रुस निर्वाचन

विजय मार्गमा पुटिनको पार्टी, आयोगद्वारा धाँधली भएको अस्वीकार

हालसम्म आएको आंशिक निर्वाचन परिणाम अनुसार पुटिनको दलले संसद्मा आफ्नो बहुमत कायम गर्ने देखिएको छ । यद्यपी, उनको पार्टी सन् २०१६ को तुलनामा केही पछि पर्ने भने देखिन्छ ।

नेपालभ्युज

विजय मार्गमा पुटिनको पार्टी, आयोगद्वारा धाँधली भएको अस्वीकार

एजेन्सी। रुसमा भएको प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिन नेतृत्वको ‘युनाइटेड रसिया’ दलले बहुमत ल्याउने देखिएको छ । निर्वाचनमा धाँधली भएको आरोपबीच मतगणना हुँदै गर्दा पुटिन नेतृत्वको दल अग्रस्थानमा देखिएको हो ।

निर्वाचनका क्रममा अत्याधिक फर्जी मत परेको समाचारहरु बाहिरिएपछि रसियाको निर्वाचन अयोगले त्यस्तो दाबीलाई अस्वीकार गरेको छ । आयोगले दिएको जानकारी अनुसार यो समाचार तयार गर्दासम्म करीब ६४ प्रतिशत मत गणना हुँदा युनाइटेड रसियाले गणना भएको मध्ये ४८ प्रतिशत मत ल्याएको छ । ४५० सांसदका लागि भएको निर्वाचनमा १४ पार्टी सहभागी थिए ।

निर्वाचनको प्रारम्भिक मतपरिणाम आउँदै गर्दा सत्तारुढ दलले अत्याधिक मतसहित निर्वाचनमा विजयी हुने आँकलन गर्न थालिएको छ । चुनावअघि पुटिनको पार्टीको लोकप्रियता पहिलेको तुलनामा खस्किएको अनुमान गरिएको थियो । विभिन्न घटनाक्रममका बीच सत्तारुढ दल एवं राष्ट्रपति पुटिनका आलोचक एलेक्सी नाभाल्नीलाई गत जनवरीमा जेल सजाय दिइएको थियो ।

निर्वाचनपछि गरिएको एक सर्वेक्षण अनुसार सत्तारुढ पार्टीले कुल मतमध्य ४५ प्रतिशत मात्रै जित्ने अनुमान गरिएको थियो । इनसोमार नामक संस्थाले गरेको उक्त सर्वेक्षणलाई रसियाका मिडियाले प्रकाशित गरेका थिए।

आइतबारको मतगणना सकिएको केही घण्टामा नै राष्ट्रपति पुटिनको पार्टीले आफू विजयी भएको दाबी गरेको थियो । राष्ट्रिय टेलिभिजनबाट प्रसारित एक कार्यक्रममा युनाइटेड रसिया दलका एक अधिकारी आद्रेई तुर्चकले मस्कोका सडकमा जम्मा भएका दलका समर्थकमाझ विजयको खुशी साटेका थिए। त्यसक्रममा उनले आफ्नो पार्टीले स्वच्छ हिसाबमा निर्वाचन जितेको दाबी गरे ।

हालसम्म आएको आंशिक निर्वाचन परिणाम अनुसार पुटिनको दलले संसद्मा आफ्नो बहुमत कायम गर्ने देखिएको छ । यद्यपी, उनको पार्टी सन् २०१६ को तुलनामा केही पछि पर्ने भने देखिन्छ । उनको पार्टीले यसअघिको निर्वाचनमा कुल मतको ५४ प्रतिशत ल्याएको थियो ।

सरकारका प्रमुख आलोचक एलेक्सी नाभाल्नीले पुटिन सरकारले दैनिक जीवनस्तर महंगो बनाएको र भ्रष्टचारमा लिप्त रहेको आरोप जेलभित्रैबाट लगाउँदै आएका छन् । पुटिनको पार्टीले निर्वाचनमा आशातीत प्रर्दशन गर्न नसक्नुलाई नाभाल्नीको आलोचना प्रमुख कारण भएको अनुमान गरिएको छ ।

तर, पुटिनलाई त्यहाँका जनताले रसियाको गौरव र पश्चिमा शक्तिका विरुद्ध खडा हुन सक्ने नेताका रुपमा प्रशंसा गर्ने गरेका छन् । युनाइटेड रसिया पार्टीको स्थापना राष्ट्रपति पुटिनले सन् २००० मा गरेका थिए । रसियाको प्रमुख संसदीय शक्तिका रुपमा पार्टीलाई उभ्याउने लक्ष्यसहित पुटिनले पार्टीको स्थापना गरेका थिए ।

पश्चिमालाई आरोप
लामो समयसम्म चलेको रसियाको निर्वाचन सम्पन्न भए पनि निर्वाचन स्वच्छ भएकोमा भने शंका व्यक्त गरिएको छ । निर्वाचनमा प्रतिस्पर्धामा उत्रन सक्ने विपक्षी दलका प्रभावशाली नेतालाई जेलमा राखेर गरिएको निर्वाचनलाई स्वच्छ मान्न नसकिने आलोचकहरुले बताउँदै आएका छन्।

कोभिड–१९ का कारण निर्वाचन तीन दिनसम्म चलेको थियो । तर, आलोचकहरुले तीन दिनसम्म सञ्चालन भएको निर्वाचन पारदर्शी नभएको भन्दै निर्वाचनमा धाँधली भएकोसहित विभिन्न आरोप लगाएका हुन् ।

तर, निर्वाचन आयोगले भने ती आलोचना पूर्वनिर्धारित रहेको प्रतिक्रिया दिएको छ । ‘विदेशीको आर्थिक सहयोगमा निर्वाचनका विषयमा योजनाबद्ध हिसाबमा क्याम्पेन नै चलाएर आलोचना भएको छ’, आयोगले भनेको छ ।

मस्कोका कुनै पनि गतिविधिमा प्रश्न उठ्दा पश्चिमा देशतर्फ औँला उठाउँदै षड्यन्त्रको संज्ञा दिने गरेको पाइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved