कोरोना महामारीको प्रभाव

विश्वरभर २ करोड ३० लाख बालबालिका पूर्ण खोपबाट वञ्चित

पूर्ण खोप पाउनु बालिबालिको अधिकार हो, तर दुई वर्षयता कोरोना महामारीका कारण नेपाललगायत विश्वका अधिकांश देशका बालबालिका पूर्ण खोप पाउनबाट वञ्चित छन्।

नेपालभ्युज

विश्वरभर २ करोड ३० लाख बालबालिका पूर्ण खोपबाट वञ्चित

काठमाडौं। कोरोना माहामारीका कारण दुई करोड ३० लाख बालबालिका नियमित स्वास्थ्य सेवा अन्तर्गत पाउने आधारभूत खोपबाट वञ्चित भएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफको तथ्यांकअनुसार यो सन् २०१९ को भन्दा ३७ लाख बढी संख्या हो।

सन् २०२० मा सबै क्षेत्रमा खोपको पहिलो मात्रा लगाउन छुटेका बालबालिकाको संख्या बढदै गएको डब्लुएचओका महानिर्देशक डा टेड्रोस अद्हानोम घेब्रेयससले बताए।

उनले भने, “सन् २०२० मा खोप सेवामा व्यापक रूपमा अवरोध हुन गयो, त्यसमा पनि विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली र पूर्वी भूमध्यसागरीय क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ।”

स्वास्थ्य सेवा र बाह्य खोप सेवाको पहुँच कम हुनाले सबै क्षेत्रमा पहिलो खोपसमेत नपाउने बालबालिकाको संख्यामा वृद्धि भएको उनले बताए।

सन् २०१९ को तुलनामा ३५ लाखभन्दा बढी बालबालिकाले डीपीटीको पहिलो मात्रा र साथै ३० लाखभन्दा बढी बालबालिकाले दादुराविरुद्ध खोपको पहिलो मात्रा लिन छुटेका उनले बताए।

कोभिड-१९ का कारण दादुरा, पोलियो र अन्य प्राणघातक रोगहरूको पुनः वृद्धिको कारण बन्न दिन नहुने द भ्याक्सिन अलायन्सका प्रमुख कार्यकारी अधिकृत डा सेथ बर्क्कोले बताए। भन्छन्, “कोभिड-१९ विरुद्ध खोपमा विश्वव्यापी र समतामूलक पहुँचको सुनिश्चित गरी नियमित खोप कार्यक्रमलाई पुनः सही दिशामा ल्याउन देशलाई सहयोग गर्न सबै सरोकारवाला निकाय एकजुट भएर काम गर्नु आवश्यक छ।”

नेपालमा शिशु जन्मेको दिनदेखि १५ महिनासम्म १२ ओटा निःशुल्क खोप लगाउने व्यवस्था गरिएको छ। २०७७ को अन्तिमबाट फैलिएको कोरोना माहामारीका कारण विश्वमा नै खोप कार्यक्रम प्रभावित भएको हो।

नवजात शिशुलाई पहिलो खोप (क्षयरोगविरुद्ध बिसिजी खोप) जन्मनेबित्तिकै लगाइदिनुपर्छ। त्यसैगरी एक वर्षभित्र शिशुलाई डीपीटी, हेपाटाइटिस बी, हिबको तीन डोज (छैठौं, दशौं र चौधौं हप्तामा), दादुरा र रुबेलाको दुई मात्रा र पोलियो थोपाको तीन मात्रा समेतको पूर्ण खोप लगाइदिनु पर्दछ।

कुन खोप कहिले लगाउने

बीसीजी खोप जन्मनसाथ लगाइन्छ। यसलाई एक डोज लगाए पुग्छ। यसले क्षयरोगविरुद्ध काम गर्छ।

डीपीटी हेप बि हिब खोप ६, १० र १४ हप्तामा लगाइन्छ। यो खोप तीन पटक लगाउनुपर्छ। यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकार, हेपाटाइटिस बि, हेमाफिलस बिबाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ।

पोलियोको थोपा ६, १० र १४ हप्तामा खुवाइन्छ। यो तीन पटक दिइन्छ। यसले पोलियोमाईलाइटिसबाट जोगाउँछ।

एफआइपीभी खोप ६ हप्ता र १४ हप्तामा दिइन्छ। यो दुई पटक दिनुपर्छ। यसले रोटा भाइरसद्वारा हुने पखलाविरुद्ध काम गर्छ।

पीसीभी खोप ६ हप्ता १० हप्ता र ९ महिनामा दिइन्छ। यो तीन पटक दिइन्छ। यसले न्यूमोकोकसबाट हुने मेनिजाइटिस र निमोनियाबाट बचाउँछ।

दादुरा रुबेलाविरुद्ध खोप ९ महिना र १५ महिनामा दिइन्छ। यसले दादुरा, रुबेलाबाट जोगाउँछ।

जेई, यो खोप १२ महिनामा दिइन्छ। यसले जापानिज इन्सेफ्लाइटिसबाट बचाउँछ।

खोप चिकित्सा विज्ञानको एक प्रभावकारी उपलब्धि हो। भविष्यमा लाग्न सक्ने सम्भावित रोगबाट बचाउन खोप लगाउने गरिन्छ। खोपले शरीरमा प्रतिरोधी क्षमताको विकास गर्छ, जसका कारण सम्भावित रोग लाग्न सक्दैन। त्यसैले खोपलाई शारीरिक स्वास्थ्यको आधारभूत मानिन्छ।

विश्वव्यापी खोप एजेण्डा २०३० ले निर्धारण गरेका महत्वाकांक्षी लक्ष्यहरू हासिल गर्न निकायहरूले देश तथा साझेदारहरूसँग मिलेर काम गरिरहेका छन्। खोप एजेण्डाको उद्देश्य बाल्यकालीन अवस्थामा दिइने अत्यावश्यक खोपको कभरेज ९० प्रतिशत पुर्‍याउने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved