आर्कब्रिजको अवरोध : बस्तीमा पस्यो विष्णुमती

नदीको निकास छेकिएपछि नदी किनारा आसपासका बस्तीमा बाढीले क्षति पुर्‍याएको हो।

आर्कब्रिजको अवरोध : बस्तीमा पस्यो विष्णुमती

काठमाडौं। विष्णुमती नदीको निकास छेकिएपछि नदी किनारा आसपासका बस्तीमा बाढीले क्षति पुर्‍याएको छ।

भीमसेनस्थान (परोपकार)-टंकेश्वर जोड्ने निर्माणाधीन ‘आर्कब्रिज’को ढलान सपोर्टका लागि राखिएका फलामका खम्बाले नदीको बहाव छेकेको छ।

आर्कब्रिजको सपोर्टका लागि नदीको आधाभन्दा बढी भाग थुनिएकाले १३, १५, १९ र २० वडाका घर/टोल जलमग्न हुन थालेका छन्। सोमबार बेलुकाको मध्यमस्तरको झरीले आर्कब्रिज-डल्लु झोलुंगे पुल आसपासका परोपकार, रामघाट, इनाटोल, चागल, लकातीर्थलगायतका बस्ती र विष्णुमती करिडोरमा बाढी पस्यो।

साँझ ८ बजेपछि करिब दुई घण्टा बाढीले दुःख दिएको चागलस्थित सुरेस मोटरसाइकल वर्कसपका सञ्चालक सुरेश डंगोलले बताए। “अस्ति भदौ २०/२१ गतेको मुसलधारे वर्षाले गर्दा धेरै दुःख पाएका थियौं, सोमबार फेरि उस्तै समस्या भयो”, उनले नेपालभ्यूजसँग भने।

अधिकांश घरको भुइँतला र पसलका सटरमा बाढी पसेको डंगोलले जानकारी दिए। बाढीको प्रभाव र हप्ता दिनभन्दा अघिको फोहोर खोला किनारमा थुप्रिएकाले दुर्गन्ध फैलिएपछि स्थानीयले मंगलबार १३ वडा कार्यालयको ध्यानाकर्षण गराएका छन्।

तत्काल आर्कब्रिजको अवरोध खुला गरेर वहाव फराकिलो बनाउन र फोहोर उठाउन खबरदारी गरिएको अर्का स्थानीय मोहनलाल खड्गीले बताए।

रोशन कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको आर्कब्रिजको ढलान भएको चार महीनाभन्दा बढी भएको छ। नदीको वहाब अवरुद्ध पार्ने गरी वैशाखअगावै ढलान सपोर्टका लागि फलामका खम्बा गाडिएका थिए। बाक्लै गाडिएका खम्बामा प्लास्टिक र अन्य फोहोर माकुराको जालोझैं जेलिएकाले विष्णुमतीको निकास अवरुद्ध भएको छ।

भदौ तेस्रो साताको झरीलगत्तै निकास खुला गर्न स्थानीयले पुल ठेकेदार कम्पनी र वडाको ध्यानाकर्षण गराएका थिए। आज (मंगलबार) पुनः स्थानीयले दबाब दिएपछि वडा कार्यालयले पुल ठेकेदारलाई निकास खोल्न निर्देशन दिएर खोलाको वहाब फराकिलो बनाउन डोजर पठाएको छ।

भदौको झरीलगत्तै पुलको निकास खुला गर्न ध्यानाकर्षण गराइए पनि ठेकेदारले गम्भीर रूपमा नलिएको १३ वडा कार्यालयकी सचिव देवीकुमारी वस्तीले बताइन्। उनले भनिन्, “सोमबार दोहोरिएको बाढीबारे वडाध्यक्ष (ध्रुवनारायण मानन्धर)ले ठेकेदारसँग कुरा गरिसक्नुभएको छ, अब छिट्टै अवरोध हट्छ भन्ने बुझेका छौं।”

विष्णुमती करिडोर निर्माणका क्रममा बिच्छ्याइएका ढलका पाइप साँघुरो भएकाले वर्षाका बेला करिडोर आसपासका बस्तीमा ढल र बाढीको समस्या दोहोरिने गरेको छ।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved