आकाशेपानी संकलन र पुनःभरण गर्दै काठमाडौं महानगर

यो प्रणाली करीब ११ लाख २० हजार रुपैयाँमा निर्माण हुन लागेको हो ।

नेपालभ्युज

आकाशेपानी संकलन र पुनःभरण गर्दै काठमाडौं महानगर

काठमाडौं।  काठमाडौं महानगरपालिकाले पानीको स्रोत जोगाउन भूमिगत पानी पुनःभरण र आकाशेपानी संकलन प्रणाली निर्माण थालेको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार नन्दी स्कुलमा आकाशेपानी संकलन तथा भूमिगत पानी पुनःभरण प्रणाली निर्माणको शिलान्यास गरेका हुन्।

शिलान्यासको क्रममा कामपाका प्रमुख शाक्यले ‘प्राणी जीवन र वातावरण दुवै क्षेत्रमा पानी नभई नहुने भएकाले सम्भावित जोखिमबाट बच्न कामपा आकाशेपानी संकलन र जमीन पुनःभरण प्रणाली निर्माण गर्न योजना बनाएर अगाडि बढेको बताए।

“अहिले डिप बोरिङ गरेर पानी निकाल्ने काम मात्र भएको छ । यसले जमीनमुनि पानीको सतह घट्यो । अब त्यो सतह बढाउने काम गर्नुपर्छ”, कामपा १ का अध्यक्ष भरतलाल श्रेष्ठले भने। उनकाअनुसार नन्दी स्कुलको जमीनबाट पानी भित्र पठाएपछि यस आसपासमा भएका ढुङ्गेधारामा पानीको बहाव बढ्नेछ।

महानगरको वातावरण इन्जीनियर निशा कोइरालाले उक्त विद्यालयको २९७ वर्गमिटर जलाधार क्षेत्रबाट जम्मा भएको पानी ७५० लिटरको पोली ट्यांकबाट पठाइने बताए। जलाधार क्षेत्रमा भएको धूलो, कसिङ्गर वा अन्य फोहरसहितको पानी यसमा भरिन्छ । त्यसपछिको सफा पानी ट्यांक हुँदै एक हजार लिटरको फिल्टर युनिटमा पुग्छ । रोडा र बालुवामा त्यहाँबाट छानिएको पानी भूमिगत ट्यांकीमा खस्छ । पानी जम्मा गर्न ६ मिटर लम्बाइ, चार मिटर चौडाइ र १ दशमलव ८ मिटर उचाइ भएको ४१ हजार ७६० लिटर क्षमताको ट्यांकी बनाइनेछ ।

उक्त पुनःभरण प्रणालीका विषयमा जानकारी थप्दै उनी भन्छन्, “ट्यांकी भरिएर आएको पानीलाई ४८ इन्चको रिङमार्फत जमीनमुनि पठाइन्छ । यो रिङमा सानाठूला रोडा र बालुवाको तह बनाइएको हुन्छ ।” यो प्रणाली करीब ११ लाख २० हजार रुपैयाँमा निर्माण हुन लागेको हो ।

कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले वडा ५ कार्यालय परिसरमा पनि यस्तै प्रकारको प्रणाली जडान गर्ने योजना रहेको उल्लेख गर्दै यसअघि कामपाले ०७६ साल फागुन ६ गते वडा २६ को गोङ्गबु आवास क्षेत्रको डबलीमा नमूना पानी पुनःभरण प्रणाली सुरु गरेको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved