दक्षिण चिनियाँ सागरमा इन्डोनेशियाले बढायो गस्ती

पाँचवटा जहाज र लडाकु जहाजसहित गस्ती बढाइएको हो।

नेपालभ्युज

दक्षिण चिनियाँ सागरमा इन्डोनेशियाले बढायो गस्ती

काठमाडौं। दक्षिण चिनियाँ सागरमा अमेरिकी र चिनियाँ जहाजहरू देखापरेपछि इन्डोनेशियाले दक्षिण चिनियाँ सागरमा गस्ती बढाएको छ।

इन्डोनेशियाको जल सेनाले दक्षिण चिनियाँ सागरमा अवस्थित नतुना द्वीपमा गस्ती बढाएको हो।

१६ सेप्टेम्बरमा जकार्तामा पत्रकारहरूसँग कुराकानी गर्दै इन्डोनेशियाको नौसेनाका पश्चिमी बेडा कमाण्डर अर्स्याद अबदुल्लाहले उत्तरी नतुना सागरमा पाँचवटा जहाज पठाइएको र तिनलाई हवाई गस्तीले साथ दिने बताए।

“राष्ट्रिय र अन्तर्राष्ट्रिय कानून अनुसार इन्डोनेशियाको क्षेत्राधिकारमा राष्ट्रिय हितको सुरक्षा गर्न उत्तरि नतुना सागरमा इन्डोनेशियाको नौसेनाको उपस्थिति बलियो छ”, अर्स्यादले भने।

सन् २०१७ मा दक्षिण चिनियाँ सागरमा रहेको आफ्नो आर्थिक क्षेत्रको उत्तरी भेगलाई इन्डोनेशियाले उत्तरी नतुना सागर नाम दिएको थियो। दक्षिण चिनियाँ सागरमा चीनको दाबी बढ्दै गएपछि उसले त्यसो गरेको थियो।

अर्स्यादले हालै अमेरिकी र चिनियाँ जहाज त्यो क्षेत्रमा देखिएको बताए। ती जहाजहरूले कुनै बाधा सिर्जना नगरे पनि अन्तर्राष्ट्रिय जल क्षेत्रमा बसिरहेको उनले उल्लेख गरे।

नतुना सागरमा विवादमा गत जनवरीमा पनि विवाद उत्पन्न भएको थियो। चिनियाँ तटरक्षक पोत र माछा मार्ने डुंगाहरू उत्तरी नतुना सागरमा प्रवेश गरेपछि इन्डोनेशियाले आफ्ना लडाकु जहाज र माझीहरू पठाएको थियो।

“हाम्रो सार्वभौमिकता र भूभागको कुरा आएपछि कुनै सम्झौता हुँदैन”, इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले उक्त घटनाको सन्दर्भमा घोषणा गरेका थिए।

सन् २०१६ मा पनि इन्डोनेशियाको जहाजले नतुना नजिकै अवैध रूपमा माछा मारेको भन्दै चिनियाँ डुंगाहरूमाथि गोलाबारी गरेको थियो। घटनापछि उक्त वर्ष एकपछि अर्का विवादहरू शुरु भएका थिए।

त्यहीँ वर्ष इन्डोनेशियाले आफ्नो जल क्षेत्रमा प्रवेश गरेको भन्दै मलेशिया र भियतनामका २३ वटा डुंगा नष्ट गरेको थियो।

प्रशान्त महासागरको पश्चिमी किनारमा अवस्थित दक्षिण चिनियाँ सागर आर्थिक र रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ। यसको उत्तरी किनारमा दक्षिण चीन, पश्चिममा हिन्द-प्रशान्त प्रायद्वीप, पूर्वमा ताइवान र उत्तरपश्चिममा फिलिपिन्स अवस्थित छन्।

संसारभर जलमार्गबाट हुने सामान ओसारपसारमध्ये एक तिहाइ यही सागर हुँदै जान्छन्। वर्षेनी करीब ३० खर्ब अमेरिकी डलर बराबरको व्यापार यही मार्गबाट हुन्छ। यो समुद्रमुनि ठूलो मात्रामा तेल र ग्याँसको भण्डार रहेको विश्वास गरिन्छ। त्यस्तै यो क्षेत्र माछाका लागि पनि निकै प्रसिद्ध छ।

त्यसैले यो सागरमा धेरै देशहरूले आफ्नो अधिकार दाबी गर्छन्। ती दाबीहरू यो सागरका विभिन्न क्षेत्र र द्वीपहरूको नामकरणमा झल्किन्छ।

चीन र ताइवान दुवैले लगभग सम्पूर्ण दक्षिण चिनियाँ सागर आफ्नो भएको दाबी गर्छन्। चीनको दाबीको विपक्षमा संयुक्त राज्य अमेरिका छ।

नतुना द्वीपमा भने चीनले कुनै दाबी गरेको छैन तर यो द्वीप ‘नाइन-ड्यास लाइन’ (नौ धर्के रेखा) ले तय गर्ने माछा मार्ने अधिकारक्षेत्र नजिकै पर्छ।

नौ धर्के रेखा दक्षिण चिनियाँ सागरमा आफ्नो दाबी जनाउन चीनले तय गरेको सीमा रेखा हो, जसअन्तर्गत दक्षिण चिनियाँ सागर प्रशस्त ऊर्जा भएको क्षेत्र पर्दछ। साथै उक्त भूभागले अन्तर्राष्ट्रिय व्यापार मार्ग पनि समेट्छ।

दक्षिण चिनियाँ सागरमा चीनको दाबीलाई केही दक्षिणपूर्वी एसियाली देशहरूले विरोध गरेका छन्।

(अलजजिराबाट)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved