विद्यालय सञ्चालनमा अन्योलता : कतै खुले, कतै बन्दै

विद्यालय सञ्चालनमा अन्योलता : कतै खुले, कतै बन्दै

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले ३१ भदौमा स्मार्ट लकडाउनभित्र रहेर विद्यालय सञ्चालनको अनुमति दियो।

सराेकारवाला निकायले स्थानीय तहमा विद्यालय संचालनको विवरण तथा ढाँचा तयार गरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)काे समन्वयमा विद्यालयहरू संचालन गर्न सीडीओ कार्यालयले अनुमति दिएको थियो।

यसैगरी शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन संचालक लगायतले खाेप लगाएपछि पालिकाकाे अनुमतिमा विद्यालय सञ्चालन गर्न सक्ने व्यवस्था सीडीओ कार्यालयले गरेको थियो। तर सीडीओ कार्यालयको विद्यालय नखोल्ने तर खोल्नै परे स्मार्ट लकडाउनअनुरुप खोल्न पाइने भन्ने निर्णयले विद्यालय सञ्चालनमा झनै अन्योलता थपियो।

शुक्रबारदेखि केही विद्यालय खुलेपनि समन्वयको अभावका कारण केही विद्यालय भने पठनपाठन गराउने-नगराउनेमा अझैँ अन्योल छन्। स्थानीय निकाय, सीडीओ कार्यालय र सीसीएमसीबीच समन्वयको अभावका कारण असोजदेखि भौतिक उपस्थितिमा सञ्चालन गर्न तयार भएका विद्यालय शैक्षिक संस्थाहरू अन्योलमा परेका हुन्।

टोखा नगरपालिकाका शिक्षा शाखा अधिकृत बाबुराम गौतमले नगरभित्र विद्यालय सञ्चालन गरिएकाे जानकारी दिए। ‘‘पुर्ण रूपमा विद्यालय खोल्न लागिएको होइन सिफ्टअनुसार खोल्न निर्देशन दिएका छौं,’’ उनले भने, ‘‘विद्यालय कसरी सञ्चालन गर्ने भन्ने निर्णयकाे जिम्मेवारी विद्यालय व्यवस्थापन समितिलाई दिएका छौँ।’’

चन्द्रागिरीस्थित प्रभात माध्यामिक विद्यालयका प्रध्यानाध्यापक गोविन्दप्रसाद रुपाखेतीले पालिकाले विद्यालय सञ्चालनको अनुमति दिएपनि सीडीओ कार्यालयको सुचनाले अन्योलता थपेको बताए। सीडीओ कार्यालयले विद्यालय खोल्ने विषयमा द्धिअर्थी निर्णय गरेपछि आफूहरू अन्योल भएको उनले बताए। ‘‘सराेकारवाला निकायबीच समन्वय नहुँदा अन्योलता थपिएको छ,’’ उनले भने, ‘‘हाल अनलाइन कक्षा सञ्चालन गरिरहेका छौँ, अनुमति पाए कक्षा १२ को परीक्षापछि आगामी असोज ८ गतेपछि विद्यालय सञ्चालन गर्ने कि भनेर व्यवस्थापन समितिसँग छलफल गरिरहेका छौँ।’’

बुढानिलकण्ठस्थित प्रशान्ति स्कुलकी प्रध्यानाध्यापक बबिना पखालीले पूर्व प्राथमिक तहका विद्यार्थीलाई विद्यालयमा बोलाएर पठनपाठन शुरु गरिएको जानकारी दिइन्। ‘‘अन्य तहका विद्यार्थीलाई अनलाइन कक्षा नै सञ्चालन गरिरहेका छौं,’’ उनले भनिन्, ‘‘पूर्वप्राथमिक तहका विद्यार्थीलाई अनलाइनमा सिकाउन असहज भएका कारण विद्यालय नै अध्यापन गराउन सुरु गरेका छौं।’’

काठमाडौं महानगरपालिकाले भने हालसम्म विद्यालय खोल्नेबारे निर्णय गरेको छैन। आगामी सोमबार विद्यालय सञ्चालनको विषयमा छलफल गर्न महानगरपालिका अन्तर्गत शिक्षा समितिको बैठक बस्दैछ।

यता त्रिभुवन विश्वविद्यालयले भने आफू मातहतका कलेजलाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशित गरिसकेको छ। टियु रजिष्टारको कार्यालयले भदौ ३१ गते नै भौतिक उपस्थितिमा स्वास्थ्य मापदण्ड अपनाएर कक्षा सञ्चालनका लागि सूचित गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved