१४ औँ महाधिवेशन

कांग्रेसमा कस्को के दाउ?

केन्द्रमा हुने महाधिवेशनलाई लिएर शीर्ष तहमा रँडाको मच्चिएको छ। शीर्ष नेताहरू सार्वजनिक रूपमा सबैलाई मिलाउन लागिपरिरहेको दाबी गरे पनि माथिदेखि तलसम्म आफ्नो गुट बलियो बनाउन लागिपरेका छन्।

कांग्रेसमा कस्को के दाउ?

काठमाडौँ। नेपाली कांग्रेस १४ महाधिवेशनको कार्यतालिकामा प्रवेश गरिसकेको छ।

केन्द्रदेखि गाउँसम्मको कांग्रेसीहरू महाधिवेशनको चक्रमा घुमिरहेका छन्। अहिले वडा तहको अधिवेशनहरू गरिरहेको कांग्रेसले ९ मंसीरदेखि १३ सम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्दै छ। जसले पार्टीको नयाँ विधानअनुसार नयाँ नेतृत्व चयन गर्नेछ।

हुन त नयाँ नेतृत्वको लागि कांग्रेस तल्लो तहमा पनि व्यापक प्रतिस्पर्धा देखिएको छ।

तर केन्द्रमा हुने महाधिवेशनलाई लिएर शीर्ष तहका नेताहबीच रँडाको मच्चिएको छ। धेरैले वर्षौंदेखि सँगै रहँदै आएको समूह परित्याग गरिरहेका छन्। शीर्ष नेताहरू सार्वजनिक रूपमा सबैलाई मिलाउन लागिपरिरहेको दाबी गरे पनि वास्तविकतामा भन्ने सबै शीर्ष नेताहरू माथिदेखि तलसम्म आफ्नो गुट वा समूह वा आफ्नो पक्षका नेताहरू बलियो बनाउन लागिपरेका छन्।

१४ औँ महाधिवेशनलाई लिएर कांग्रेसमा अहिलेसम्म चार ओटा प्रस्ट ध्रुवहरू जन्मिइसकेका छन्। जुन बढ्न पनि सक्छ र घटन पनि सक्छ। सभापति शेरबहादुर, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष कांग्रेसमा अहिलेसम्म देखिएका मुख्य खेमाहरू हुन्। वरिष्ठ नेता पौडेल पक्षमा रहेका कोइराला परिवार र नेता प्रकाशमान सिंहले पनि समानान्तर गतिविधि चलाउँदै आइरहेका छन्।

कांग्रेसबारे पुस्तक लेखेका लेखक राजेश गौतम अहिले पार्टीभन्दा पनि नेताहरूमा आफ्नो नेतृत्वमा गुट बनाउन पाए जस्तो लाग्ने गरेको बताउँछन्। “महाधिवेशनमा हिजो पनि शीर्ष तहका नेताहरूबीच प्रतिस्पर्धा हुन्थ्यो”, गौतम भन्छन्, “तर उनीहरू सबैको केन्द्रमा पार्टी हुन्थ्यो।”

०४६ पछि यो क्रम कांग्रेसमा विकास भए र अहिले त अति नै देखिन थालेको गौतमको विश्लेषण छ। “हरेक नेतापिच्छे छुट्टै कार्यालयदेखि सम्पूर्ण संयन्त्र निर्माण गरेर महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ”, गौतम भन्छन्, “तर कांग्रेसबारे कसैको पनि प्रस्ट दृष्टिकोण छैन।”

आफ्नो नेतृत्वमा जति बलियो गुट भयो पार्टीमा त्यति नै बढी अवसर पाउने वातावरण सिर्जनाले पनि यस्तो भएको हुन सक्ने गौतमको ठम्याइ छ। सभापति देउवादेखि वरिष्ठ नेता पौडेल, उपसभापति निधि र पूर्वमहामन्त्री सिटौला त्यही रेसमा रहेका पनि उनले बताए।

कस्को के दाउ ?

सभापति देउवा

पाँचौं पटक प्रधानमन्त्री भइसकेका सभापति देउवा पार्टी सभापतिमा दोस्रो कार्यकाल दोहर्‍याउन चाहन्छन्। यद्यपि उनीमाथ पनि आफ्नै समूहबाट चुनौती थपिएको छ।  अघिल्लो पटकको महाधिवेशनमा उनी गुटमा रहेका उपसभापति निधिले पनि सभापतिमा उम्मेदवारी दिएपछि देउवालाई आफ्नो पक्ष मिलाउन हम्मेहम्मे पर्ने देखिन्छ। सिटौलालाई आफ्नो पक्षमा मिलाएर देउवा महाधिवेशनमार्फत पुनः उदाउन खोज्दैछन्।

वरिष्ठ नेता पौडेल

वरिष्ठ नेता पौडेललाई सभापति इतरपक्षबाट एक्लो उम्मेदवार बन्ने रणनीतिमा छन्। तर यो कठिनजस्तो देखिएको छ। यद्यपि पौडेल पक्षले त्यसका लागि आन्तरिक गृहकार्य भने चलाइरहेका छन्। तर उनी पक्षका महामन्त्री शशांक कोइराला, पूर्वउपसभापति प्रकाशमान सिंह र शेखर कोइरालाले सार्वजनिक रूपमै सभापतिको उम्मेदवारी दिएका छन्। तर पौडेल पछि हटेका छैनन्।

उपसभापति निधि

सभापति देउवासँग लामो सहकार्य गरेर सभापतिको उम्मेदवारी घोषणा गरेका उपसभापति निधि देउवा पक्षको असन्तुष्ट लाइनलाई आफूतिर तान्ने प्रयासमा लागिपरेका छन्। देउवासँग लामो सहकार्यका कारण निधिको यो पक्षमा राम्रो प्रभाव रहेको नेताहरू बताउँछन्। प्रवक्ता विश्वप्रकाश शर्मालाई महामन्त्रीको उम्मेदवारका रूपमा आफूतिर तानिसकेका निधिले देउवाबाट असन्तुष्ट अन्य नेता पनि लैजाने रणनीतिमा छन्।

पूर्वमहामन्त्री सिटौला

१३ महाधिवेशनबाट अस्तित्वमा आएको पूर्वमहामन्त्री सिटौला समूह यो पटक केही कमजोर देखिए पनि रणनीतिक रूपमा अघिल्लो पटकझैँ महत्त्वपूर्ण हुन सक्छन्। अघिल्लो पटकको महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापाले यो समूह परित्याग गरेपछि सिटौला केही कमजोर भने हुन सक्छन्।

तर दुईभन्दा बढी सभापतिको उम्मेदवार भएको अवस्थामा सिटौला अघिल्लो पटकझैँ निर्णायक साबित हुन सक्ने राजनीतिक विश्लेषकहरूको अनुमान छ। त्यही कारण होला सिटौला र सभापति देउवाको हिमचिम पछिल्लो समयमा बढेको चर्चा कांग्रेसभित्र छ। यो पटक सिटौलाले सभापति देउवासँग मिलेर आफ्ना निकटका केही नेतालाई पदाधिकारीमा ल्याउने रणनीति बनाउन सक्नेछन्।

कांग्रेसमा यसरी जन्मियो गुट

कांग्रेसको पछिल्लो १३ औं महाधिवेशनमा तीन ओटा गुटहरू संस्थागत शैलीमै चुनावी मैदानमा उत्रिएका थिए। देउवा खेमाबाट सभापतिमा शेरबहादुर देउवाको प्यानल विजयी भएपछि उनले सम्बोधनमार्फत पार्टीभित्र गुटबन्दी समाप्त पार्ने दाबी गरेका थिए। तर १३ औँ महाअधिवेशनको पूरा कार्यकाल बितिसक्दा कांग्रेसभित्रको गुट समाप्त हुनुको साटो झन् झन बढिहरको छ।

१३ औं महाधिवेशनमा तीन ओटा गुट देखिएको कांग्रेसमा अहिले कम्तीमा पनि त्यो ६ ओटामा विभक्त भइसकेको छ। पार्टीका गतिविधिहरू र विभिन्न मनोनयनमा आ–आफ्नो समूहगत प्रस्तुति देखाइरहेका पछिल्लो पटक  देउवा समूह, पौडेल, सिटौला, कोइराला परिवार, निधि, प्रकाशमान सिंह खेमाहरू खुलिसकेका छन्।

‍१३ औं महाधिवेशनदेखि पार्टीको नेतृत्वबाट बाहिरिएको कोइराला परिवारले पुनः नयाँ ढंगले आउने सन्देश पछिल्लो समय दिँदा कांग्रेसभित्र गुट-उपगुटको समीकरणहरूबारे पुनः चर्चा हुन थालेको छ।

कोइराला परिवारका शंशाक, शेखर र सुजाताको मिलाप भए कांग्रेसभित्रको आन्तरिक गुटबन्दीलाई प्रभाव पार्न सक्ने छ।

कांग्रेसभित्र देखिने गरी भने २०१७ साल देखि नै गुटको खेती हुन थालेको जानकारहरू बताउने गर्छन्।

०१७ सालअघिसम्म खासै मतभिन्नता नभए पनि त्यस समय बीपी कोइराला र सुवर्ण शमशेरबीच कसरी अघि बढ्ने भन्नेबारे मतैक्यता हुन नसकेको देखिन्छ। त्यसपछि ०४६ सालको प्रजातान्त्रिक आन्दोलनपश्चात् बीपी खेमाको नेतृत्वमा गिरिजाप्रसाद कोइराला हाबी भएपछि त्यसविरुद्ध कृष्णप्रसाद भटराई, महेन्द्र नारायण निधिहरू उभिएका थिए।

त्यसअघि पनि पञ्चायतका कालमा कांग्रेसका ‘अठतिसे समूह’ उदाएका थिए। परशुनारायण चौधरीलगायत ३८ जना नेताहरूले पार्टीभित्र छुट्टै विचारको वकालत गरेका थिए।

२०५१ सालमा आएर कांग्रेसभित्र यो गुटगत चलखेल झनै मौलाएर गएको देखिन्छ। ०५३ को महाधिवेशनमा कांग्रेस सभापति उम्मेदवारमा गिरिजाप्रसाद कोइरालालाई सघाएका देउवा त्यसपछि महाधिवेशनमा उनीविरुद्ध नै उभिए। ०५८ सालमा कांग्रेस त्यही गुट उपगुटका कारण विभाजनसमेत भएको थियो। ०६२/६३ को दोस्रो जनआन्दोलनपछि भने कांग्रेस एक भएको थियो। तर गुटगत राजनीति सकिएन। पार्टी एक भए पनि झनै आक्रामक तरिकाले खेमाहरू उदाउन थालेका छन्।

कांग्रेसबारे अध्ययन अनुसन्धान गरिरहेका विश्लेषक शंकर तिवारी पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास नराम्रो नभए पनि त्यसको विधि र प्रक्रियाबारे शीर्ष नेताहरू सचेत हुनुपर्ने बताउँछन्।

समानान्तर पार्टी गतिविधि गर्ने गरी छुटै कार्यालयसम्मको अभ्यासले पार्टीभित्रको धुव्रीकरण बढ्ने र नकारात्मक प्रभाव नपार्नेतिर चनाखो हुनुपर्ने उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved