काबुल हमलामा १० जना निहत्थाको मृत्यु भएको अमेरिकाद्वारा स्वीकार

१० जना निहत्था नागरिक मारिने गरी अफगानिस्तानमा गरिएको अन्तिम कारबाही आफ्नो ‘पिडादायी त्रुटी’ भएको अमेरिकी सेनाले स्विकारेको छ।

नेपालभ्युज

काबुल हमलामा १० जना निहत्थाको मृत्यु भएको अमेरिकाद्वारा स्वीकार

काठमाडौं। अफगानिस्तानमा आफ्नो सेनाको अन्तिम दस्ता फिर्ता हुनुको अघिल्लो दिन ड्रोन हमलाबाट १० जना निहत्थाको मृत्यु भएको घटनाको जिम्मेवारी अमेरिकाले लिएको छ।

अमेरिकाको सेन्ट्रल कमाण्ड अनुसन्धानले २९ अगस्टमा भएको ड्रोन आक्रमणमा एक जना राहतकर्मी र उनका नौ जना परिवार सदस्यको निधन भएको निष्कर्ष निकालेको छ। मृतकमध्ये सातजना बालबालिका छन्। सबैभन्दा कम उमेरका सुमाया त जम्मा दुई वर्षका थिए।

काबुल विमानस्थलमा आतंकवादी हमलाको अघिल्लो दिन यो ड्रोन आक्रमण भएको थियो। २० वर्ष लामो युद्धपछि अफगानिस्तान छोड्दै गर्दा अमेरिकाले गरेको यो अन्तिम सैन्य कारबाही थियो।

अमेरिकी जासुसी संयन्त्रले ती राहतकर्मी आइएस-के सशस्त्र समूहसँग आबद्ध भएको आशंकामा आठ घण्टादेखि उनको कार पछ्याइरहेको जानकारी युएस सेन्ट्रल कमान्ड जनरल केन्नेथ म्याककेनाइजले दिए। आइएस-के सशस्त्र समूह इस्लामिक स्टेट (आइएस) समूहको स्थानीय शाखा हो।

अमेरिकी जासुसी संयन्त्रको अनुसन्धानले ती व्यक्तिको कार आइएस-केसँग सम्बन्धित परिसरमा देखिएको र त्यो काबुल आक्रमणमा आतंकवादी हमलाका लागि अन्य आतंकवादी समूहसँग सहकार्यका लागि प्रयोग भएको निष्कर्ष निकालेको थियो।

एक ठाउँमा जासुसी ड्रोनले ती मानिसले कारको डिक्कीमा विस्फोटक पदार्थ राख्दै गरेको फेला पारेको जासुसी संयन्त्रले उल्लेख गरेको थियो। तर पछि त्यो सामग्री विस्फोटक पदार्थ नभई पानीको भाँडा भएको पाइएको थियो।

जनरल म्याककेनाइजले उक्त ड्रोन हमलालाई ‘पिडादायी त्रुटि’को रूपमा व्याख्या गरेका छन्।

राहतकर्मी जमाइरी अक्मधी आफ्नो घरतिर जाँदै गर्दा विमानस्थलबाट तीन किलोमिटर पर हमला भएको थियो।

ड्रोन आक्रमण लगत्तै दोस्रो विस्फोट भएको थियो जसलाई कारमा विस्फोटक पदार्थ भएको प्रमाणको रूपमा अमेरिकी अधिकारीहरूले व्याख्या गरेका थिए। तर अनुसन्धानले त्यो विस्फोट सडकमा भएको प्रोपेन ट्यांकका कारण भएको देखाएको थियो।

मारिनेमध्ये एक अहमद नासेर त अमेरिकी सेनाका लागि अनुवादकको काम गर्थे। अरू पीडितहरू पहिले अन्तर्राष्ट्रिय संगठनहरूमा काम गरिसकेका थिए । उनीहरूसँग अमेरिका प्रवेश गर्न पाउने भिसा समेत थियो। घटनाको दिन उनीहरू अफगानिस्तान छोड्ने तयारीमा रहेको तिनका नातेदारले बताएका छन्।

(बीबीसीबाट)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved