काठमाडौं । शाहिद अफ्रिदी विश्व क्रिकेटका लागि नौलो नाम होइन। क्रिकेटमा सर्वाधिक चर्चित खेलाडी मध्येका एक हुन उनी। पाकिस्तानका पूर्वकप्तान तथा स्टार अलराउण्डर अफ्रिदी शनिबार, एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पहिलो खेलमा त्रिवि खेल मैदान कीर्तिपुरमा उत्रँदैछन्। ईपीएलको यो उद्घाटन खेल नेपाली खेलकुदकै एक ऐतिहासिक खेल बन्दैछ।
किनकि अफ्रिदी जतिको उच्च प्रोफाइल भएको कुनैपनि खेलका खेलाडीले नेपालमा आएर व्यावसायिक खेल खेलेका छैनन्। हुन त यसअघि पनि विश्व चर्चित खेलाडीहरु नेपाल नआएका होइनन।
इंग्लिस फुटबल स्टार डेभिड बेकह्यामदेखि क्रिकेटकै सर्वाधिक सफल खेलाडी, मास्टर ब्लाष्टर सचिन तेन्दुलकर नेपाल आइसकेका छन्। त्यस्तै भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धाेनी र पूर्व चर्चित ब्याट्सम्यान भीभीएस लक्ष्मणले पनि नेपालको भ्रमण गरिसकेका छन।

तर यी सबै खेलाडी सामाजिक कार्य र च्यारिटीका लागि नेपाल आएका थिए। उनीहरुले च्यारिटी म्याच मात्र खेले। त्यसैले नेपालमा आएर व्यावसायिक खेल खेल्ने अफ्रिदी पहिलो उच्च कोटिको खेलाडी बन्दैछन्।
शनिबारको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्सले काठमाडौं किंग्स इलाभेनको सामना गर्दैछ। अफ्रिदी भने काठमाडौंबाट खेल्दैछन्। हुन त अफ्रिदीले ईपीएलमा काठमाडाैंबाट शुरुवाती दुई खेल मात्र खेलेर फर्कनेछन्।
तर उनले दुई खेल मात्र खेले पनि विशेष गरी नेपाली घरेलु क्रिकेटलाई विश्वस्तरमा पुर्याउन यसले ठूलो महत्व राख्छ। नेपाली फ्रेन्चाइज लिगमा शाहिद अफ्रिदी पनि समावेश छन् भन्ने समाचारले विश्वमा नेपाली क्रिकेटको नाम अझ बढाउन मद्दत गर्छ।
बिहीबार मात्र नेपाल आइपुगेका अफ्रिदीले २ दिन नेपालमा बिताउँदा धेरै खुशी लागेको र नेपालको यो बसाइबाट आफूले निकै नै आनन्द लिएको बताए। त्यसो भए किन दुई खेल मात्रै खेल्न नेपाल आएको भन्ने प्रश्नमा उनले हाल आफू “च्यारिटी फाउन्डेसन” को काममा ब्यस्त भएर पूरै खेल खेल्ने समय नभएको प्रतिक्रिया दिए।
उनले भने, “अर्को पटक कि त म पूरै प्रतियोगिता खेल्ने गरि नेपाल आउँछु, होइन भने छोटो समयका लागि मात्र भने आउने छैन।”
उनी आफ्नै नामको “शाहिद अफ्रिदी फाउन्डेसन” नामक संस्था चलाउछन्। जसले शिक्षा र स्वास्थ्यबाट वञ्चित बालबालिकालाई सहयोग गर्ने काम गर्छ।
अफ्रिदी सन् २०१५ मा परोपकारी कार्यमा संलग्न विश्वका शीर्ष २० खेलाडीमा परेका थिए।

खेल मैदान भित्र र बाहिर पनि उनी सबैलाई उत्तिकै सहयोग गर्न रुचाउँछन्। नेपाली क्रिकेटको बारेमा उनी भन्छन्, “जब नेपाली क्रिकेटलाई आवश्यक पर्छ, म जुनसुकै बेला जे सहयोग गर्न पनि तयार छु।”
अघिल्लो दिन पहिलो पटक नेपालमा पाइला टेकेका अफ्रिदीले नेपाल आएपछि आफूलाई आफ्नै घर पाकिस्तान जस्तो लागेको बताएका थिए। त्यस्तै नेपाल र पाकिस्तान २ देशले एकअर्कालाई सहयोग गर्नुपर्ने र आफू व्यावसायिक खेलाडी भएको नाताले नेपाली क्रिकेटलाई सहयोग गर्न आएको प्रतिक्रिया दिएका थिए।
अफ्रिदी विशेषगरी लेग स्पिन बलिङ र आक्रामक ब्याटिङका लागि माहिर मानिन्छन्। एकदिवसीय क्रिकेटका उनले ३७ बलमा शतक पूरा गर्ने रेकर्ड बनाएका थिए। एकदिवसीय क्रिकेटमा पनि टी-ट्वान्टी शैलीको आक्रामक ब्याटिङ रुचाउने उनलाई यसैकारण “बुम बुम अफ्रिदी” को उपनाम दिइएको छ।
एक दुई रन जोड्नुभन्दा पनि छक्का र चौका हान्नमा विश्वास राख्ने उनको २ खेल मात्र पनि ईपीएलमा नेपाली दर्शकलाई सर्वाधिक रोमाञ्चक खेल हुने अनुमान गरीएको छ। एकदिवसीय क्रिकेटमा सर्वाधिक ३५१ छक्का हान्ने कीर्तिमान उनकै नाममा छ।
सन् २००७ को टी-ट्वान्टी विश्वकपमा पाकिस्तान उपविजेता बन्दा अफ्रिदी विश्वकपकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। यसपछि पाकिस्तानले सन २००९ को टी–ट्वान्टी विश्वकपको उपाधि जित्दा भने उनले फाइनलको प्लेयर अफ दी म्याचको उपाधि जितेका थिए।
यसैबिच शनिबारदेखि शुरु हुने ईपीएलको लागि काठमाडाैं किङ्गस इलाभेनले आफ्नो टिम तथा जर्सी सार्वजनिक गरेको छ। हालसम्म उपाधि नजितेको काठमाडाैंको कप्तानी यसपटक स्टार स्पिनर सन्दीप लामिछानेले गर्नेछन्।
यो पटक उपाधिको दाबेदार मध्येको एक मानिएको काठमाडाैंमा सन्दीप र अफ्रिदीसँगै सुबास खकुरेल, अमृत भटराई, जितेन्द्र मुखिया, गुल्सन झा जस्ता स्वदेशी स्टार खेलाडी छन्।
उता नियमित कप्तान ज्ञानेन्द्र मल्ल नखेल्ने भएपछि ललितपुर प्याट्रियट्सले युवा ब्याट्सम्यान कुशल भुर्तेललाई कप्तानीको जिम्मा दिएको छ। ललितपुरमा कुशलसँगै ललित राजवंशी, सन्दीप जोरा, पवन सरार्फ जस्ता युवा खेलाडीको बाहुल्यता रहेको छ।
यी दुई बीच हालसम्म भएको ३ भिडन्तमा ३ पटक नै ललितपुर विजयी भएको छ।
