किन पिथौरागढमै भइरहेछ नेपाल‑भारत सैन्य अभ्यास?

पिथौरागढमा हुँदै गरेको संयुक्त अभ्यासलाई नेपाली सेनाले तालिमको संज्ञा दिए पनि सुरक्षा मामिलाका जानकारहरू भने यसमा नेपाल चनाखो हुनुपर्ने बताइरहेका छन्।

नेपालभ्युज

किन पिथौरागढमै भइरहेछ नेपाल‑भारत सैन्य अभ्यास?

काठमाडौं । नेपाल र भारतका सेनाबीच भारतको पिथौरागढमा हुँदै गरेको संयुक्त अभ्यासलाई नेपाली सेनाले तालिमको संज्ञा दिएको छ। तालिम र अभ्यासमा फरक रहेको बताउँदै नेपाली सेनाले भारतमा दुई देशका सेनाबीच तालिम भएको प्रस्ट्याएको हो।

भारतीय सेनाबाट जारी गरिएको विज्ञप्तिमा संयुक्त अभ्यास भनिए पनि नेपाली सेनाले अभ्यास नभई संयुक्त तालिम भएको बताएको हो। “सैन्य भाषामा तालिम र अभ्यासको मतलब फरक हुन्छ”, नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल भन्छन्, “नेपाल-भारतका सैनिकबीच भारतमा भएको संयुक्त तालिम हो, अभ्यास होइन।”

नेपाल-भारत संयुक्त सैन्य अभ्यासको १५ औँ संस्करण ‘सूर्य किरण’ भारतको उत्तराखण्डस्थित पिथौरागढमा हुँदै छ। कोभिड महामारीका कारण लामो समयदेखि हुन नसकेको नेपाल-भारतबीचको संयुक्त सैन्य अभ्यास ४ असोजबाट शुरु भएको हो।

गत वर्षको २६ वैशाखमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले भर्चुअल माध्यमबाट तिब्बतको मानसरोबर जाने पिथौरागढ–लिपुलेक सडक उद्घाटन गरेका थिए। ८० किलोमिटर उक्त सडकले आफ्नो भूमि मिचेको आरोप नेपालले लगाउँदै आएको छ।

पिथौरागढमा नै तालिम आयोजना हुँदा गत वर्षको भारतीय कदमलाई नेपालले समर्थन गरेको सन्देश जानसक्ने भन्दै नेपाल यस विषयमा चनाखो हुनुपर्ने सुरक्षा मामिलाका जानकार बताउँछन्। “गत वर्षको आफ्नो कदमलाई उचित देखाउन पनि भारतले सैन्य अभ्यासका लागि पिथौरागढ नै छानेको हुनुसक्छ”, नेपाली सेनाका एक पूर्वजनरल भन्छन्,“यस्ता विषयमा रणनीतिक मुभ हुने सम्भावना हुँदा नेपाल चनाखो हुनुपर्छ।”

नेपाली सेनाका प्रवक्ता पौडेल भने सैन्य तालिमलाई विशुद्ध तालिमका रुपमा हेर्नुपर्ने विचार राख्छन्। तालिमको प्रकृतिअनुसार नै स्थान छनोट हुने उनी बताउँछन्। “यसअघिका तालिमहरू पनि पिथौरागढमा हुने गरेका कारण यो तालिमलार्ई रणनीतिक मुभ भन्नु उचित हुँदैन”, उनको तर्क छ। यसअघिका तालिम पनि पिथौरागढमा नै आयोजना हुने गरेको उनी बताउँछन्। नेपालले तालिमको आयोजना गर्दा बुटवलको सालझण्डीमा आयोजना गर्छ भने भारतले पिथौरागढमा आयोजना गर्ने सैन्य प्रवक्ता पौडेल भन्छन्।

सेनाका पूर्वजनरल भने लामो समयदेखि नेपाल भारतबीच सैन्य तालिम हुँदै आए पनि स्थान भने फरक–फरक हुने गरेको बताउँछन्। “पिथौरागढमा पनि तालिम हुने गरे पनि पिथौरागढमा मात्रै तालिम हुने गरेको भनाइ चै गतल हो”, उनी भन्छन्।

सैन्य अभ्यासको टुंगो लगाउन भदौको तेस्रो साता नेपाली सेनाको एक टोली भारत पुगेको थियो। त्यही भ्रमणपछि नै रोकिएको दुई देशबीचको सैन्य अभ्यास सुचारु गर्ने निर्णय भएको थियो।

१६ कात्तिक २०७६ मा भारतले आठौँ संस्करणको राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो। जम्मु कश्मीरलाई भारतको संविधानको धारा ३७० ले प्रदान गर्दै आएको विशेष अधिकार खारेजपछि भारतले जम्मु कश्मीरलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्दा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई पनि आफ्नो नयाँ नक्सामा समावेश गरेको थियो।

भारतले नक्सा सार्वजनिक गरेपछि वार्ताका लागि मितिसमेत तोकेर नेपालले बारम्बार गरेको पहलले मूर्त रूप लिएन। गत वर्ष २६ वैशाखमा रक्षामन्त्री सिंहको उपस्थितिमा भारतीय सेनाले तिब्बतको मानसरोबर जाने पिथौरागढ–लिपुलेक ८० किलोमिटर सडक उद्घाटन गरेको थियो।

भारतले कालापानी क्षेत्रमा बाटो उद्घाटन गरेलगत्तै नेपालले वैशाख २८ २०७७ मा सशत्र प्रहरी बललाई दार्चुलाको व्यास गाउँपालिका कालापानी नजिक गस्ती गर्ने जिम्मा दियो भने ६ जेठको मन्त्रिपरिषद् बैठकले छुटेको भूमिलाई नेपालको नक्सामा समावेश गर्ने ऐतिहासिक निर्णय गरेको थियो। त्यस्तै ३१ जेठमा बसेको प्रतिनिधिसभाको बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समावेश गरिसकेको छ।

फाइल तस्वीर : जी न्यूज  


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved