जनगणनामा पहिलो पटक समेटिँदैछन् ‘हेमोफिलिक’हरू

नेपालभ्युज

जनगणनामा पहिलो पटक समेटिँदैछन् ‘हेमोफिलिक’हरू

काठमाडौं। पहिलो पटक राष्ट्रिय जनगणना २०७८ मा हेमोफिलिया भएका व्यक्तिहरूको गणना हुने भएको छ।

२५ कार्तिकदेखि ९ मंसीरसम्म सञ्चालन हुने १२ औँ राष्ट्रिय जनगणनामा हेमोफिलिया भएका व्यक्तिको तथ्यांक संकलन र उनीहरूको अवस्थाबारे अध्ययन हुने भएको हो।

शनिबार राजधानीमा नेपाल हिमोफिलिया सोसाइटीले आयोजना गरेको कार्यक्रममा सोसाइटीका उपाध्यक्ष मुकुन्दमणि घिमिरेले हेमोफेलियाका बिरामीको संख्या र अवस्थाबारे जानकारी लिन राष्ट्रिय जनगणना ठूलो माध्यम हुने बताए।

डब्लुएफएचको तथ्यांकअनुसार प्रतिपाँच हजार पुरुषको जन्ममा एक जना हेमोफिलिया समस्या लिएर जन्मन्छन्। तर नेपालमा अहिलेसम्म यस्ता समस्या भएका ७५० जना मात्रै सम्पर्कमा आएका सोसाइटीले बताएको छ।

नेपालमा पनि जनगणनालाई आधार मानेर भन्दा तीन हजार जति हेमोफिलियायुक्त व्यक्ति रहेको अनुमान छ।

कार्यक्रममा रगत रोग विशेषज्ञ विशेष पौडेलले भने, “हेमोफिलियायुक्त औषधिहरू महँगा छन्। यो रोगको जीवन रहेसम्म औषधि लिनुपर्छ। यस्ता औषधि अत्यधिक महँगो पर्छ, औषधि उपचारका लागि जसरी राज्यले नीतिगत रुपमा सहयोग गर्ने घोषणा गरेको छ, त्यो लागु भएको भए धेरै सहयोग पुग्थ्यो।”

के हो हेमोफिलिया ?

हेमोफिलिया रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत समस्या हो। सामान्य मानिसको शरीरमा घाउचोट लाग्दा बगेको रगत जमाउने तत्व हुन्छ। यसले सामान्य चोटपटक लाग्दा धेरै रक्तस्राव हुन दिँदैन। रगत जमाउने सो प्रक्रियालाई ‘क्लटिङ फ्याक्टर’ भनिन्छ। तर, हेमोफिलियायुक्त व्यक्तिमा भने क्लटिङ फ्याक्टर कम मात्रामा हुन्छ। यसले सामान्य चोटपटकमा पनि लामो समयसम्म रक्तश्राव गराइरहन्छ।

‘फ्याक्टर आठ’ कमी हुनेलाई हेमोफिलिया ‘ए’ र ’फ्याक्टर नौ’ कमी हुनेलाई हेमोफिलिया ‘बी’ गरी यो तीन भागमा वर्गीकरण गरिएको डा पौडेलले बताए। रगतमा भएको फ्याक्टरको मात्रा १ प्रतिशतभन्दा कम भएमा सीभीआर, १ देखि ५ प्रतिशतभन्दा कम भएमा माइल्ड र ५ भन्दा माथि भएमा न्यून हेमोफिलिया भनिन्छ। यसलाई दुर्लभ रोग पनि भन्ने गरिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved