नृत्यको भाषा मैले विश्वको लागि लेखेको हुँ

अहिले पनि नाच्ने मान्छेलाई कसैले बौद्धिक भन्दैन । सबैले नर्तक नर्तकी भन्छ । तर अब सम्मानसहित बोलाउनुपर्छ । नाट्यश्वर र नाट्यश्वरी भन्नुपर्छ ।

नृत्यको भाषा मैले विश्वको लागि लेखेको हुँ

पुरस्कार पाएर एकदमै खुसी छु । यो किताब लेख्न ६५ वर्ष लाग्यो । ६१ वर्ष त नोटेसन खोज्न नै लाग्यो । चारदेखि पाँच वर्ष भेटिएका कुरालाई मिलाउनै लाग्यो ।

६५ वर्षको मेहनतलाई उहाँले बुझिदिनुभयो । मेहनतको कदर गरिदिएकोमा मलाई खुसी लागेको छ । म ९० वर्षको भइसकेँ । कान पनि कम सुन्छु । तै पनि यो क्षेत्रमा निरन्तर लागिरहेको छु ।

किताब लेखनको यात्रा २०१३ सालको चीनको भ्रमणपछि शुरु भएको थियो । चीनमा मैले एउटा नृत्य देखेँ । त्यसको भाव नेपालसँग पनि मिल्ने थियो । त्यसैले मैले उनीहरुलाई त्यस नृत्यको नोटेसन मागेँ । तर त्यहाँकाले यहाँको नृत्यको नोटेसन संसारमै नहुने बताए । त्यसपछि मेरो मनमा यो लेख्नुपर्छ भनेर अध्ययन अनुसन्धान गर्न थालेँ ।

चीनको भ्रमणमा माओत्सेतुङले मलाई कलम उपहार दिएका थिए । त्यही कलमले पनि मलाई नृत्यको नोटेसन लेख्नको लागि हौस्यायो ।
अनि लेख्न शुरु गरेँ । तर मलाई लेखन शुरु गर्नै गाह्रो भयो ।

नृत्यलाई अक्षरमा कसरी उतार्ने ? ती अक्षरलाई वाक्यमा कसरी ढाल्ने ? त्यो त मैले सोचेकै थिइनँ ।
त्यसपछि, मैले आफ्नै शरीरलाई सोच्दै गएँ । मानिसको भाषा, लिपिको सृष्टि नहुँदाको समयको कल्पना गरेँ । त्यतिबेलाको हाउभाउ कल्पना गर्दै गएँ ।

मैले पहिले (Consonant) व्यञ्जन तयार पारेँ । त्यसपछि स्वर चढाउन पर्यो । तर नाचमा त स्वर हुँदैन, ताल हुन्छ । त्यो तालमा हाउभाउ (मुभमेन्ट) तयार पार्नुपर्यो ।

मसँग ज्योतिषी, तन्त्र विज्ञानको थोरै ज्ञान थियो । त्यसपछि मैले मेडिकल डाक्टरहरुको, इन्जिनियरहरुको विज्ञानमा पनि हाम फाल्न पुगेँ । उनीहरुको चिन्ह प्रयोग गरेँ । त्यो लिएँ ।

यो पुस्तकमा मैले सिर्जना गरेको नयाँ अक्षरहरु छन् । एउटा अक्षर सिर्जना गर्न नै मलाई २ वर्षभन्दा बढी पनि लागेको थियो ।
अहिले पनि नाच्ने मान्छेलाई कसैले बौद्धिक भन्दैन । सबैले नर्तक नर्तकी भन्छ । तर अब सम्मानसहित बोलाउनुपर्छ । नाट्यश्वर र नाट्यश्वरी भन्नुपर्छ ।

मेरो थप केही किताबहरु आउँदैछन् । किताब प्रकाशन गर्न थुप्रै खर्च लाग्छ । पुरस्कार पाएको रकमलाई मेरा तिनै पुस्तक प्रकाशनमा खर्च गर्छु । यो किताबको हिन्दी र अंग्रेजीको अनुवाद चेतन कार्कीले गरिरहनुभएको थियो ।

अंग्रेजीमा अल्फाबेटिक साइन्स अफ डान्स भनेर प्रकाशन हुन्छ । विश्वविद्यालयमा पढेकाहरुलाई पनि यसमा समावेश गरेको छु । मैले कक्षा १२ देखि स्नातक र स्नातकोत्तरसम्मको नृत्यका विषयका लागि पुस्तक तयार पार्दैछु ।

मेरा किताबले नृत्यलाई भाषा दिन्छ । त्यो भाषा नेपालीले मात्रै होइन, संसारका जुनसुकै कुनामा भएका व्यक्तिले पनि बुझ्न सक्छन् । यो किताब मैले विश्वको लागि लेखेको हुँ ।
(नृत्यशास्त्री भैरवबहादुर थापाले जगदम्बा-श्री पुरस्कार पाएका छन्। मदन पुरस्कार गुठीले थापालाई २०७७ सालको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। प्रकाशित सामग्री नृत्यलाई भाषा प्रदान गर्ने अभियानमा लामो समयदेखि जुटेका थापासँग नेपाल भ्यूजले गरेको कुराकानीमा आधारित छ।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved