कोभिडको ‘अनावश्यक डर’

कोभिड महामारीका कारण अनावश्यक त्रास र फैलिएका गलत सूचनाका कारण मनोरोगीहरूको संख्या बढिरहेका छन्। स्वस्थ मानिस पनि डिप्रेसनको शिकार भएका छन्।

कोभिडको ‘अनावश्यक डर’

काठमाडौं। नेपालमा कोभिड संक्रमण फैलिन थालेदेखि नै पाल्पाका श्यामराज राइलाई यसबारे जिज्ञासा लागिरहेको थियो। पहिलो लहरमा उनी स्वाभाविक नै थिए। जब वैशाखमा कोभिडको दोस्रो लहर शुरु भयो, उनको डर चुलिन थाल्यो।

त्यहीबेलामा उनलाई खोकी लाग्यो, उनी झनै त्रसित भए। खोकी लागेपछि परिवारबाट अलग्गिए। एक्लै बस्न थाले। खोकी लागिरहेपछि कोभिड नै हो भनेर पीसीआर गर्न अस्पताल पुगे।

उनको रिपोर्ट नेगेटिभ आयो तर, उनले पहिले कोभिड नभए पनि अस्पतालको भीड सम्झिँदै त्यहीँबाट आफूलाई कोभिड सर्‍यो भनेर मनमा कुरा खेलाउन थाले। बिस्तारै उनलाई निद्रा पनि लाग्न छोड्यो। मन अत्तालिने। मुटु ढुकढुक हुने भयो। अस्पताल गए। त्यहाँ संक्रमितलाई बाहिर नै अक्सिजन राखेर उपचार गरिरहेको देखेपछि बेहोस भए। बेहोस भएर ढलेका उनलाई संक्रमित ठानेर अरूले छुँदा पनि छोएनन्। १०-१५ मिनेट पछि आफै होसमा आए।

आफन्तलाई बोलाए र अन्य उपचार गर्नु भन्दा पहिला एन्टीजेन गरे। परीक्षण रिपोर्ट नेगेटिभ आयो। त्यसपछि आफूमा देखिएका समस्या सबै जाँच गरे। रिपोर्ट पनि राम्रै आयो।

तर पनि उनलाई डरले छोडेन। आफ्नो आँखा अगाडि मृत्युसँग लडिरहेका संक्रमितलाई सम्झिए। विस्तारै उनलाई छाति दुख्ने, सास फेर्न गाह्रो हुने, सुत्दा पनि कसैले कतै फालेको जस्तो महशुस गर्न थाले। कति पटक राति उठेर नाडी छाम्ने गर्थे।

एक रात उनले आफू मरेजस्तो अनुभव गरे। त्यसपछि अत्तालिँदै र अस्पताल गए। अस्पतालले एन्टीजेन परीक्षण नगरी भर्ना नलिने भनेपछि परीक्षण गराए। फेरि पनि नेगेटिभ आयो तर छातिमा हल्का दाग देखिएको भन्दै पीसीआर गर्न पठाइयो। पीसीआर पनि नेगेटिभ नै आयो।

उनको मनमा भने कोभिड संक्रमणको डर हराएन। आफूलाई कोभिड संक्रमण भएकै छ भन्ने ठानेर तीन पटक पीसीआर र दुईपटक एन्टिजेनसमेत गराए। सबै ठाउँमा नेगेटिभ नै रिपोर्ट आयो।

उनी भने बिस्तारै एक्लिँदै गए।

“परिवारसँग बोल्न मन नलाग्ने, घरमै एक्लै बसिरहने, बाहिर पनि निस्कन मन नलाग्ने, जतिबेला पनि अब मर्छुजस्तो लाग्ने भयो”, उनी सुनाउँछन्। यस्तो अवस्थालाई एन्जाइटी (बेचैनी) भनिन्छ भन्ने थाहा थिएन उनलाई। एकदिन मोबाइल चलाउँदै गर्दा आफ्ना लक्षण कोभिडसँग नभई एन्जाइटीसँग मिलेको पाए र अस्पताल गए। डाक्टरले पनि एन्जाइटी नै भएको बताए।

उनी भन्छन्, “चिकित्सकले एन्जाइटी भन्दै एक महिनाका लागि निद्रा लाग्ने र अरू एक दुई किसिमको औषधि दिएर पठाए। औषधि खाए पनि त्यो डरले छोडेन। भन्छन्, “दिनप्रति दिन मलाई डरले गाँज्दै लग्यो।”

बिस्तारै राईलाई त्यो औषधिले पेट दुख्ने, शरीर तातिने, दुख्नेजस्तो भयो। तर ठीक होला भन्दै उनले तीन महिनासम्म त्यो औषधि खाइरहे। तर उनलाई निको हुने कुनै छाटकाट नदेखिएपछि भने काठमाडौं आए। अहिले १० दिनदेखि मनोविश्लेषक बासु आर्चायसँग परार्मश लिइरहेका छन्।

परार्मश लिन आउँदा पनि कोरोना संक्रमण हुने डरले ट्याक्सीमा आउने, बाहिर कतै कसैसँग पनि नजिक नजाने जस्ता उनी भएका मनोविश्लेषक आर्चाय बताउँछन्।

उनी मात्र होइन कोरोना संक्रमण अत्यधिक भएको समयमा धेरै जनामा डर र मानसिक समस्या भएर परामर्श लिन आउनेको संख्या बढेको आचार्य सुनाउँछन्। भन्छन्, “खासगरी संक्रमण फैलिएको शुरुमा तीव्र तनाव अर्थात् तनावै नियन्त्रण गर्न नसक्दा निराशापना, छटपटी, अनिद्रा र अब मर्छुजस्ता सोच‍ आउन थाले, जसले उनीहरू दैनिकीमा फर्किन सकेनन्। व्यवहारमा परिवर्तन, बेचैनी र मुडमा नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगे।”

विस्तारै लकडाउन लम्बिँदै गयो, केही मानिस चौघेरामा बस्न नसक्ने, खुसी हुन पनि नसक्ने जस्ता निराशापनले छोयो।

निन्द्राकै खोजीमा मानिसहरू

त्यस्तै हेटौंडाका हर्क थापा (नाम परिवर्तन गरिएको) लाई पनि श्यामराजको जस्तै कोरोना डरले छोडेको छैन। ०७८ को वैशाखमा उनलाई कोरोनासँग मिल्दाजुल्दा लक्षणहरू देखिए पीसीआर नै नगरेर उनी होम आइसोलेशनमा १५ दिनजति बसे दोस्रो लहरमा धेरै मान्छेहरूको ज्यान गयो भन्ने खबर उनले सुन्दै आइरहेका थिए। १५ दिनको बसाइमा उनले धेरै डर महशुस गरे।

आइसोलेसनबाट बाहिर आएपछि भने उनलाई ज्वरो आइरहेको जस्तो, घाँटीमा केही अड्किएकोे जस्तो महशुस गरिरहे। उनलाई यो समस्याले नछोडेपछि अस्पताल पुगे। तर अस्पतालले यस्तो केही समस्या नभएको भन्दै उनलाई फर्कायो।

हर्कलाई बिस्तारै निद्रा नलाग्ने समस्याले च्याप्दै गयो। बिस्तारै उनले आफूलाई घरभित्रै सीमित राख्न थाले। फोनहरू पनि नचलाउने, कसैसँग नबोल्ने। अब मर्छु भन्ने मात्र सोच आइरहेको उनले बताए।

कोरोना खोप पनि लगाइसकेका उनी जता छुँदा, जे गर्दा, जो आए पनि कोरोनाकै डर मानिरहे। पेशाले सरकारी जागिरे उनी भन्छन्, “राजीनामा दिने अवस्थामा पुगिसकेको छु, काम फर्किन सक्छु जस्तै लाग्दैन मनमा धेरै डर छ।”

आफूमा यस्ता समस्याहरू बढ्दै गएपछि अब यसरी चल्दैन भन्ने सोच बनाएका उनी काठमाडौं आएर मनोविश्लेषक आर्चायसँग परार्मश लिइरहेका छन्। अझै पनि उनलाई जता पनि भाइरस छ भन्ने लाग्छ। तर सम्हालिँदै त्यो भ्रमलाई कम गर्दै गएको बताउँछन्।

तर उनी अझै पनि निदाउन सकिरहेका छैनन्। भन्छन्, “निद्राकै खोजीमा तीन महिना त्यतिकै गाह्रो भइरहेको छ।”

मनोविश्लेषक आचार्य भन्छन्, “यी दुई जनालाई तीव्र तनाव विकार भएको हो। उनीहरूले विस्तारै अब के हुने हो, संक्रमणले मार्छजस्ता कुरा सोच्दै मनभित्र धेरै कुरा अनुमान गर्नाले एन्जाइटी भएको हो।” यस्ता समस्या बढ्दै गए र समयमै परार्मश नलिए दैनिकीमा फर्किन नसकिने र जीवन नै धराशयी बन्ने र गाल्दै गए डिप्रेशनमै पुगिने आचार्य बताउँछन्।

कस्ता मानिस एन्जाइटीको शिकारमा पर्छन् ?

कोभिड महामारी विश्वले नै सामना गर्नुपर्‍यो। अझै कहिलेसम्म यो महमामारी सामना गर्नुपर्ने हो थाहा छैन। तर सबैले महामारी र प्राकृतिक प्रकोपहरू सामना गर्द सक्दैनन्।

मनोविश्लेषक आचार्य भन्छन्, “कोभिडको समयमा सबै मानिस विचलित बने, केहीमा भने मानसिक र मनोसमाजिक असर परिरहेको छ। समस्यासँग लड्न सक्ने यो महामारी एकदिन टलेर जाने छ। अहिले आफू सुरक्षित भएर बस्ने नै मुख्य कुरा हो। तर सुरक्षित हुँदा हुँदै पनि संक्रमित भइहाल्यो भने केही छैन सञ्चो भइहाल्छ भन्दै यर्थाथमा बसेर सकारात्मक सोच राख्नेहरूमा समस्या देखिएको छैन।”

संक्रमणबारे नचाहिँदा अनुमान र झूटा खबरहरूलाई साँचो मान्नेहरू यो समस्याबाट बढी ग्रसित भएका आचार्य बताउँछन्। उनीहरूमै मानसिक र मनोसामाजिक समस्यामा पर्ने गरेका आचार्यको भनाइ छ।

त्यस्तै वरिष्ठ मनोविद् विनोद पौडेल भन्छन्, “सबै व्यक्तिहरूमा एउटै अवस्थाको मनोवैज्ञानिक सन्तुलन कायम गर्ने क्षमता हुँदैन, एकै किसिमको कुराले पनि कसैलाई धेरै मन दुःखाउन सक्छ भने कसैलाई त्यो विषय सामान्य लाग्न सक्छ। यो भनेको हरेक व्यक्ति आफैमा भिन्न हुन्छन् भन्नु हो।

यो संकटको अवस्थामा जो रम्न सक्यो विस्तारै ऊ ठीक भइहाल्छ। तर जो आफ्ना दुःख अरूसामु व्यक्त गर्न सक्दैन, आफै मुर्मिएर बस्छन्, विस्तारै उनीहरूको मानिसको क्षमता, ध्यान, मेमोरी, योजना र निर्णय लग्ने क्षमतामा कमी हुँदै जाने उनले बताए।

संकटको बेलामा उनीहरूले आफूलाई सामान्यभन्दा जटिल रूपमा देख्दै जान्छन् फलस्वरूप डिप्रेशन र एन्जाइटीको शिकार हुन पुग्छन्।

सातै प्रदेशमा निःशुल्क मनोविमर्श टोल फ्री सञ्चालन

लामो समयदेखि राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन रूपमा काम गरिहेको ‘कोशिस नेपाल’ले विभिन्न संघसंस्थाहरूसँग समन्वय गरेर महामारीको समयमा हटलाइन मनोपरामर्श सेवा शुरु गरेको छ।

संक्रमणबारे नचाहिँदा अनुमान र झूटा खबरहरूलाई साँचो मान्नेहरू यो समस्याबाट बढी ग्रसित भएका आचार्य बताउँछन्। उनीहरूमै मानसिक र मनोसामाजिक समस्यामा पर्ने गरेका आचार्यको भनाइ छ।

कोशिस नेपालमा ८ वर्षदेखि आबद्ध मनोविद् पौडेल भन्छन्, “कोभिड महामारीलाई लक्ष्य गर्दै कोशिस नेपालले पहिले तीन वटा प्रदेशमा सञ्चालन गरेको निःशुल्क मनोविमर्श सेवालाई अहिले सातै वटा प्रदेशमा सञ्चालन गरिरहेका छौं।” जसका लागि हरेक प्रदेशमा चार जना जति मनोपरामर्श दाताहरू राखेर सेवा दिइएको उनले बताए।

जसमा फोन आउँदा धेरैले कोभिडसम्बन्धी चित्ता व्यक्त गरेका पौडेलले बताए। भने, “परामर्श लिएकामध्ये केहीमा कोभिड निको भइसकेपछि पनि मानसिक रूपमा स्वस्थ हुन नसेकेको र मृत्युको डर बढी देखियो।”

कोभिड भएकामा अनावश्यक रुपमा मनमा डर, मुटु बेस्सरी ढुकढुक गर्ने सास फेर्न गाह्रो हुने, मुख सुक्खा हुनेजस्ता समस्या देखिनु पनि एन्जाइटीको लक्षण हुने पौडेल बताउँछन्। तर टोल फ्रीमार्फत धेरैले सेवा लिए पनि जो पीडित छन् उनीहरू फोनको पहुँचबाट टाढा भएकाले सम्पर्कमा आउन नसकेका हुन् कि भन्ने लागेको उनले बताए।

त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा फोनले राम्रोसँग काम नगर्दा समस्या हुने गरिएको उनले जानकारी दिए। तर कर्णाली प्रदेशबाट भने धेरै प्रश्नहरू सोधिने गरेका उनले बताए।

फोन परामर्श सेवा प्रभावकारी भएको आधा/एक घण्टा कुरा गरेपछि केहीले तनावमुक्त भएको महशुस गर्ने गरेका पौडेल बताउँछन्। स्थानीय एफएम, टेलिभिजनमार्फत बजाएर र स्थानीय सरकारसँग समन्वय गरेर धेरै बिरामी आउने गरेका र अस्पतालमा निःशुल्क मनोविमर्श हटलाइनबारे सूचना दिने गरिएको उनले बताए।

विश्व स्वास्थ्य संगठनले कोभिड महामारीमा विश्वभरका १५ देखि २० प्रतिशतमा मानसिक समस्या देखिन सक्ने आकलन गरेको थियो। सोहीअनुसार नै नेपालमा पनि मानसिक समस्या देखिरहेको छ।

पौडेलल भन्छन्, “संकटको समयमा समस्याहरू बढ्दै जान्छन्। मुख्य गरेर यो समयमा व्यवहारमा परिवर्तन, काम गर्न मन नलाग्ने, निद्रामा परिवर्तन आयो भने पनि परामर्श लिँदा विभिन्न समस्याहरूबाट बच्न सकिन्छ।”

मनोसामाजिक समस्या र मानसिक समस्या

कोभिड कालमा मानसिक समस्याभन्दा पनि मनोसामाजिक समस्याहरू बढ्दै गइरहेका मनोविद् पौडेल बताउने गर्छन्। “मानसिक स्वास्थ्य समस्या भन्नाले रोग पहिचान भइसकेपछिको अवस्था हो, तर मानोसामाजिक समस्या भन्नाले कुनै पनि घटनाक्रमले व्यक्तिको मनमा तनाव ल्याएर उसको व्यवहार, सोच, कार्य गर्ने क्षमतामा आउने परिवर्तन हो,” उनले भने।

मनोसामाजिक समस्या लिएर अस्पताल आउने बढे

संक्रमित भएकाहरू डराउने ,निद्रा नलाग्ने, टाउको दुख्ने, काममा उत्साह नआउनेजस्ता समस्या अस्पताल आउने गरेका त्रिवि शिक्षण अस्पातल महाराजगन्जका मानसिक विभाग प्रमुख प्रा.डा सरोज ओझा बताउँछन्। भन्छन्, “पहिल्यैदेखि यस्ता समस्याहरू देखिँदै आइरहेका छन्, तर अहिले यो समस्या ह्वात्तै बढेको छ।”

यस्ता समस्याहरू लिएर अस्पताल आउनेको तथ्यांक नभए पनि हाल ओपीडीमा आएका १ सय बिरामीमध्ये ८० प्रतिशतमा मनोसामाजिक समस्याका लक्षणहरू भएका उनले जानकारी दिए।

“मनोसामाजिक समस्या उत्पन्न हुनेमा कोभिड भएका र नभएका दुवै छन्,” उनले भने।

“यस्ता लक्षणहरू बढ्दै जानुमा कोभिडले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव परिहेको छ भनेर बुझन सकिन्छ। यस्ता समस्याहरू अभिभावकमा मात्र नभएर स्कुल जाने बालबालिकामा पनि देखिरहेको छ।” उनले थपे, “कोभिडका कारण ज्यान गुमाएका परिवारहरूका सदस्यमा निद्रा नलाग्ने, डराउने, अब म पनि मर्छुजस्ता सोचाइहरू आउने गरेका छन्।”

यस्ता समस्या देखिएका अस्पताल आउन नसक्नेहरूले यो एउटा असामान्य अवस्थाको सामान्य परिस्थिति हो भनेर बुझ्नुपर्ने पौडलले तर्क गर्छन्। यद्यपि मनोसामाजिक समस्या देखिए मानसिक समस्याको रूपमा नलिई जीवनभर औषधि खानुपर्छ भन्ने सोच त्याग्न पनि उनले आग्रह गरे।

त्यस्तै मनोविद् ज्यास्मिन मा पनि कोभिडका कारण धेरै एन्जाइटी समस्या लिएर अस्पताल आउने थालेका बताउँछिन्।

कोभिडले ज्येष्ठ नागरिकमा पारेको प्रभाव

कोभिडले सबैलाई असर गर्दा ज्येष्ठ नागरिकहरू पनि अछुतो रहन सकेका छैनन्। पहिलो लहरमा संक्रमित र मृत्यु हुनेमा सबैभन्दा बढी उनीहरू नै प्रभावित परे। भन्छिन्, “कोभिडका कारण ज्येष्ठ नागरिकमा पनि विभिन्नखाले समस्या देखिएका छन्।”

ज्येष्ठ नागरिकहरू धेरैमा त दीर्घ रोग पनि हुने भएकाले महामारीका समयमा उनीहरू नियमित फलोअपका लागि अस्पताल आउँदा डराउने गर्छन्। उनीहरूमा निद्रा व्यवस्थापन पनि नहुने हुँदा झनै तनाव बढ्ने मा बताउँछिन्।

कोभिडकै कारण के कस्ता समस्या उत्पन्न भए यो कुनै अनुसन्धान नभएको उनी बताउँछिन्। भन्छिन्, “तर पहिलेभन्दा कोभिड शुरु भएपछि अस्पतालमा आएकाहरूमा एक किसिममको डर अर्थात एन्जाइटी नै बढी देखिएको छ।”

त्यस्तै उनले भनिन् “पहिले देखि नै डिप्रेशन र एन्जाइटि जस्ता समस्या भएकाहरूले लकडाउनको समयमा परामर्शलाई निरन्तरता दिन नससक्दा पनि अझ समस्या बल्झिएको देखियो।”

कोभिड महामारीमा पाटन अस्पतालमा भने घटे बिरामी

मानसिक रोगसम्बन्धी बिशेषज्ञ सेवा प्रदान गर्ने देशकै एक मात्र सरकारी केन्द्रीय अस्पताल पाटनमा भने कोभिड महामारीका कारण सेवा लिने बिरामीको संख्या घटेको देखिएको छ। अस्पतालमा कार्यररत वरिष्ठ मनोचिकितसक डा.वासुदेव कार्कीका अनुसार टाढाटाढा बिरामी आउनुपर्ने भएकाले बिरामी भर्ना हुनेको संख्या कमी भएको हो।

कोभिडले सबैलाई असर गर्दा ज्येष्ठ नागरिकहरू पनि अछुतो रहन सकेका छैनन्। पहिलो लहरमा संक्रमित र मृत्यु हुनेमा सबैभन्दा बढी उनीहरू नै प्रभावित परे। भन्छिन्, “कोभिडका कारण ज्येष्ठ नागरिकमा पनि विभिन्नखाले समस्या देखिएका छन्।”

आर्थिक वर्ष ०७४/७५ मा इमर्जेन्सीमा ४४७, अन्तरंगमा ८०१ र बहिरंगमा ३३ हजार ४९४ जनाले उपचार सेवा लिए भने ०७४/७५ मा इमर्जेन्सीमा ६४१, अन्तरंगमा ७८४ र बहिरंगमा ३६ हजार ७४५ जनाले सेवा लिएका थिए।

त्यस्तै ०७५/७६मा इमर्जेन्सीमा ६६१ , अन्तरंगमा १५ सय २७ र बहिरंगमा ३५ हजार ७४६ जनाले सेवा लिए भने ०७६/७७ मा इमर्जेन्सीमा ७८२, अन्तरंगमा ६४३ र बहिरंगमा ३५ हजार ८०१ जनाले जाँच गराएका थिए।

०७७/७८ मा भने अन्य वर्षभन्दा केही कम मात्रै अस्पताल आएका देखिएको छ। इमर्जेन्सीमा ६८५ , अन्तरंगमा ५७९ र बहिरंगमा २८ हजार २०२ जनाले उपचार सेवा लिएका डा. कार्कीले बताए।

अस्पतालले बिरामीहरूको स्वास्थ्य मापदण्डअनुसार व्यवस्था गर्न नसक्दा पनि उपचारमा आउनेको संख्यामा कमी आएको उनको अनुमान छ। यो बीचमा धेरैजसो बिरामीले सरकारीभन्दा निजी अस्पताल रोजेकाले पनि अस्पतालमा बिरामी घटेका उनको आकलन छ।

अस्पतालमा अहिले दैनिक १ सयदेखि एक सय ४० जना जतिले बहिरंग सेवा लिइरहेका उनले बताए। आएका बिरामीमा कोरोनाको डर धेरै देखिएको कार्कीले बताए। अस्पताल आउनेहरूमा निद्रा नलाग्ने, कोभिडको धेरे डर, सरसफाइमा धेरै ध्यान, मुटु ढुकढुक गर्नेलगायत समस्या बढी हुने कार्कीको बुझाइ छ।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved