‘संसद विघटन सधैँ सही हुनेछ’ – ओली

ओलीले संसद विघटनको बचाउ गरेपछि घनश्यामको आपत्ति

नेपालभ्युज

‘संसद विघटन सधैँ सही हुनेछ’ – ओली
फाइल तस्वीर
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको संसद् विघटन सधैँका लागि सही हुने जिकिर गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा भएको दुई पटकको संसद् विघटनको बचाउ गरेका हुन्।
पार्टीको केन्द्रीय कमिटीको बैठकमा सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले ताजा जनादेशमा जाने निर्णय सधैँ राम्रो भएको जिकिर गरेका हुन्। ओलीले आफू प्रधानमन्त्री हुँदा पहिलो पटक ०७७ पुस ५ मा र दोस्रो पटक ०७८ जेठ ८ गते संसद् विघटन गरेका थिए।
‘ताजा जनादेशमा जाने कुरा राम्रो हो। राम्रो भएकैले संसद् विघटन गरिएको हो। तर पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई पछार्नका लागि जुन तानाबाना बुनियो,’ ओलीले भने, ताजा जनादेशमा जाने कुरा हिजो पनि ठिक थियो, आज पनि ठिक छ र भोलि पनि ठिक हो।’
ओलीले माओवादी केन्द्रसँगको पार्टी एकता सोच विचारी गरेरै गरिएपनि पछिसम्म टिक्न नसकेको स्पष्ट पारे। ओलीको जवाफपछि केन्द्रीय कमिटी बैठकमा उपमहासचिव घनश्याम भुसालले संसद विघटनसहित तीन वटा फरक प्रस्ताव राखेका छन्।
ओली प्रधानमन्त्री हुँदा चालेको कदमलाई असंवैधानिक भनेर निर्णय गराउने उनको प्रस्ताव  छ। ‘संसद् विघटनलाई संविधान विपरीत भनेर निर्णय गरौँ, यसो गरियो भने पार्टीमा अन्य विषयमा अघि बढ्न सहज हुनेछ,’ भुसालको प्रस्ताव छ। भुसालले जनताको बहुदलीय जनवादको व्याख्या स्पष्ट रूपमा गर्नुपर्ने प्रस्ताव गरेका छन्।

१० बुँदेबारे स्थायी कमिटीमा छलफल हुने

यससँगै शुक्रबारबाट सुरु बैठक आइतबार सकिएको छ। बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्ताबेजमा छलफल भएको थियो। १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि आएपछि स्थायी कमिटीमा छलफल हुने भएको छ। पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरूले तेस्रो धारका नेताले असन्तुष्टि जनाएका थिए। पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अअनुसार १० बुँदेबारे छलफल गर्न सोमबार ११ बजे स्थायी समिति बैठक बोलाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved