आँखाको पर्दा उक्किने ‘रेटिनल डिट्याचमेन्ट’ के हो? कसरी बच्ने?

‘‘धेरै जस्तो बिरामी आँखा नदेख्ने भएपछि मात्रै अस्पताल आउने गरेकोमा शुरुवाती लक्षण देखिने बित्तिकै तुरुन्तै अस्पताल पुगे भविष्यमा हुनसक्ने जोखिमबाट बच्न सकिन्छ।”

आँखाको पर्दा उक्किने ‘रेटिनल डिट्याचमेन्ट’ के हो? कसरी बच्ने?

काठमाडौं। आँखाको भित्री भागमा स्नायु तन्तुले बनेको सानो झिल्ली आँखाको पर्दा हो, यसलाई रेटिना पनि भनिन्छ।

यो बाह्य प्रकाश वा दृश्य हेर्नका लागि आवश्यक आँखाको अत्यन्त संवेदनशील भाग हो। यसलाई हामी खुला आँखाले देख्न सक्दैनौं। रेटिनालाई क्यामेराको लेन्ससँग तुलना गर्न सकिन्छ, जसले बाह्य प्रकाशलाई हाम्रो दिमागसम्म पुर्याउँछ।

रेटिनल डिट्याचमेन्ट के हो?

आँँखाको पर्दा उक्किने समस्या भनेको नशा र पिगमेन्टले बनेको भाग बीचबाट छुट्टिने प्रक्रिया हो ।

किन हुन्छ?

अन्तिम अवस्थाको मधुमेह, उच्च रक्तचाप, रगतका नशा बन्द हुनु आदि कारणले यस्तो समस्या देखिन सक्छ। समय अगावै जन्मेका शिशु, आँखाभित्रको संक्रमण, आँखाको ट्युमर, रेटिनोप्याथी आदिका कारण रेटिनल डिट्याचमेन्ट हुनसक्छ। यसैगरी, मिर्गौलामा समस्या भएका बिरामीको आँखाको पर्दामा पानी जम्दा यस्तो समस्या हुन सक्छ।

रेटिनल डिट्याचमेन्टका लक्षणहरू के हुन्?

रेटिनल डिट्याचमेन्ट हुँदा शुरुवाती चरणमा उज्यालोबाट अध्यारोमा जाँदा आँखामा झिल्का आए जस्तो हुन्छ। आँखाको कुनै एक भाग छोपिए जस्तो महशुस हुने जस्ता लक्षण देखिन्छन्। यसको मुख्य लक्षण भनेको आँखा नदेख्नु नै हो। धेरै जस्तो बिरामी आँखा नदेख्ने भएपछि मात्रै अस्पताल आउने गरेकोमा शुरुवाती लक्षण देखिने बित्तिकै तुरुन्तै अस्पताल पुगे भविष्यमा हुनसक्ने जोखिमबाट बच्न सकिन्छ।

कस्ता व्यक्तिलाई बढी जोखिम हुन्छ?

मधुमेहको अन्तिम अवस्थाका बिरामीमा यसको जोखिम अत्यधिक हुन्छ। मधुमेहले बिस्तारै पर्दा तन्किएर आँखाको दृष्टि बिग्रिदै जान्छ। आँखाको पर्दा च्यात्तिएर यस्तो समस्या देखिने जोखिम मायोपिया (माइनस पावर)को चश्मा लगाउनेलाई पनि उच्च हुन्छ। मायोपिया हुदाँ पर्दा पातलिने, प्वाल पर्ने र च्यातिने हुनसक्छ ।

उमेर बढ्दै जाँदा आँखामा परिर्वतन आउने भएकाले विशेषगरी ६० वर्ष नाघेपछि पर्दा छुट्टिने र उक्किने समस्या देखिने सम्भावना हुन्छ।

केहीमा जन्मजात पनि यस्तो समस्या देखिनसक्ने र जन्मपछि पनि केहीमा बाल्यकालमै पर्दा कमजोर हुने समस्या देखिन्छ। आँखामा चोटपटक लाग्दा पनि पर्दा च्यात्तिन सक्छ। डाउन सिन्ड्रोम भएका व्यक्तिको आँखामा कमजोरी भएको पाइन्छ।

बच्ने कसरी?

आँखाको पर्दा उक्किने समस्या एकदमै जटिल समस्या हो। यसको समयमा नै उपचार नगरे दृष्टिमा समस्या देखिन्छ। दृष्टिमै समस्या देखिए उपचार हुँदैन। जसकारण आँखाको रेटिना बचाएर राख्नुपर्छ।

माइनस पावरको चश्मा लगाउने व्यक्तिले चस्माको पावर मात्र नभई आँखाको रेटिना पनि परीक्षण गर्नपर्छ। यसले गर्दा आँखाको कमजोर एवं प्वाँल परेको भए त्यस्तो भाग पत्ता लाग्छ र समस्याको प्रकृति अनुसार वरिपरि लेजर गरे पर्दा उक्किन पाउँदैन।

त्यस्तै, रेटिनामा समस्या भएका व्यक्तिले आँखाको परीक्षण गराइ समस्या देखिएमा समयमै लेजर गर्नुपर्छ। आँखामा चोटपटक लागेपछि समयमै आँखा परीक्षण गराएर आँखाको पर्दा उक्किनबाट रोक्न सकिन्छ।

मधुमेह, उच्च रक्तचाप जस्तो समस्या भएका व्यक्तिले रोग पत्ता लाग्ने बित्तिकै नियमित रुपमा वर्षमा कम्तिमा एकपटक आँखा परीक्षण गर्नु आवश्यक हुन्छ। समय अगावै जन्मिएका बच्चाको मासिक रुपमा आँखा परीक्षण गराउने, ६० वर्ष नाघेका व्यक्तिमा आँखा वरिपरि छायाा जस्तो झिल्का देखिए उपचार गराउने आदि गर्दा यस्तो समस्याबाट बच्न सकिन्छ।

रेटिनल डिट्याचमेन्ट देखिए के गर्ने?

रोगको गम्भीरताअनुसार उपचार कसरी गर्ने भन्ने थाहा पाउन सकिन्छ। धेरैेजसो अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ। पर्दा च्यातिएको छ तर थोरै मात्र उक्किएको छ भने त्यो शुरुवाती चरण हो। यस्तो भएमा लेजर थेरापीको माध्यमबाट उपचार गर्न सकिन्छ। त्यस्तै, चिसोले सेकेर पनि उपचार गर्न सकिन्छ ।

पर्दाको माथिल्लो भाग खुम्चिएको र च्यातिएको भाग ठुलो छैन भने बिशेष खालको ग्यास राखेर लेजर थेरापीबाट उपचार गर्न सकिन्छ ।

बिरामी ढिला आउँदा पर्दाको धेरै भाग उक्किसकेको हुनाले समस्या देखिएमा अस्पताल पुग्न ढिलाइ गर्नुहुन्न। यस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुन्छ। पर्दा उक्एिर धेरै नै खुम्चिएको छ भने आँखाको शल्यक्रियासँगै बाहिरबाट ब्याण्ड पनि गरिन्छ।

उपचारका लागि समयमै अस्पताल पुगे सजिलोसँग सफल उपचार गर्न सकिन्छ, ढिला भए उपचार जटिल हुन्छ ।

आँखा धमिलो हुने बित्तिकै मोतीबिन्दु हो भन्ने ठान्नु हुँदैन, सबै किसिमको धमिलोपन मोतिबिन्दु होइन। तर समस्या देखिनेबित्तिकै परामर्श गरी आवश्यक उपचार भने गर्नुपर्छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved