चन्द्रमा छुने चिनियाँ परीको कथा

यसरी राखियो चिनियाँ अन्तरिक्ष यानको नाम

चन्द्रमा छुने चिनियाँ परीको कथा

बेइजिङ। २ असोजदेखि नेपालमा इन्द्रजात्रा शुरु भयो। फूल चोर्न आउने स्वर्गका राजा इन्द्रलाई किसानले गिरफ्तार गरेको स्मृतिमा गरिने जात्रा हो यो। नेपालमा इन्द्रजात्रा शुरु भएको एकदुई दिनपछि चीनमा पनि ‘स्वर्ग’को पूजा शुरु भयो। चिनियाँ मान्यतामा स्वर्ग भने चन्द्रमा हो।

त्यही चन्द्रमा जसबारे पछिल्लो समय सबैभन्दा बढी अनुसन्धान गर्ने देश नै चीन भएको छ। अन्तरिक्षको खोज अनुसन्धानबाट चीनले हासिल गरेको उपलब्धिलाई लिएर उसको प्रतिस्पर्धी देश अमेरिकाले पनि प्रशंसा गरेको छ। सन् २०१९ को जनवरीमा पृथ्वीबाट नदेखिने चन्द्रमाको पछिल्लो भागमा चीनले अन्तरिक्ष यान अवतरण गरेपछि उसको प्रशंसा चुलिएको हो।

यसरी चन्द्रमा छुन पुग्ने चिनियाँ यान भने अरू कोही होइन, चिनियाँ परी हुन्। अँ, परी। र, उनको नाम हो– छाङअ।

चीनले चन्द्रमामा पठाएको यानको नाम हो छाङअ। उसले अहिलेसम्म छाङअ–१ देखि छाङअ–५ यान चन्द्रमा अन्वेषणमा पठाइसकेको छ। सन् २०२७ सम्म छाङअ–६, ७ र ८ लाई चन्द्रमामा अवतरण गराउने उद्देश्य छ चीनको।

आखिर को हुन् त छाङअ ?

उनलाई चिन्न तीन हजार वर्षभन्दा पहिलेदेखि अनवरत चल्दै आएको कथा पढ्नुपर्छ। पढौं है त !

कुनैबेला आकाशमा १० वटा सूर्य एकैचोटि उदाउँथे। तिनको तापले पृथ्वीमा कुनै पनि जीव बाँच्नै नसक्ने भए। सूर्यको प्रचण्ड तापलाई कम गर्ने विषयमा स्वर्गका भगवानहरू पनि सोचमग्न थिए। त्यही बेला एकजना साहसी व्यक्ति देखापरे। नाम थियो- ‘हौ यी’। उनी तीर हान्न निकै सिपालु थिए। उनले तीर हानेर नौवटा सूर्यलाई आकाशबाट खसाली दिए। आकाशमा एउटा मात्र सूर्य भएपछि पृथ्वीमा प्रचण्ड तापमान हरायो र सामान्य अवस्था सिर्जना भयो। तिनै हौ यीले अत्यन्त सुन्दरी छाङअसँग बिहे गरे।

हौ यीको तीरकलाबाट प्रभावित भएर स्वर्गकी रानीले अजम्बरी हुने खाद्य पदार्थ ‘बुटी’ दिइन्। त्यो बुटी खाएपछि जिउँदै स्वर्गमा उडेर जान सकिन्थ्यो र सदा अमर भएर स्वर्गमा बस्न पाइन्थ्यो। तर त्यसको एउटा शर्त थियो बुटीले एकजना व्यक्तिलाई मात्र अमर बनाउन सक्थ्यो। हौ यी आफ्नी श्रीमती छाङअलाई असाध्य प्रेम गर्थे। उनी चाहन्थे दुवैजना अमर बनौँ तर उक्त बुटीले एकजनालाई मात्र अमर बनाउन सक्थ्यो। त्यसैले हौ यीले बुटीलाई सुरक्षित राख्न छाङअलाई दिए।

हौ यीले सबैलाई तीर चलाउने कला सिकाउँथे। उनका थुप्रै शिष्य भए पनि उनीजत्तिकै निपुण चाहिँ कोही पनि थिएनन्। उनका शिष्यमध्ये फङमङले उक्त बुटी खाएर अमर हुने षड्यन्त्र बुन्यो। एकदिन हौ यीले आफ्ना सबै शिष्य लिएर जङ्गलमा तीर हान्न जाने योजना बनाएका थिए। उक्त दिन फङमङले आफूलाई सञ्चो नभएकाले जंगल जान नसक्ने बतायो र सबै गएपछि हौ यीको घरमा गएर अजम्बरीको बुटी चोर्ने बिचार गर्‍यो। उसले छाङअलाई धम्क्यायो र बुटी नदिएमा मारिदिने त्रास देखायो। छाङअले उसलाई बुटी दिनुभन्दा आफैँ खाने विचार गरिन् र क्वाप्पै खाइदिइन्।

बुटी खाएपछि छाङअ उडेर ‘स्वर्ग’ अर्थात् चन्द्रमामा पुगिन्। जङ्गलमा तीर हान्ने काम सकेर साँझ फर्केर आएपछि मात्र छाङअ उडेर चन्द्रमामा गएको हौ यीले थाहा पाए। उनी पत्नी वियोगको पीडामा परे। सधैँ चन्द्रमातिर हेरेर आफ्नी श्रीमती फर्केर आउने कल्पना गर्दथे उनी।

एकदिन हौ यीले छाङअलाई मन पर्ने परिकारहरू बनाएर टेबुलमा सजाएर राखे। त्यो दिन परम्परागत चिनियाँ पात्रोअनुसार आठौँ महिनाको १५ औँ दिन अर्थात् पूर्णिमाको साँझ थियो। त्यो दिन हौ यीलाई भेट्न छाङअ पृथ्वीको नजिकै आइन्। आफूलाई मन पर्ने परिकार देखेर खुशी भइन्।

नभन्दै हरेक महिना पूर्णिमा तिथि आए पनि परम्परागत चिनियाँ पात्रोअनुसार आठौँ महिनाको १५ औँ दिनको पूर्णिमामा चन्द्रमा सबैभन्दा चम्किलो र आकारमा सबैभन्दा ठूलो हुन्छ। यो दिन चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउँछ भन्ने गरिन्छ।

हौ यीलाई भेट्न छाङअ पृथ्वी नजिक आएको दिनको त्यही सम्झनामा चिनियाँहरू चन्द्रमा हेर्दै केक खान्छन्। यो समय शरद ऋतुको मध्यमा पर्ने भएकाले यसलाई मध्यशरद चाड पनि भनिन्छ।

एकातिर चन्द्रमा खोज अनुसन्धानमा चीनले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ भने अर्कातिर चन्द्रमालाई चीनमा स्वर्गको प्रतीक पनि मानिन्छ र पूजा गर्ने चलन पनि छ। हजारौँ वर्षदेखि चल्दै आएको मध्य शरद चाडलाई सन् २००६ को मे २० मा चीनले अभौतिक सांस्कृतिक सम्पदामा राखेको हो। त्यसको दुई वर्षपछि सन् २००८ देखि मध्यशरद चाडका अवसरमा चीनमा सार्वजनिक बिदा दिन थालियो।

परम्परागत चिनियाँ महिना औँशीबाट गणना हुन्छन्। यो वर्ष परम्परागत चिनियाँ पात्रोअनुसार २१ सेप्टेम्बर आठौँ महिनाको १५ औँ दिन हो। पन्ध्रौँ दिन भनेको पूर्णिमा पनि हो। यो चाडलाई चिनियाँ भाषामा चुङछुङच्ये भनिन्छ। चुङको अर्थ मध्य हो भने छुङको अर्थ शरद र च्ये भनेको चाड हो। यतिबेला चीनमा शरद ऋतुको मध्य पर्दछ।

यही २१ सेप्टेम्बरको साँझ हरेक चिनियाँ घरमा परिवार भेला भएर चन्द्रमा हेर्दै विशेष प्रकारको केक खाने चलन छ।

चिनियाँ भनाइअनुसार मध्यशरत चाडका दिन चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आइपुग्छ र सबैभन्दा बाटुलो पनि देखिन्छ। तसर्थ यो साँझ चिनियाँहरूले चन्द्रमा हेर्दै केक खान्छन्। नेपालीमा रोटी र केक फरक भए पनि यसलाई चिनियाँ भाषामा ‘युएपिङ’ भनिन्छ। ‘युए’ भनेको चन्द्रमा हो भने ‘पिङ’ भनेको रोटी।

तर अंग्रेजीमा चाहिँ ‘मुनकेक’ भनिएकाले रोटी र केक पर्याय बन्न गएका हुन्। तर्सथ यसलाई ‘मुनकेक फेस्टिभल’ पनि भनिन्छ। परापूर्वदेखि मनाइँदै आएको यो चाडलाई सातौँ शताब्दीमा चीनको थाङ राजवंशले राष्ट्रिय चाडका रुपमा मनाउन थालेको हो। यो चाड मनाउन टाढा पुगेका परिवारका सदस्यहरू एकै ठाउँ भेला हुनैपर्ने भएकाले यसलाई पारिवारिक पुनर्मिलनको चाडका रुपमा लिइन्छ।

यो चाड मनाउँदा चन्द्रमा हेर्नै पर्ने मान्यता छ। बरण्डा अथवा झ्यालको छेउमा गएर चन्द्रमा हेर्दै चिनियाँहरू केक खान्छन्। मुख्य रुपमा पिठोमा अण्डा र विभिन्न फलफूल मिसाएर बनाइने केकलाई बासनादार र स्वादिलो बनाउनका लागि विभिन्न फूलको रस मिसाउने गरिन्छ। मूलतः यो चाड मनाउनका लागि तीन वटा कुरा हुन अनिवार्य छ। पहिलो केक, दोस्रो चन्द्रमा देखिनु र तेस्रोमा पारिवारिक पुनर्मिलन।

पहिले पहिले घरमा गोलो ठूलो रोटी पकाएर परिवारका सदस्य बराबर भाग लगाएर चन्द्रमा हेर्दै खाने चलन थियो। मान्यता कति कडा थियो भने सो रोटीलाई भाग लगाउँदा परिवारका सदस्यभन्दा एक टुक्रा पनि घटीबढी बनाउन पाइँदैनथ्यो। हिजोआज बनिबनाउ केक बजारमा छ्यापछ्याप्ती किन्न पाइने भएपछि चिनियाँहरू घरमा बनाउँदैनन्। सानो संख्यामा रहेका परिवारका सदस्यभन्दा बजारबाट किनिएका बट्टामा रहेका केकको संख्या पक्कै पनि बढी हुन्छ।

त्यसमाथि साथीहरूबाट यो समयमा पाउने उपहार पनि यही केकका बट्टाहरू नै हुन्। त्यतिमात्र होइन आफूले काम गर्ने ठाउँबाट पनि उपहारका रुपमा केकका बट्टाहरू ओसारिरहेका हुन्छन् चिनियाँहरू।

चिनियाँ वैज्ञासकले सन् २००७ देखि चन्द्रमा अन्वेषण शुरु गरेका हुन्। उनीहरूले चन्द्रमा अन्वेषणका लागि पठाइने यानको नाम नै ‘छाङअ’ राखे जुन श्रुतिपरम्परा अनुसार एउटी काल्पनी परीको नाम हो।

वैज्ञानिक पक्ष र परम्पारगत सांस्कृतिक पक्षलाई गजब्बसँग चीनले उत्तिकै महत्व दिएको नमूना हो ‘छाङअ’ अभियान।

One thought on “चन्द्रमा छुने चिनियाँ परीको कथा

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved