काठमाडौं। आज (सेप्टेम्बर २१) विश्व अल्जाइमर्स दिवस। ‘विस्मृतिलाई चिनौं, अल्जाइमर्स जानौं’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदै छ।
नेपालमा तीन वर्षदेखि संघ, प्रदेश र स्थानीय तहलाई विश्व अल्जाइमर्स दिवस मनाउन संघ सरकारले १० हजार रुपैयाँ बजेट छुट्याइदिँदै आएको छ।
विश्व स्वास्थ्य संगठनका (डब्लूएचओ) तथ्यांकअनुसार विश्वभर बर्सेनि पाँच करोड ५० लाख ज्येष्ठ नागरिक अल्जाइमर्स रोगबाट प्रभावित हुने गरेका छन्। सन् २०३० सम्म अल्जाइमर्सबाट सात करोड ज्येष्ठ नागरिक प्रभावित बन्न सक्ने डब्लूएचओको अनुमान छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलका अनुसार यो एक किसिमको स्मृतिमा ह्रास ल्याउने रोग हो। उनका अनुसार विशेषगरी स्मरण शक्ति, सोच, बोध, गणना, सिक्न सक्ने र सिकाउन सक्ने क्षमतामा यसले गम्भीर असर पार्ने गर्छ। “अल्जाइमर्स एक किसिमको मस्तिष्कको रोग पनि हो,” उनले भने।
नेपालमा अल्जाइमर्स रोगबाट के कति प्रभावित भएका छन् त्यसको तथ्यांक भने तयार भइनसकेको डा पौडेलले बताए। तर उनका अनुसार सन् २०१५ मा ७८ हजार जनामा यो रोग देखिएको अनुमान गरिएको थियो। प्रत्येक २० वर्षमा यो संख्या दोब्बर हुँदै जान सक्ने पनि उनले बताए।
१ चैत २०७६ मा मृत्यु भएका साहित्यकार प्राडा डीपी भण्डारी पनि लामो समयदेखि अल्जाइमर्सबाट ग्रसित थिए। त्यस्तै वरिष्ठ साहित्यकार तथा लेखक डा.बानीरा गिरी पनि झण्डै तीन वर्षदेखि यसबाट पीडित थिइन्। यही रोगबाट ७५ वर्षको उमेरमा ९ जेठ ०७८ मा बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा गिरीको मृत्यु भएको थियो।
ज्येष्ठ नागरिहरूमा देखिने यो रोगलाई नेपाल सरकारले आर्थिक सहायता पाइने दीर्घरोगको सूचीमा राखेको छ। “सरकारले आठ प्रकारको रोगहरूलाई सामाजिक सुरक्षा कोषअन्तर्गत निःशुल्क उपचार सेवा भनेर छुट्याएको छ, जसमा अल्जाइमर्स पनि पर्छ,” उनले जानकारी दिए।
के हो अल्जाइमर्स रोग?
ज्येष्ठ नागरिहरूमा विस्मृति अर्थात् बिर्सने समस्यालाई जोडेर दैनिक गर्ने कामकाजहरू, सामान्य सरसफाइ वा दैनिकी नै भुल्दै जानुलाई नै अल्जाइमर्स भनिने मनोचिकित्सक डा.बासुदेव कार्कीले बताए। यस रोगलाई समग्रमा डिमेन्सिया पनि भनिने उनले बताए।
“डिमेन्सियाको प्रमुख कारण भनेको अल्जाइमर्स हो,” उनले भने, “प्रायः यो रोग ६५ वर्षमाथिका उमेर समूहमा देखिने गर्छ। यो एक प्रकारको उमेर बढ्दै जाँदा देखिने समस्या पनि हो।”
लक्षण
धेरै व्यक्तिहरू यो रोगबारे जानकार हुन सके भने समयमै रोगको उचित व्यवस्थापन गर्न सकिने डा कार्कीले बताए।
स्मरण शक्तिमा कमी आउनु,
आफू को हो भनेर पनि चिन्न नसक्नु,
घरपरिवारका सदस्य पनि नचिन्नु,
दैनिकी बिर्सँदै जानु,
खानेकुराहरूको नाम पनि भुल्नु,
कपडा लगाउने, खोलने जस्था कार्यहरू भुल्नु,
साँझ र बिहान के हो भनेर छुट्याउन नसक्नु,
शंका उतपन्न हुनु,
निद्रा नआउनु,
बिस्तारै दिसापिसाब शरीरमै हुनु,
उपचार विधि
“समुदायमा अझै पनि यस रोगबारे जनचेतना फैलिसकेको पाइँदैन,” उनले भने, “उपचार विधि खोज्नुभन्दा पहिला यस रोगबारे आम नागरिक र स्वास्थ्यकर्मी समेत जानकार हुन धेरै आवश्यक छ।”
सबैले यो रोगबारे थाहा पाउन सके भने मात्र उपचार सम्भव हुने उनको भनाइ छ। डा.कार्कीका अनुसार यो रोग वयस्क उमेरमा पनि हुन सक्छ भन्ने भ्रम धेरैमा छ। तर यो रोग ज्येष्ठ नागरिकहरूमा मात्र हुने गर्छ, कहिलेकाहीँ भने कम संख्यामा ६० वर्षका उमेरका मानिसमा पनि यो रोग देखिएको छ।
उनी भन्छन्, ‘‘यो दीर्घ रोग भएकाले सञ्चो हुने भन्ने हुँदैन, तर समयमै औषधि गरे यसबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण गरी बिरामीको दैनिकीलाई सहज गराउन भने सकिन्छ।”
यो दिमागसम्बन्धी रोग भएकाले यसले मानसिक समस्यालाई पनि निम्त्याउन सक्ने उनले बताए। शंका गर्ने, आक्रोश , खानपान, अनिद्रा, एन्जाइटीजस्ता लक्षणहरू देखिने भएकाले यो मानसिक स्वास्थ्यमा पनि पर्ने उनले दाबी गरे।
परिवारको भूमिका कस्तो ?
“परिवारका कुनै पनि ज्येष्ठ नागरिकलाई अल्जाइमर्सबारे जानकारी गराउनु जरुरी हुन्छ,” डा कार्की सल्लाह दिन्छन्, “लक्षण देखा पर्नेबित्तिकै बिरामीलाई उपचारका लागि विशेषज्ञकहाँ लैजानुपर्छ।”
Facebook Comment
Comment