टोक्ला है किर्नाले !

किर्नाले टोकेर लाग्ने स्क्रब टाइफसको मौसम हो यो, समयमै उपचार नगरे ज्यानै जानसक्छ ।

टोक्ला है किर्नाले !

काठमाडौं। असोज लाग्यो । यो चाडपर्वको मौसम हो । सँगसँगै यो केही अनौठा रोगको मौसम पनि हो । त्यसमध्ये एउटा हो– स्क्रब टाइफस ।

यो रोग खास गरी साउनदेखि असोजसम्म देखिने गर्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक चार जनाको हाराहारीमा स्क्रब टाइफसको लक्षण लिएर बिरामी अस्पताल आउने गरेको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा.शेरबहादुर पुनले बताए ।

२००४ सालमा काठमाडौंमा गरिएकोे एक अध्ययनअनुसार केही मानिसमा स्क्रब टाइफस पुष्टि भएको पाइएको थियो । तर २००४ देखि २०१५ सम्म आउँदा यसबारे खासै हलचल भएन । २०१५ पछि भने धरानका केही बालबालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको पुष्टि भयो ।

त्यसपछि भने लगातार स्क्रब टाइफसका बिरामीहरु र मृत्यु हुनेहरु बढिरहेका छन् । केही हप्ताभन्दा पहिलेको तुलनामा अहिले स्क्रब टाइफसका बिरामीको संख्या बढिरहेको छ ।

के हो स्क्रब टाइफस ?
डा. पुनका अनुसार स्क्रब टाइफस किटजन्य रोग हो । चिगर माइन्ट नामका मुसामा बढी पाइने किर्नाले टोक्यो भने यो रोग लाग्छ ।

डा. पुन भन्छन्, “किर्नाले खासगरी काखी, ढाड, पाखुरा, खुट्टा तथा छातिमा टोक्ने गर्छ । किर्नाले टोकेको ठाउँमा चिलाउने र कन्याउँदै जादामा कालो पाप्रो (स्कार) बस्ने गर्छ । त्यो स्कार बसेको हप्ता दिनमा बिरामी अस्पताल आयो भने हेर्दा नै प्रस्टरुपमा स्क्रब टाइफस हो भनेर पहिचान गर्न सकिन्छ ।”

लक्षण
डा. पुनका अनुसार स्क्रब टाइफस हुँदा देखिने मुख्य लक्षणहरु भनेको अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, आँखा रातो हुने, कानमा आवाज आएको जस्तो हुने, सास फेर्न गाह्रो हुने, पसिना आउने, छालामा स–सना बिबिरा आउने र किराले टोकेको ठाउँमा स्कार देखिने हुन् ।

स्क्रब टाइफस पुष्टि भएर औषधि खाएको ४८ घण्टामा नै ज्वरो कम हुन्छ । त्यस्तै एक हप्ताको एन्टिब्योटिक खायो भने पुरै सञ्चो हुने डा.पुनले बताए ।

बच्ने उपाय
यो रोगका लागि हालसम्म कुनै पनि खोप बनिसकेको छैन। डा. पुनले भने, ‘‘त्यसकारण सचेत हुनु नै प्रमुख उपाय हो ।”

घर वरपर रहेका घाँस, झाडी नराखी सरसफाइ गर्ने । दाउरा वा घाँस काट्न जादा लामो लुगा लगाएर जाने । फुलहरु लगाइएको ठाउँमा पनि किरा हुन सक्ने भएकाले सफा राख्ने, छतमा तरकारी लगाउने र मुसाबाट विशेष सावधानी अपनाउनुपर्ने डा. पुनले बताए ।

नेपालमा यसको अवस्था
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २०१५ मा देशभर एक सय २ जनामा स्क्रब टाइफसका बिरामी भेटिएका थिए भने आठ जनाको मृत्यु भएको थियो ।

ह्वात्तै संक्रमितको संख्या बढेर २०१६ मा आठ सय ३१ पुग्यो भने १४ जनाको मृत्यु भयो। त्यस्तै २०१७ मा ६ सय ७० जनामा स्क्रब टाइफस पुष्टि हुँदा १२ जनाको मृत्यु भयो ।

२०१८ मा देशभर एक हजार ९८ जनामा संक्रमण पुष्टि भयो भने जम्मा चार जनाको मृत्यु भयो ।
त्यस्तै २०१९ मा एक हजार १६७ जना संक्रमित थपिदा चार जनाको मृत्यु भयो। सन् २०२० मा सबैभन्दा बढी संक्रमित एक हजार ७४८ थपिए भने तीन जनाको मृत्यु भयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved