिबद्धता जाहेर गरेर आफूलाई संकटमा पार्नुभन्दा पनि चीजहरू कता गइरहेछन् भन्ने राम्रोसँग हेर, कुनै बेला एकै ठाउँमा जोडिन सक्ने स्वार्थहरू हेर, तयसपछि त्यो बिन्दुमा उभिऊ र ती मानिसहरूलाई म नेतृत्व गर्छु भनेर दाबी गर। उनी एकपटक जर्मन मार्गरेट थ्याचर बन्न चाहन्थिन् (बेलायतमा थ्याचरले नै नवउदारवादी नीति लागू गरेकी थिइन्) तर त्यस विपरीत उनी सबैका लागि सबै हुने निधो गरिन्।

वैवाहिक समानताको पक्षपाती महान् उदारवादी नेताको रुपमा सम्मानित हुँदा मर्केल निकै खुशी थिइन् तर वास्तवमा उनी संसद्मा मतदान हुँदा समलिंगी विवाहको विपक्षमा थिइन्।

उनले यस्ता धेरै नीति लागू गर्थिन् र त्यसलाई आफ्नो सफलताको रुपमा प्रस्तुत गर्थिन् जसले अरू पार्टीको भोट पनि उनीतिर तान्थ्यो किनभने उनी सबैको ख्याल गर्ने ‘मुटी’को रुपमा स्थापित गराइएकी थिइन्। जस्तै, सोसल डेमोक्रेटहरूले उठाइरहेको न्यूनतम ज्यालाको नीति उनले लागू गरिन्। पछि सोसल डेमोक्रेटले उनको पार्टी क्रिश्चियन डेमोक्रेट्ससँग गठबन्धन बनायो।

मर्केलले आफ्नै छनौटले जोखिम लिइनन्। केवल संकटहरूले उनलाई ससाना समस्या समाधान गर्ने राजनीतिबाट बाहिर ल्याएका हुन्। हरेक निर्णय लिँदा उनले त्यसले मतदातालाई कस्तो प्रभाव पार्छ भन्ने ख्याल गर्थिन्। घरमा आगो लाग्दा पनि निभाउनुभन्दा पहिला उनी स्थानीयले त्यो आगलागीलाई कसरी लिइरहेछन् भन्ने ध्यान दिन्थिन्। युरोपेली संकटताका (सन् २००८ को आर्थिक संकटले युरोपेली मुलुकहरूलाई पुर्‍याएको राजनीतिक र आर्थिक क्षतीलाई युरोपेली संकट भनिन्छ) ठूला निर्णय उनले जर्मनीको चुनावलाई ध्यान दिएर गरेकी हुन्।

संकटहरूले मर्केललाई सधैँ ठूला परिवर्तन शुरु गर्न उत्प्रेरित गरे। जस्तै, मर्केलले आफूभन्दा पहिलेको रेड-ग्रीन सरकारले गरेको न्यूक्लियर उर्जा उन्मुलन गर्ने निर्णय उल्ट्याएकी थिइन्। तर सन् २०११ को फुकुसिमा घटनापछि उनले न्यूक्लियर उर्जा उन्मुलन गर्ने निर्णय गरिन्।

त्यसो त सबै संकट राजनीतिक थिएनन्। अहिले संसारैभरका वामपन्थीहरूले शरणार्थीका लागि ‘सीमा खुला’ गरेको भन्दै मर्केलको प्रशंसा गरिरहेका थिए। नि:शन्देह, सन् २०२५ को शरदमा मर्केलले धेरै थोक दाउमा लगाएकी थिइन्। त्यसो त यो उनका लागि आफ्नो ईसाई धर्मले सहयोगकाे आवश्यकतामा साथ दिन्छ भनेर पुष्टि गर्ने अवसर पनि थियो।

तर त्यो शरणार्थी संकट एकाएक आएको थिएन। वर्षौदेखि मर्केल आफैँ उन्नत शरणार्थी प्रणालीको विपक्षमा जुधिरहेकी थिइन्। उनी शरणार्थीको विपक्षमा जुधौं भन्ने शब्दावली प्रयोग गर्थिन्। त्यसैले शरणार्थीहरूलाई भूमध्यसागर पार गर्नबाट रोक्न लगाइन्।

लेखक नाभिद केरमानीका अनुसार २०१५ को सेप्टेम्बरसम्म पनि उनलाई सिरिया र इराकको द्वन्द्वले आफ्नो हाइम्याट (देश)लाई असर पार्नेछ भन्ने महशुस नै गरेकी थिइनन्। यस्तो लाग्छ, घरेलु राजनीतिमा सबल हुँदासम्म उनी अरू धेरै घटनाबाट खासै चिन्तित हुँन्थिनन्।

सन् २०१७ मा फ्रान्सका राष्ट्रपति इमानुएल म्यांक्रोले स्रोबोनको एउटा ठूलो सभामा बोल्दै मर्केलसँग युरोपेली युनियनलाई अझ सुगठित बनाउन अनुरोध गरेका थिए। तर मर्केलले भद्रतापूर्वको उनको अनुरोध अस्वीकार गरिन्। उनले अनिच्छापूर्वक शरणार्थी समस्या समाधान गर्ने अर्कै युरोपेली दृष्टिकोण खोजिरहेकी थिइन्। तर त्यो पनि उनले बीचैमा त्यागिदिइन्।

कोभिड महामारी शुरु भएपछि मर्केलले फेरी साहसी निर्णय लिने ईच्छा देखाइन्। युरोपेली युनियनको आधारमा ऐक्यबद्धताको आह्वान गरिन्। जसले बेलायती प्रधानमन्त्री हारोल्ड म्याकमिलनलाई निकै अप्ठ्यारोमा पार्‍यो।

धेरै टाढा हेर्न नसक्दा पनि गाडी हाँकिरहने मर्केलको लोकप्रिय सुत्रले उनलाई धेरै यात्रामा साथ दियो तर वातावरण संकटको सन्दर्भमा धोका दियो। युवा जर्मन अभियन्ताहरूले वर्षौंदेखि उनको आलोचना गरिरहँदा मर्केलले ‘हेरौं के गर्न सकिन्छ’ भनेर पन्छाइरहिन्। तर के गर्न सकिन्छ भन्ने त उनीमै निर्भर थियो। जे भए पनि उनी वैज्ञानिक हुन्। ठूला समस्यालाई ससाना नीतिगत परिवर्तनसँग गाँसेर टुक्र्याउने विश्लेषणात्मक क्षमता उनमा छ। सन् १९९० को दशकमा उनी वातावरण मन्त्री पनि भएकी थिइन्।

मर्केल खासमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जनपरिचालन गर्नसक्ने ठाउँमा थिइन् तर कहिल्यै गरिनन्।

मर्केलका सीमाहरू कोभिड महामारीकाे समयमा पनि उजागर भए। सन् २०२० को वसन्तमा महामारीको पहिलो लहरबाट जर्मनी कसरी बच्न सफल भयो भन्ने व्याख्या गर्न मर्केलको जसरी पनि समस्या पार लगाउने छविको उपयोग गरिएको थियो।

तर जाडो लाग्दासम्म सहमति खोज्ने उनको शैलीले ढिलो गराइसकेको थियो। मध्यरातसम्म हरेक प्रदेशकका प्रमुखसँग गरिएका बेग्लाबेग्लै बैठकहरू युरोपेली युनियनको शिखर सम्मेलनलाई व्यंग्य गरेर बनाइने कार्टुनसरह भइदिए। परिणाम, अलमल र अव्यवस्थता सिर्जना भयो।

सरकार चलाउन योग्यको रुपमा स्थापित मर्केलको पार्टीको छवि महामारीका क्रममा भएको अव्यवस्थापनले धुमिल बनाइदियो। लामो लकडाउनले जर्मनहरूलाई निराश बनायो।

मर्केलवादले उनको पार्टीलाई बौद्धिक रुपमा खोक्रो बनाइदिएको छ। तर २१ औँ शताब्दीको क्रिश्चियन लोकतन्त्र कस्तो हुन्छ भन्ने वास्तवमा कसैले पनि व्याख्या गर्न सकेको छैन। दक्षिणपन्थी राजनीतिलाई किन मध्यमार्गी दक्षिणपन्थले विस्थापन गर्‍यो भन्ने एउटा कारण यो पनि हुनसक्छ। आफ्नो कुनै विचार नभएका कारण मूलधारका नेताहरू दक्षिणपन्थ र मध्यमार्थी दक्षिणपन्थबीच सीमा कोर्न चुकिरहेका छन्।

यो कोणबाट हेर्दा मर्केलले स्याबासी पाउनुपर्ने देखिन्छ। एक दशकअघि उनले बहुसंस्कृतिवाद कसरी असफल भयो भनेर टिप्पणी गरेकी थिइन्। तर उनले २०१० ताका जर्मनहरू मुसलमानबाट विस्थापित हुन्छन् भन्ने डरलाई पनि ‘उपयोगहीन’ भनेर बेवास्ता गरिदिइन्।

विदेशी दक्षिणपन्थी लोकप्रियतावादीको प्रसंग आउँदा उनको आवाज कडा हुनुपर्ने थियो। तर उनी हंगेरीका प्रधानमन्त्री भिक्टोर अर्बानलाई युरोपेली मध्यमार्गीको अन्तर्राष्ट्रिय संगठन ‘युरोपियन पिपल्स पार्टी’मा राख्न पाउँदा खुशी भइन् जबकी त्यतिबेला अर्बानले हंगेरीको लोकतन्त्रलाई कमजोर बनाइरहेथे।

त्यसको कारण सामान्य छ- जर्मनीका कार कम्पनीहरू बुडापेस्ट (हंगेरीको राजधानी)बाट घेरिएका थिए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने मर्केल सधैँभरी मुखर भइन्। सन् २००६ मा पहिलोपटक बेइजिङ जाँदा उनले ‘अझै खुलापन र अझै स्वतन्त्रता’लाई जोड दिइन्। त्यसको एक वर्षपछि उनले दलाई लामाबाट निम्तो पाइन्।

तर चिनियाँ बजारमा जर्मनीको निर्भरता बढ्दै जाँदा उनको सरकारले बिस्तारै-बिस्तारै कित्ता परिवर्तन गर्दै गयो। मर्केलका अन्तिम ठूला थालनीमध्ये एउटा हो ‘युरोपेली युनियन र चीनबीच लगानी सम्झौता’ जसले मानव अधिकारलाई निकै कम वास्ता गरेको छ।

फेरि पनि उनका आलोचकले उनको भद्रताको प्रशंसा गर्नेछन्। र, उनका प्रशंसकले हामीलाई अरू केही नभए पनि उनी भ्रष्ट नभएकी राजनीतिज्ञ थिइन् भनेर सम्झाइरहनेछन्। साँच्ची नै उनको जस्तो आत्मसंयम हामीले आजका नेताबाट सबैभन्दा कम आशा गर्ने विषय हो।

– प्रिन्सनटन विश्वविद्यालयमा राजनीतिशास्त्रको अध्यापन गर्ने मुलरको पुस्तक ‘डेमोक्रेसी रुल्स’ हालै प्रकाशित छ। यो लेख ‘द गार्जियन’बाट अनुवाद गरिएको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved