नेकपा (एस) को ठहर : केपी ओलीबाट गणतन्त्र खतरामा

‘‘एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिगमनको नाइके हुन्, उनका धेरै मतियारले उनलाई साथ दिई रहेका छन् । उनीबाट गणतन्त्र खतरामा रहेको छ भन्ने  कुराहरु प्रतिवेदनमा छ,’’

नेपालभ्युज

नेकपा (एस) को ठहर : केपी ओलीबाट गणतन्त्र खतरामा
काठमाडौँ। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबाट गणतन्त्रका लागि खतरा रहेको निष्कर्ष निकालेको छ। मंंगलबार सुरु सो पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा ओलीलाई ‘प्रतिगनको नाइके’ को संज्ञा दिँदै उनीबाट गणतन्त्रबाट प्राप्त उपलब्धिसमेत गुम्ने ठहर गरिएको छ।
बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनबारे छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। ‘‘एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिगमनको नाइके हुन्, उनका धेरै मतियारले उनलाई साथ दिई रहेका छन्। उनीबाट गणतन्त्र खतरामा रहेको छ भन्ने  कुराहरु प्रतिवेदनमा छ,’’ खतिवडाले नेपाल भ्यूजसँग भने।
एमालेमा रहेका तत्कालीन नेता नेपाल निकट १० जना नेतालाई एमालेमै लड्न नेपालको प्रतिवेदनमा आग्रह गरिएको छ। यदि लडाइँ सफल नभए आश्रयस्थल एकीकृत समाजवादीमा आउन आग्रह गरेको खतिवडाले बताए।
एमालेको नवौँ महाधिवेशनबाट नीति आफूहरूको तर नेतृत्वमा भने ओली आएको नेकपा (एस) को ठहर छ। ओली निर्वाचित भएकै कारण पार्टी विभाजन गरेर आफूहरूले नयाँ पार्टी बनाउनुपरेको अध्यक्ष नेपालको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा रहेका विषय उदृत गर्दै एक नेताले नेपाल भ्यूजसँग भने, ‘‘एमालेको नवौँ महाधिवेशनबाट पार्टीको नीति अर्थात् कार्यदिशा एउटा पारित गर्ने, तर नेतृत्वमा भने महाधिवेशनबाट पारित नीतिको पक्षमा नरहेको व्यक्ति चयन गर्ने काम भयो। ती दुवै निर्णयले नेपाली कम्युनिस्ट आन्दोलनको एकतामा गम्भीर क्षति  पुर्‍याएका छन्।
मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने पार्टी नीति पारित गरेको त्यस महाधिवेशनबाट पार्टीको प्रमुख नेतामा त्यस नीतिका विरोधी व्यक्तिलाई महाधिवेशनले चयन गर्याे  जसले महाधिवेशनका निर्णय बोक्दै बोकेनन्। अध्यक्षमा छानिएका केपी ओली महाधिवेशनका नीति सिद्धान्तप्रति इमानदार रहेनन्।’’
ओलीकै इमानदार नभएकै कारण कारण पार्टी विभाजित भएको पनि अध्यक्ष नेपालको प्रतिवेदनमा छ। प्रधानमन्त्री हुँदा ओलीले असंवैधानिक रुपले प्रतिनिधिसभाको विघटन सिफारिस गरेपछि आफूहरूले विद्रोह गर्नुपरेको नेपालको प्रतिवेदनमा भनिएको छ।
नेपालले पार्टी फुटाउने आफूहरूको भूमिकाको बचाउ गर्दै भनेका छन् ‘‘ओलीले महाधिवेशनका निर्णय पालना गरेनन्। आफूखुसी र आफ्नो गुटको फाइदाका लागि मात्रै काम गरे। जसले पार्टीमा गम्भीर मतभेद उत्पन्न हुँदै गयो। एमालेमा रहँदा होस् या  तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बिच एकता गरी नेकपा हुँदा’केपी ओली पार्टीका विधि विधान र अनुसार कहिल्यै चलेनन्।’’
सो प्रतिवेदन केन्द्रीय कमिटीमा पारित गर्ने, कार्य विभाजन गर्नेलगायतका एजेन्डामा छलफल भइरहेको नेताहरूले बताए। मंगलबारको केन्द्रीय कमिटी बैठकका निर्णय सुनाउँदै खतिवडाले निर्वाचन आयोगमा सनाखत गरेका ११६ जना र त्यसपछि थपिएका केन्द्रीय कमिटी सदस्यहरूले शपथ लिएको बताए। साथै केन्द्रीय कमिटी विस्तार, कार्य विभाजन लगायत अन्य विषयमा छलफल भएको जानकारी दिए।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved