निकै ठूलो प्रतिगमनको डिजाइनलाई असफल पार्‍यौं – प्रचण्ड

माधव नेपालको पार्टी बनाउन ठूलो मिहिनेत गरेको जिकिर

नेपालभ्युज

निकै ठूलो प्रतिगमनको डिजाइनलाई असफल पार्‍यौं – प्रचण्ड
फाइल तस्वीर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले निकै ठूलो प्रतिगमनको डिजाइनलाई असफल पारिएको बताएका छन्।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी ओलीलाई पार्टीबाट निष्काशन गरेको दाबी गर्दै उनले भने, “हामी विजेता हौं, ऊ (केपी ओली) हरुवा हो।” आफूहरूले बहुमत सदस्यसहित हस्ताक्षर गरेर प्रधानमन्त्रीबाट ओलीलाई हटाउन लागिपर्दा आफूहरू चुकेको उनको भनाइ थियो।

माओवादीको युवा दस्ता वाईसीएलको पाँचखाल नगरको दोस्रो सम्मेलनमा प्रचण्डले ओली झुटो बोल्न सिपालु र नक्कली कुरा गर्न सिपालु भएको आरोप लगाए। “काइते कुरा गरेर उखान टुक्का गर्न क्षमता ओलीमा छ। बजारमा सामान किन्न जाँदा सामानमा बाहिर लेभल लगाएको हुन्छ नि। राम्री केटीको फोटो टाँसेको हुन्छ। प्रतिक्रियावादीको यो विशेषता हो,बाहिरबाट हेर्दा राम्रो, भित्रबाट अर्कै”, उनले ओलीतिर लक्षित गरे। तर सर्वहारा पार्टीको विशेषता भने यस्तो नहुने उनले बताए।

माधव नेपालको पार्टी बनाउन पनि आफूहरूले मिहिनेत गरेको प्रचण्डले खुलाए। नेकपा एमालेमा रहेका युवा नेता घनश्याम भुसाल र योगेश भट्टराईप्रति दया देखाउँदै पछि उनीहरू पनि ओलीसँग नहुने दाबी गरे।

“केपी ओलीले भ्रष्टाचार गर्न दिन्नँ, म गर्दिनँ पनि भन्छन्। तर आफूले गरेको भ्रष्टाचार कतै देखाउँदैनन्,” पूर्वमन्त्री गोकुल बास्कोटाको नाम नलिई प्रचण्डले ७० करोड रुपैयाँ प्रसंग झिके। आफूले भ्रष्टाचारको कुरा गरे पनि गोकुललाई बचाउन ओली नांगै भएका उनले आरोप लगाए।

साथै आफ्नो आफ्नो पहिलो कार्यकालमा जति स्वच्छ शासन इतिहासमा कहिल्यै नभएको पनि जिकिर गरे। आफ्नो पालामा भ्रष्टाचार भन्ने केही नभएको उनले जिकिर गरे। २५ वर्षयताकै सबैभन्दा बढी विकास आफ्नै पालामा भएको उनले दाबी गरे। तर केपी ओलीका पालामा भने भ्रष्टाचारबाहेक केही नभएको उनले बताए।

कोभिड स्वास्थ्य सामग्री, जहाजमा भएको भ्रष्टाचार, यती एअरमा भएको भ्रष्टाचारको प्रसंग झिक्दै प्रचण्डले ओलीले देश डुबाएको पनि आरोप लगाए।

एमसीसी ल्याएर दिमाग खराब गरिएको उनको भनाइ थियो। “एमसीसीले शेरबहादुर प्रचण्डको झगडा पर्छ र सम्बन्ध टुट्छ भन्ने एकथरीको भनाइ छ। तर एमसीसी हाम्रा लागि मुख्य हैन। मुख्य गठबन्धन हो,” उनले भने।

फरक प्रसंग झिक्दै उनले माओवादी आन्दोलन बचाउन अन्तिम साससम्म एक्लै भए पनि लडिरहने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved