कांग्रेस १४ औँ महाधिवेशन

रोकिएका सात जिल्लामा वडा अधिवेशन हुँदै

कांग्रेसले रोकिएका २० जिल्लाको वडा अधिवेशन ५ असोज अर्थात आज एकैदिन हुने गरी कार्यतालिका निर्धारण गरेको थियो ।

नेपालभ्युज

रोकिएका सात जिल्लामा वडा अधिवेशन हुँदै

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा रोकिएको वडा अधिवेशन आज हुँदैछ। वडा अधिवेशन रोकिएका २० जिल्लामध्ये आज सात जिल्लामा अधिवेशन हुँदैछ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुँदैछ। २० मध्ये सात जिल्लामा आज वडा अधिवेशन हुन लागेको समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

कांग्रेसले रोकिएका २० जिल्लाको वडा अधिवेशन ५ असोज अर्थात आज एकैदिन हुने गरी कार्यतालिका निर्धारण गरेको थियो । बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण समयमै समितिलाई प्राप्त हुन नसकेका कारण ती जिल्लामा भने वडा अधिवेशन निर्धारित समयमा हुन नसकेको हो ।

कांग्रेसले यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि शुरु भएको हो ।

निर्वाचन समितिले वडा अधिवेशन बाँकी रहेका प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण प्राप्त भएसँगै समय तोकेर अधिवेशन हुँदै जाने जनाएको छ।

करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।

कांग्रेसले महाधिवेशनअन्तर्गत गाउँ/नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ ।

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved