बागमती प्रदेश : अझै ४३ हजार बढी निरक्षर

सरकारले २ वर्षमा साक्षर नेपाल घोषणा गर्ने लक्ष्यका साथ साक्षरता अभियान ०६५/६६ बाट अभियान सञ्चालन गरेको हो। तर हालसम्म यसले पूर्णता पाउन सकेको छैन।

बागमती प्रदेश : अझै ४३ हजार बढी निरक्षर

काठमाडौं। काठमाडौंकी पूर्णमाया भण्डारी ४९ वर्षकी भइन्। उनलाई सामान्य लेखपढ गर्न पनि आउँदैन। हालसम्म कुनै प्रौढ कक्षामा सहभागी नभएकी उनलाई यसबारे केही थाहा पनि छैन। छोरीलाई पढ्न पठाउने चलन कम भएका बेला उनी पनि स्कूल जान पाइनन्। पढ्ने उमेरमा बाख्रा चराउन जानुपर्‍यो पूर्णमायालाई।

सामान्य परिवारमा जन्मिएकी सिन्धुपाल्चोककी देवकी अर्याल ४५ वर्षकी भइन्। उनलाई पनि सामान्य लेखपढ गर्न आउँदैन। उनीसँग साधारण मोबाइल फोन छ तर नम्बर खोजेर कसैलाई फोन लगाउन परे उनलाई धौधौ पर्छ। त्यसैले उनले नम्बरअनुसार सांकेतिक तस्बिर राखेकी छन्। स्कूल पढ्न जाने उमेरमा उनी र उनकी दिदी घाँस काट्न जान्थे।

प्रौढ कक्षासमेत नलिएकी उनी विवाह गरेको केही समयपछि काठमाडौं आएकी थिइन्। त्यस्तै मकवनपुरकी ज्ञानु भण्डारीलाई पनि सामान्य लेखपढ गर्न आउँदैन। उमेरले ४० कटेकी उनी पढ्नभन्दा घरायसी काम गर्न बढी रुचाउँथिन्, पढ्ने वातावरणमा हुर्किन नपाएकी उनले स्कुलमा पाइला नै राख्न पाइनन्।

बागमती प्रदेशमा निरक्षर महिलाहरूको यो केवल प्रतिनिधि अनुहार मात्र हो। प्रदेशमा हाल ४३ हजार ३८२ व्यक्ति निरक्षर छन्। प्रदेशलाई यही ११ असोजमा साक्षर प्रदेश घोषणा गर्न लागिएको छ। ४ असोजमा काठमाडौं जिल्लालाई साक्षरता घोषणा गरेसँगै बाग्मती प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न लागिएको हो।

हाल यस प्रदेशका १५ देखि ६० वर्ष उमेर समूहको साक्षरता दर ९७ दशमलव ३५ प्रतिशत छ। यो उमेर समूहका ११ लाख ४० हजार ८२० जनसंख्यामध्ये ९७ दशमलव ३५ प्रतिशत साक्षर छन्। यहाँ ४३ हजार ३८२ व्यक्ति निरक्षर छन्।

युनेस्कोले ९५ प्रतिशतभन्दा माथि बढी साक्षर भएपछि मात्र साक्षर स्थानको घोषणा गर्न सकिने उल्लेख गरेको छ। त्यही आधारमा प्रदेशलाई साक्षर घोषणा गर्न लागिएको प्रदेशले जनाएको छ।

प्रदेशमा बसोबास गर्ने सबै नागरिक अर्थात् एक सय प्रतिशत नै साक्षर भएपछि पूर्ण साक्षरण घोषणा गर्न सकिन्छ। पूर्ण साक्षरता घोषणा गर्न स्थानीय तह, जिल्लाले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने गर्छन्।

साक्षरता घोषणापछि बाँकी निरक्षरलाई साक्षर बनाउन स्थानीय तहको साझेदारीमा कार्यक्रम ल्याइने प्रदेशले जनाएको छ। साक्षर घोषित प्रदेशको दायित्व १५ देखि ६० वर्ष उमेर समूहको व्यक्तिको सीपसँग साक्षरतालाई जोड्नुका साथै निरन्तर शिक्षा प्रदान गर्नु पनि हो।

देशभर १५ देखि ५९ वर्ष उमेर समूहका ८२ प्रतिशत जनसंख्या मात्र साक्षर रहेकाे र कुल जनसंख्यामध्ये ६८ प्रतिशत मात्रै साक्षर रहेको शिक्षा, विकास तथा मानवस्रोत केन्द्रले जनाएको छ।

सरकारले २ वर्षमा साक्षर नेपाल घोषणा गर्ने लक्ष्यकासाथ साक्षरता अभियान ०६५/६६ बाट अभियान सञ्चालन गरेको हो। तर हालसम्म यसले पूर्णता पाउन सकेको छैन।

हाल नेपालमा ५५ जिल्ला मात्र साक्षर घोषणा भएकाे केन्द्रको तथ्यांकमा उल्लेख छ। हाल प्रदेश १ मा ताप्लेजुङ‚ सोलुखुम्बु, प्रदेश २ मा सप्तरी‚ सिरहा‚ धनुषा‚ महोत्तरी‚ सर्लाही‚ रौतहट‚ बारा र पर्सा साक्षर घोषणा हुन बाँकी छन्।

त्यस्तै लुम्बिनी प्रदेशमा कपिलवस्तु र बाँके, कर्णाली प्रदेशमा मुगु‚ जुम्ला‚ हुम्ला कालिकोट‚ डोल्पा र सुदूरपश्चिम प्रदेशमा कैलाली‚ कञ्चनपुर‚ डोटी‚ बाजुरा‚ बझाङ पनि घोषणा हुन बाँकी छन्।

युनेस्कोले सन् १९५६ मा सामान्य पढ्न, लेख्न र दैनिक जीवनमा आइपर्ने गणितीय जोड घटाउ गर्न सक्ने व्यक्ति साक्षर भएको मानिने गरी परिभाषा दिएको थियो। नेपालले पनि यसै परिभाषालाई आधार मानेर साक्षरता अभियान सञ्चालन गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved