सेतो पुतलीको बिगबिगी, कसरी भयो शुरुवात?

शापु रोगको समस्या हरेक वर्ष दोहोरिन थालेपछि काठमाडौंका आँखा अस्पतालमा छुट्टै विशेषज्ञ तोकिन थालेका छन्। तिलगंगामा अनु मानन्धर, टिचिङमा रञ्जु खरेल सिटौला, त्रिपुरेश्वर आँखा अस्पतालमा प्रतिक्षा अमात्य विशेषज्ञ चिकित्सक हुन्।

सेतो पुतलीको बिगबिगी, कसरी भयो शुरुवात?

काठमाडौं। २०३२ को झरीका बेला पोखराको लामाचौरको एक निजी विद्यालयका ८/१० जना विद्यार्थीमा आँखामा समस्या देखियो। आँखा रातो हुने, चिलाउने, पिप जम्ने जस्ता समस्याले विद्यार्थीलाई सतायो।

पोखरामा आँखा उपचार अभ्यास नभएकाले समस्या देखिएका अधिकांश काठमाडौं आए। काठमाडौंमा अहिले जस्तो छुट्टै आँखा अस्पताल नभएकाले संक्रमित वीर अस्पताल भर्ना भए। उपचारमा खटियो नेत्र चिकित्सक मदनप्रसाद उपाध्याय नेतृत्वको टोली।

विद्यार्थीका अभिभावकले समस्याको पृष्ठभूमि बताएका आधारमा उपचार भयो। “त्यो बेला (सन् १९७५) पोखरासहित अन्य ठाउँबाट १८/२० जना संक्रमति आए। तर, संक्रमणको खास कारण पहिचान भएन, उपचार ढिलो भएकाले बहुत कमैले मात्रै पूर्ववत ज्योति पाए”, नेत्र विशेषज्ञ प्रा.डा. मदनप्रसाद उपाध्यायले विगत सम्झिए।

वीरमा अर्को वर्ष पनि अन्यत्रबाट उस्तै प्रकृतिका बिरामी दोहोरिए। पुतलीको झुसले आँखामा समस्या देखिएको हुन सक्ने बिरामीका आफन्तको ‘ब्रिफिङ’पछि उपाध्याय सुक्ष्म अनुसन्धानमा केन्द्रित भए। ढिलै गरी २०३५ पछि कारण खुल्यो, समस्या सेतो पुतली (ग्याजालिना मोथ) ले गराएको रहेछ।

उपाध्याय विगत ४६ वर्षदेखि शापु अर्थात् ‘सिजनल हाइपरएक्युट पानुभिआइटिस्’को उपचार र अनुसन्धानमा केन्द्रित छन्। “ग्याजालिना मोथले हरेक वर्ष धेरैलाई समस्या गराइरहेको छ, आँखाको उपचारका अस्पताल जति खुल्दै छन्, त्यति नै शापु संक्रमित बढिरहेका छन्”, उनले नेपाल भ्यूजसँग भने।

पोथी ग्याजालिनाको ढाड र पुच्छरमा हुने पहेँलो रङ मिश्रित रौँले आँखा संक्रमति मात्रै गराउँदैन, उपचार ढिलो भयो भने संक्रमितले ज्योतिसमेत गुमाउन सक्छन्। आँखामा रौँ परेको ४८ घण्टाभन्दा ढिलो उपचार नभएमा दृष्टि गुम्न सक्ने उपाध्यायसहितका विज्ञ बताउँछन्।

आँखाभित्र पिप जम्ने, आँखा रातो हुने, पुतलीको रौँ परेपछि आँखाको नानीको बीचमा सेतो धर्साझै टल्किने र उपचार ढिलो भएमा आँखा सुक्दै जाने शापुका लक्षण हुन्। सेतो भागले आँखाको पर्दाको ज्योति ढाक्ने गर्छ।
वर्षायाममा काठमाडौंका टिचिङ अस्पताल, आँखा अस्पताल त्रिपुरेश्वर, तिलगंगा आँखा प्रतिष्ठान गौशालामा यस्ता बिरामीको संख्या लगातार बढ्न थालेको छ।

ताप्लेजुङ, रसुवा, रामेछाप, प्यूठान, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँची लगायतका पहाडी भेगमा शापु संक्रमित देखिएका छन्। उपाध्यायले भने, “मैले पाएको जानकारीअनुसार यही वर्ष मात्रै पोखरा, भैरहवा र काठमाडौंको टिचिङमा ५५ जना शापु संक्रमित छन्, अन्य अस्पतालमा पनि पक्कै यस्ता संक्रमित छन्।”

तिलगंगा आँखा अस्पतालमा २०७२ मा सबैभन्दा धेरै ११४ संक्रमित भर्ना भएका थिए। यो वर्ष १४ जना संक्रमित तिलगंगा पुगेका छन्। झट्ट हेर्दा आँखाको अन्य रोगसँग मिल्दोजुल्दो लक्षण देखिने भएकाले धेरैजसो संक्रमित ढिलो गरी मात्रै उपचारका लागि आउने तिलगंगाकी सह-प्राध्यापक डा.अनु मानन्धरले बताइन्।

मानन्धरको अनुभवमा हरेक वर्ष शापु संक्रमितको संख्यामा उतारचढाव देखिएको छ। भन्छिन्, “संक्रमित नभएको त वर्षै छैन। तर खै किन हो, एक वर्ष धेरै हुन्छन्, अर्को वर्ष कम हुन्छन्।”

यसबारे अनुसन्धानको छुट्टै पाटो हुन सक्ने मानन्धर बताउँछिन्। उपचार ढिलो भएर ज्योति गुमेको अवस्थामा आँखा सुक्नबाट जोगाउन सकिने र आँखामा नक्कली गेडी राखेर संक्रमितलाई झट्ट हेर्दा स्वास्थ्य अवस्था समान्यझैँ बनाउन सकिने उनले बताइन्।

शापु रोगको समस्या हरेक वर्ष दोहोरिन थालेपछि काठमाडौंका आँखा अस्पतालमा छुट्टै विशेषज्ञ तोकिन थालेका छन्। तिलगंगामा अनु मानन्धर, टिचिङमा रञ्जु खरेल सिटौला, त्रिपुरेश्वर आँखा अस्पतालमा प्रतिक्षा अमात्य विशेषज्ञ चिकित्सक हुन्। प्राडा उपाध्याय टिचिङबाट सेवानिवृत्त भए पनि शापु उपचारमै समर्पित छन्।

तिलगंगा आँखा अस्पतालमा शापु संक्रमितको तथ्यांक

सेतो पुतली साँझपछि सक्रिय
नेपालमा ६७२ दिवाचर (दिउँसो सक्रिय हुने) र तीन हजारभन्दा बढी निसाचर (राति सक्रिय हुने) पुतली पहिचान भएका छन्। राति सक्रिय हुने अधिकांश सेतो रंङका हुन्छन्।

तर, सबै सेतो रङका ग्याजेलिना मोथ होइनन्। साँझपछि जंगल आसपासका बस्तीमा यसको चहलपहल देखिन्छ। मर्करी, सीएफएल चिम र ट्यूवलाइट जस्ता सेतो र चम्किलो बत्तीको उज्यालोमा यस्तो पुतली झुम्मिने भएकाले घरभित्रै रौँको संक्रमण बढ्न सक्ने नेत्र विशेषज्ञ प्राडा उपाध्यायको भनाइ छ।

नेपालको पूर्वदेखि कर्णाली प्रदेशका मध्यपहाडी भेगका उत्तिस र गुराँस पाइने जंगलमा ग्याजेलिना मोथको उपस्थिति पाइएको छ। उत्तिसका पात यसको प्रिय आहरा भएकाले वर्षाका बेला मध्यपहाडी भेगमा देखिने गरेको पुतलीविज्ञ डा. भैया खनालले जानकारी दिए।

खनालले भने, “पुतलीका अन्य प्रजाती पनि मानव अंगका लागि विषालु हुन सक्छन्, तर विस्तृत अध्ययन/अनुसन्धान भएको छैन। अन्यभन्दा पोथी ग्याजेलिना बढी विषाक्त भएको पुष्टी भएको छ।” काठमाडौंमा पनि दुई दशकअघि जमलस्थित त्रिभुवन विश्वविद्यालय हातामा यस्तै पुतलीको संख्या बाक्लै भेटिएको जानकार बताउँछन्।

साउन मध्यदेखि कार्तिक मध्यसम्म जंगल र मानव बस्तीमा ग्याजेलिना देखिन्छ। मनसुनकै बेला यसको उपस्थिति नेपाल, भारतको उत्तर पूर्वी भेग, सिक्किम, भुटान र पाकिस्तानमा पाइएको छ।

ग्याजेलिना मोथको जिवनचक्र १० देखि साढे ११ महीना हाराहारीको हुन्छ। “जुलाईदेखि अक्टोबरसम्म यसले दुःख दिन्छ, जिवनचक्र पूरा नभएको अवस्थामा फागुन/चैतमा पनि देखिन्छ”, खनालले भने, “आँखामा देखिएको असरबारे नेपालमा मात्रै अध्ययन भएको छ।

विषादी छरेर वा मार्ने अभियान चलाएर ग्याजेलिना मोथ नियन्त्रण गर्न नसकिने भएकाले स्वास्थ्य सर्तकताका लागि सचेतना बढाउन आवश्यक रहेको खनालले बताए।

पहिलो अध्ययन नेपालमा 
ग्याजालिना मोथ र नेपालको समस्याबारे विभिन्न समयमा अन्तर्राष्ट्रिय जर्नलमा शोध प्रकाशन भएका छन्। प्रा.डा. उपाध्याय, पुतलीविज्ञ खनाल र टिचिङकी नेत्र चिकित्सक खरेलको शोध दुई साताअघि ‘अमेरिकन जर्नल अर्फ अफ्थालमोलोजी’मा प्रकाशन भएको छ।

अन्य मुलुकका शोध अन्तर्राष्ट्रिय जर्नलमा नआएकाले नेपाल यो विषयको अध्ययन गर्ने पहिलो मुलुक भएको प्रा.डा. उपाध्यायको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved