माधव नेपालको पार्टीमा लागिन् भरतमोहन अधिकारीकी छोरी

नेपालभ्युज

माधव नेपालको पार्टीमा लागिन् भरतमोहन अधिकारीकी छोरी
काठमाडौँ। वरिष्ठ वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी पुत्री लीमा अधिकारी सक्रिय राजनीतिमा प्रवेश गरेकी छिन्। माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बाट लीमाले राजनीति गर्ने भएकी हुन्।
लीमा यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक सेवामा सक्रिय थिइन्। नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरको महासचिव समेत रहेकी उनलाई नेकपा एसले दुई जिम्मेवारी दिएको छ। बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी बनाइको छ। साथै संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ।
अधिकारीले ठूलोबुबा (पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी)  र बुबाले राजनीतिमार्फत गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको लीमा बताउँछिन्। राजनीतिमा आफूहरूजस्ता युवाहरूको आवश्यकता छ भन्ने बुझेर सक्रिय राजनीति गर्ने सोच बनाएकी उनी बताउँछिन्।
लीमा भरतमोहनका तीनमध्ये माहिली छोरी हुन्। स्थापित व्यापारिक घरानाभित्र वैवाहिक सम्बन्धमा रहेकी लीमाको परिवार बैंकिङ, हाइड्रोपावर, सफ्टवेयर तथा इन्टरनेटसम्बन्धी व्यवसायमा संलग्न छ। उनका श्रीमान् सुदीप आचार्य कामना सेवा विकास बैंकका अध्यक्ष तथा टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोम नेटवर्कका प्रबन्ध निर्देशक छन्।
यस्तै ससुरा कृष्ण आचार्य स्थापित व्यवसायी हुन्। आचार्य ०६२–०६३ को जनआन्दोलनपछि पुनर्स्थापित प्रतिनिधिसभामा व्यवसायीका तर्फबाट अन्तरिम विधायका थिए। आचार्य हाल स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था (इपान) का अध्यक्ष छन्।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved