मोटरसाइकलको कर घटाउन अर्थमन्त्रीसँग व्यवसायीको लबिङ

नेपालभ्युज

मोटरसाइकलको कर घटाउन अर्थमन्त्रीसँग व्यवसायीको लबिङ

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् मोटरसाइकल आयातमा कर वृद्धि गरेपछि व्यवसायीले लबिङ थालेका छन्। बुधबार अर्थमन्त्री शर्मालाई भेटी अटोमोबाइल व्यवसायीहरूले मोटरसाइकलको सेग्मेन्ट परिवर्तनलाई सच्चाउनुपर्ने बताए।

अटोमोबाइल व्यवसायीको छाता संगठन नेपाल नाडा अटोमोबाइल एशोसिएसनका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको टोलीले आयातमा गरिएको अन्त:शुल्क घटाउन सुझाव दियो।

अर्थमन्त्री शर्माले मोटरसाइकल आयातमा कडाइ गर्दै सेग्मेन्ट नै बदलेर १२५ सीसीभन्दा बढी क्षमताका मोटरसाइकलमा २० प्रतिशतसम्म अन्त:शुल्क कर बढाएका थिए।

उक्त छलफलमा नाडाका केन्द्रीय कार्य समिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतिले नेपालमा १६० सिसिसम्मका मोटरसाइकलको बिक्री समग्र बिक्रीको दुई तिहाइ भएकाले सेग्मेन्ट परिवर्तनले ठूलो क्षति पुगेको बताए। उनले पहिलेअनुसार नै मोटरसाइकलको सेग्मेन्ट छुट्टाउँदा सहज हुने बताउँदै सच्चाउन अनुरोध गरे। इसैगरी दुगड ब्रदर्स एण्ड सन्का प्रवन्ध निर्देशक विवेक दुगडले सरकारले पहाडि क्षेत्रमा बस्ने नागरिकमाथि अन्याय गरेको बताए। ‘‘सरकारले २५० सीसी मोटरसाइकललाई हेभी सवारी साधन मानेको छ तर नेपालको पहाडि धरातलीय अवस्थितिका कारण र पर्यटन प्रवद्र्धनका लागि उच्च सीसीका मोटरसाइकलको आवश्यकता अनिवार्य छ,’’ उनले बताए।

यसैगरी नाडाका उपाध्यक्ष चौधरीले एसेम्बल उद्योगमा दिइएको छुट स्वागतयोग्य भएको बताउँदै कुन पार्टस् एसेम्बलिङको हो र कतिसम्म आयात गर्न पाइने हो त्यसको स्पष्ट व्याख्या गर्नुपर्ने बताए। उनले लुब्रिकेन्ट्समा पनि सवारी एसेम्बलिङमा जस्तै नीति ल्याउनुपर्ने बताउँदै नीतिमा स्थिरता हुनुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved