चीनको बधाई एक दिन ढिलो किन आयो ?

“नेपालको राष्ट्रिय दिवस भन्दै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवालाई बधाई सन्देश पठाए पनि नेपाली दूतावासको त्रुटिका कारण ढिला भएको हो”

चीनको बधाई एक दिन ढिलो किन आयो ?

बेइजिङ। नेपालले संविधान दिवस मनाएको एक दिन पछि चीनले नेपाललाई बधाई दिएको छ। नेपालले ३ असोजको संविधान दिवसलाई नै राष्ट्रिय दिवस मनाउने गरेको छ।

चीनले असोज ४ गते सोमबार मात्र नेपालको राष्ट्रिय दिवस भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई सन्देश पठाएको हो। सामान्यतः चीनले यस प्रकारका बधाई सन्देश सोही दिन दिने गर्छ। तर यसपटक एक दिनपछि ४ असोजमा मात्रै पठायो। किन ? बेइजिङस्थित स्रोतका अनुसार नेपाली दूतावासले गरेको त्रुटिका कारण ढिलो हुन गएको हो।

स्रोत भन्छ, “दूतावासले सोमबार मात्र राष्ट्रिय दिवस मनाउँदै रात्रिभोजको आयोजना गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयमा दूतावासले सोमबार राष्ट्रिय दिवसका अवसरमा रात्रिभोज कार्यक्रम राखिएको जानकारी दिँदा चिनियाँ परराष्ट्र मन्त्रालयले सोमबार नै नेपालको राष्ट्रिय दिवस ठानेको हुन सक्छ।”

चिनियाँ नेताको बधाई सन्देश चिनियाँ परराष्ट्र मन्त्रालयले तयार गर्ने गर्दछ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाएको बधाई सन्देशमा भनिएको छ, “नेपालको राष्ट्रिय दिवसका उपलक्ष्यमा म व्यक्तिगत तर्फबाट तथा चीन राष्ट्र र चिनियाँ जनताको तर्फबाट तपाईं र सम्पूर्ण नेपाली जनतालाई बधाई दिन चाहन्छु।”

चीन र नेपाल युगौँदेखि मित्र रहेको उल्लेख गर्दै बधाई सन्देशमा चिनियाँ राष्ट्रपति सीले भनेका छन्, “चीन र नेपाल आपसमा विकास र समृद्धि उन्मुख युगौं युगदेखिका मित्र हुन् र रणनीतिक सहयोगात्मक साझेदारी पनि हुन्। दुवै राष्ट्रले केन्द्रीय हितसम्बन्धी मामिलामा एकअर्काको दृढताका साथ समर्थन गर्दै आएका छन्।”

विगत एक वर्षमा चीन र नेपाल दुई मुलुकका जनताले हातमा हात मिलाएर कोरोना महामारीको प्रतिरोध गरी ‘बीआरआई’ सम्बन्धी सहयोगलाई अटलताका साथ अघि बढाएर चीन-नेपाल परम्परागत मित्रतामा प्रेरक शक्ति थपेको पनि उनले बधाई सन्देशमा प्रकट गरेका छन्।

चीन-नेपाल सम्बन्धको विकासलाई आफूले उच्च महत्व दिएको र नेपालसँग मिलेर दुई देश बीचको सम्बन्धलाई निरन्तर रूपमा नयाँ स्तरमा पुर्‍याउन र दुई देश तथा दुई देशका जनतालाई हित पुर्‍याउन प्रयास गर्ने आफ्नो इच्छा चिनियाँ राष्ट्रपति सीले आफ्नो बधाई सन्देशमा व्यक्त गरेका छन्।

यसैगरी चिनियाँ प्रधानमन्त्री ली ख छ्याङले पनि सोमबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई सन्देश पठाएका छन्। आफ्नो बधाई सन्देशमा प्रधानमन्त्री लीले चीन र नेपाल परम्परागत मैत्रीपूर्ण असल छिमेकी मुलुक रहेको उल्लेख गर्दै कोरोना महामारी देखा परेपछि चीन र नेपालले एक अर्कालाई सहयोग गरी सँगै मिलेर कठिन घडीको सामना गरेको उल्लेख गरेका छन्। कोरोना महामारी नियन्त्रण कार्यमा दुई देश बीचको मित्रताले नयाँ अध्याय लेखेका पनि उनले आफ्नो बधाई सन्देशमा व्यक्त गरेका छन्।

नेपालसँगै मिलेर कोरोना महामारीको प्रतिरोध गर्दै ‘बीआरआई’ को संयुक्त निर्माण गर्न, विभिन्न क्षेत्रमा रहेका आदान-प्रदान बढाउन र आफसी सहयोगलाई विस्तार गर्दै चीन-नेपाल रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई निरन्तर विकास गराउँदै अगाडि बढ्न चीन इच्छुक रहेको प्रधानमन्त्री लीले आफ्नो बधाई सन्देशमा व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved