झोलाभरि पैसा बोकेर लगे पनि पाइँदैनन् गाडी

दशैंमा नयाँ गाडी किन्न खोज्नेले तिहारसम्मै नपाउने

कोभिडपछि पलायन हुनुपर्ने हो कि भनेर चिन्तित व्यवसायीसँग झोलाभरी पैसा बोकेर आउने ग्राहकलाई बेच्नका लागि पनि गाडी छैनन्।

नेपालभ्युज

झोलाभरि पैसा बोकेर लगे पनि पाइँदैनन् गाडी

काठमाडौं। दशैंको बेला आकर्षक उपहारका झिलिमिली विज्ञापनसहित चिल्ला कार सजाएको देखिने गाडीका शोरुम यस वर्ष रित्ता देखिन्छन्। कोभिडपछि पलायन हुनुपर्ने हो कि भनेर चिन्तित व्यवसायीसँग झोलाभरि पैसा बोकेर आउने ग्राहकलाई बेच्नका लागि पनि गाडी छैनन्।

माग ह्वात्तै बढेपछि प्राय गाडी बिक्री भइसकेका छन् भने दसैँमा गाडी खरिद गर्न चाहनेले तिहारसम्म पनि गाडी नपाउने अवस्था सिर्जना भएको व्यवसायीहरू बताउँछन्। ‘‘शोरुम खालि छ बुकिङ मात्रै लिन सक्ने अवस्थामा छौँ,’’ नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका सचिव समेत रहेका नारायणी अटो बिजनेस कम्पनीका सञ्चालक अनुप कुमार बरालले भने, ‘‘छठसम्म उपलब्ध गराउन सकिन्छ कि!’’ अत्यधिक माग भएकाले तिहारसम्मका लागि भने गाडी बुकिङ भइसकेको जानकारी उनले दिए।

नेपालमा प्रायले बैंक किस्तामै गाडी किन्ने गरेका छन्। तर यस गाडी नपाउने अवस्था आएपछि झोला भरेर पैसा दिन तयार ग्राहकहरू पनि शोरुमसम्म पुग्ने गरेका छन्। तथापि, उनीहरूले पनि तत्काल गाडी नपाउने बराल बताउँछन्। ‘‘पैसै दिएर गाडी किन्न चाहनेलाई बुकिङ भएका गाडी दिन मिल्दैन,’’ उनले भने, ‘‘अहिले छिटपुट रुपमा पूरा पैसा तिरेर गाडी किन्न चाहनेहरू पनि आउने गरेका छन्।’’ तर तिहारसम्मका लागि गाडी बुकिङ भैसकेकाले छठ अगाडि गाडी उपलब्ध गराउने अवस्था नभएको उनले बताए।

अघिल्ला वर्षहरूमा विभिन्न छुट र उपहारको व्यवस्था गरेर बैंक किस्तामा गाडी बिक्रीका लागि व्यवसायीले अनेकन टिकडम लगाउनु पथ्र्यो। नयाँ वर्षसँगैं व्यवसायीले नयाँ गाडी भित्र्याउन शुरु गर्थे र भदौमा नाडा अटो शोमा गाडी प्रदर्शन गरी बुकिङ खुला गर्नुपथ्र्यो। ती गाडीलाई दशैंसम्म डेलिभरि गर्ने रणनीति व्यवसायीको हुन्थ्यो।
तर कोभिडका कारण गत वर्षदेखि प्रदर्शनी मेला हुन पाएको भने छैन। यद्दपि, नाडा अटो शो नहुँदै पनि कोभिडपछि समग्र व्यवसायी प्रभावित भएपनि अटोमोबाइल व्यवसाय भने झनै फस्टाउँदै गएको छ।

रेनोको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्सका प्रवन्ध निर्देशक कैलाश बाबु गेलालले भदौमै सबै गाडी बिक्री भएको बताए। ‘‘उत्पादन नै घटेकाले मागअनुसार कम्पनीले गाडी दिन सकेको छैन,’’ उनले भने, ‘‘माग बढ्दै गएपनि सोअनुसार उत्पादन नहुँदा सर्टेज अझैं लामो समय रहन्छ कि जस्तो पनि देखिएको छ।’’

कोभिडका कारण ६ महीना लामो बन्दाबन्दीपछि अटोमोबाइलका शोरुम खुलेपछि अघिल्लो वर्ष भदौदेखि नै बिक्री बढ्दै गएको थियो। ‘‘कोभिडपछि अघिल्लो वर्ष र अघिल्लो वर्षभन्दा यस वर्ष बिक्री बढेको छ,’’ नाडाका अध्यक्ष कृष्ण दुलालले बताए, ‘‘संक्रमणको भयका कारण निजी सवारीप्रति आकर्षण बढेको छ, आगामी वर्ष अझैं बढ्छ कि जस्तो माहोल देखिएको छ।’’ उनले २०२१ सम्म नयाँ गाडी नआउने संकेत देखिएको बताए।

कोभिडपछि सार्वजनिक यातायातमा संक्रमणका डर हुने कारण निजी सवारीप्रति आकर्षण बढेको छ। जसले गर्दा गाडीको माग ह्वात्तै बढेको छ। माग बढेपनि उत्पादन भने कम्पनीहरूले सोअनुसार गर्न सकेका छैनन्। गाडीमा प्रयोग हुने सेमिकन्डक्टर इन्जिनको विश्वभर ७० प्रतिशत बजार चीनको छ। तर कोभिडपछि चीनमा उक्त चिपको उत्पादन घटेकाले उत्पादक कम्पनीलाई आवश्यकताअनुसार उपलब्ध गराउन सकेको छैन। जसकारण विगत दुई वर्षयता गाडीको उत्पादन घटेको छ र कम्पनीहरूले माग बढेपनि सोअनुसार गाडी बनाएर दिन सकेका छैनन्।

विश्वभरि बढेको कारको माग र घटेको उत्पादनका कारण माग बढेपनि सोअनुसार नेपालमा गाडी आउन नसकेको व्यवसायीहरू बताउँछन्।

नेपालमा सबैभन्दा बढी भारतबाट गाडी आउने गरेकोमा त्यसपछि जापान, चीन, कोरिया लगायतका मुलुकबाट गाडी आउँछन्। नयाँ गाडी ल्याउँदा शुरुमा व्यवसायीहरूले केही थान गाडी मात्रै शोरुमका लागि भित्र्याएर बाँकी भन्सारमै छाड्ने र बुकिङ भएपछि मात्रै जाँचपास गर्ने गरेका छन्। सरकारले गाडीमा २४० प्रतिशतसम्म कर लगाएकाले ल्याएको गाडी नबिक्दा किनेको भन्दा अढाइ गुणा बढी खर्च हुने भएकाले त्यो जोखिम मोल्न व्यवसायी तयार हुँदैनन्। जसकारण भन्सारमा आएको लामो समयसम्म जाँचपास नभएर लामो समयसम्म गाडी त्यहीँ चउँरमा थन्किने गर्थे।

तर यस वर्ष भन्सारमा आउनेबित्तिकै व्यवसायीले जाँचपास गरिरहेका छन्। बिरगञ्जस्थित सिर्सिया बन्दरगाहमा रहेको इन्टरमोडल यातायात विकास समितिका वरिष्ठ सहायक हरि रेग्मीले गाडी आएलगत्तै जाँचपास भैहाल्ने गरेको जानकारी दिए। ‘‘यो वर्ष भन्सारमा गाडी रोकिएका छैनन्, आउनेबित्तिकै गैहाल्छन्,’’ उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved