सभामुखको बेवास्ता !

अवरोधबीच बजेटसम्बन्धी दुई वटा विधेयक पारित भयो। तर संसद्को सात वटा बैठक बस्दा पनि सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छैनन्।

नेपालभ्युज

सभामुखको बेवास्ता !
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधबीच प्रतिनिधिसभाको आज सातौं बैठक बस्यो।

अवरोधबीच बजेटसम्बन्धी दुई वटा विधेयक पारित भयो। तर संसद्को सात वटा बैठक बस्दा पनि सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छैनन्।

कार्यव्यवस्था परामर्श समितिको बैठकबेगर सभामुखले संसदको कार्यसूची बढाएका हुन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सचेतक शान्ता चौधरीका अनुसार अहिलेसम्म सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका छैनन्। संघीय संसदको नवौं अधिवेशन गत २३ भदौमा बोलाइएको थियो।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्ण पनि अहिलेसम्म कार्य व्यवस्था परामर्श समितिको बैठक नबसेको बताउँछन्। उनले भने, “सभामुखले बैठक किन राख्न चाहिरहनुभएको छैन? मैले बुझेको छैन”, उनले भने।

प्रतिनिधि सभा नियमावलीमा के छ ?

सभामुखले संसदमा प्रतिनिधित्व गर्ने दलीय आधारमा कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न सक्ने प्रतिनिधि सभा नियमावली नियम १३ को १ ले  व्यवस्था गरेको छ। संसद् बैठक बस्नुअघि बैठकमा पेश हुने तथा समयावधि निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्न तथा सभामुखलाई परामर्श दिन सभामुखको अध्यक्षतामा बढीमा १७ जना सदस्य रहने गरी कार्यव्यवस्था परामर्श समिति रहने व्यवस्था ‍छ।

तर प्रतिनिधि सभाको नवौं अधिवेशन शुरुयताका बैठकमा यो समितिसँग कुनै छलफल गरेका छैनन्। यसअघिका अधिवेशनमा भने सभामुखले संसद् बैठक बस्नुअघि परामर्श समितिको बैठक राखेर संसद्को कार्यसूची तय गर्ने गरेका थिए। तर सभामखु र प्रतिपक्ष दलबीच पछिल्लो समय संसदमा द्वन्द्वको अवस्था रहेपछि सभामुखले परामर्श समितिको नै बैठक राखेका छैनन्।

बैठक नराखे पनि संसदको कार्यसूची तय गर्ने अधिकार सभामुखलाई छ। नियमावलीको नियम १२ को १ मा भनिएको छ – “सभामुखको निर्देशनअनुसार महासचिव वा निजको अनुपस्थितिमा सचिवले बैठक बस्ने प्रत्येक दिनको कार्यसूची तय गर्नेछ।”

विगतको अभ्यास हेर्ने हो भने सभामुखले कार्यव्यवस्था परामर्श समितिसँग छलफल गरेर संसदको कार्यसूची तय गर्ने परम्परा थियो।

एमालेको अवरोध जारी

एमालेले संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक संघीय संसद्को अधिवेशनको पहिलो बैठकदेखि नै अवरोध गर्दै आएको छ। संघीय संसदको बैठक गत २३ भदौमा बसेको थियो। यस विषयमा एमालेले प्रतिनिधि सभाको सात वटा बैठक र राष्ट्रिय सभाको ८ वटा बैठक अवरुद्ध गरेको छ।

एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्नुका प्रमुख कारण सभामुखले १४ सांसदलाई गरेको कारबाहीको सूचना नटाँस्नु बताइरहेको छ। आफ्नो मुद्दामा एमाले टसमस भएको देखिँदैन। पार्टीले कारबाही गरेका १४ सांसदको नाम प्रकाशन गर्नुपर्ने वा सभामुखको राजनीतिमा आफ्नो बटमलाइन भएको भन्दै एमालेले अडान राख्दै आएको छ।

एमालेले उठान गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ। सभामुखले सर्वोच्चमा विचाराधीन मुद्दामा जवाफ दिन नमिल्ने बताउँदै आएका छन्। नेकपा एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सभामुख सापकोटाले १४ जना सांसद कारबाही गरिरहन नपर्ने सूचना प्रकाशन गरेका थिए।

यतिबेला संसदमा सभामुख र प्रतिपक्ष दलबीच द्वन्द्वको अवस्था छ। अवरोधबीच सभामुखले सात वटा बैठक सञ्चालन गरिसकेका छन्। एमालेले हरेक बैठक संसदमा ‘बेल’ घेराउ गर्दै आएको छ।

वार्ता के भइरहेको छ ?

संसद अवरुद्ध भएपछि प्रमुख प्रतिपक्ष दल र सभामुखबीच छलफल हुन सकेको छैन। २८ भदौमा सभामुखले संघीय संसदमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग सर्वदलीय बैठक आह्वान गरेका गरेका थिए। बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस) का अध्यक्ष नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल, नेमकिपाका सांसद प्रेम सुवाल उपस्थित थिए।

तर एमाले सर्वदलीय बैठक बहिष्कार गर्‍यो। एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल सम्मिलित कुनै पनि बैठकमा सहभागी नहुन निर्देशन दिएपछि अन्तिम समयमा एमालेले बैठक बहिष्कार गरेको थियो।

अर्कोतर्फ संसदमा देखिएको अवरोध एमालेसँग भएकाले सभामुखले एमालेसँग मात्र वार्ता गर्नुपर्ने शर्त राख्यो।

सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका नेतहरुले पनि संसदमा देखिएको अवरोध हटाउन थप पहल गर्न सभामुखलाई सुझाव दिएका थिए। संसदीय नियमावली अनुसार पनि संसदमा देखिएको अवरोध अन्त्य गर्दै संसदमा दलहरूबीच सहमति जुटाउने प्रमुख दायित्व पनि सभामुखको हो। यस बीचमा सभामुखले एमालेसँग औपचारिक नभई अनौपचारिक रूपमा वार्तालाई भने निरन्तरता दिइरहेका छन्।

संसद अवरुद्ध गर्दै आएको एमाले संसद् सुचारु गर्ने विषयमा सभामुखले नै प्रभावकारी भूमिका खेल्न नसकेको बताउँछ। यस अवधिमा सभामुखसँग वार्ता नभएको उसले जनाएको छ।

सभामुखले औपचारिक वा अनौपाचारिक रूपमा कुनै पनि संवाद नगरेका एमालेको ठहर छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved