आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२

ओमानविरुद्ध हारका मुख्य कारणहरू

फाष्ट बलरको फितलो प्रदर्शन, सन्दीप लामिछानेको अभाव र मिडिल अर्डरमा समस्या रहिरहँदा नेपालले ओमानसामु गतिलो रन जोड्न सकेन। साथै कप्तान ज्ञानेन्द्र मल्लको गलत निर्णयले पनि नेपालले हार टार्न सकेन।

ओमानविरुद्ध हारका मुख्य कारणहरू

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को खेलमा ओमानसँग मंगलबार नेपाल पाँच विकेटले सहज रूपमा पराजित भयो।

तुलनात्मक रूपमा बलियो टिम ओमानले नेपालले दिएको १९७ रनको लक्ष्य ३२ औं ओभरमा नै मात्र ५ विकेटको क्षतिमा सजिलै पूरा गरको थियो।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ओमानविरुद्ध नेपालको यो लगातार तेस्रो हार हो। यसअघि गत वर्ष नेपालमै भएको लिग डिभिजन-२ अन्तर्गतको दुवै खेलमा नेपाल पराजित भएको थियो।

खेलमा जित र हारका थुप्रै दृश्य तथा अदृश्य कारणहरू हुन्छन्। यो खेलमा हारका कारणहरूलाई यहाँ केलाउने प्रयास गरिएको छ।

फाष्ट बलरको फितलो प्रदर्शन

घरेलु मैदानमा नेपालले पहिले ब्याटिङ गर्दै ओमानलाई मात्र १९७ रनको विजय लक्ष्य दियो। लक्ष्य धेरै ठूलो नभए पनि नेपालको बलिङ यो स्कोर डिफेन्ड गर्ने ल्याकत राख्छ। धेरैचोटि नेपालले कम स्कोर पनि डिफेन्स गरेको छ।

यो खेलमा पनि कम लक्ष्यलाई डिफेन्ड गर्न नेपालले पहिलादेखि नै धारिलो बलिङ गर्नु आवश्यक थियो। तर नेपाली फाष्ट बलरहरूले निकै कमजोर बलिङ प्रदर्शन गरे।

विष्टोफक ब्याटिङ गरेका ओमानका जतिन्दर सिङले पाँचौं ओभरमा नेपालका प्रमुख फाष्ट बलर सोमपाल कामीको ६ बलमा ६ वटै बाउण्ड्री प्रहार गरेका थिए। सोमपालको एकै ओभरमा जतिन्दरले ३ छक्का र ३ चौका हान्दै ३० रन जोडे।

शुरुआतदेखि नै आक्रमक ब्याटिङ गरको ओमानले विक्रम शोबको दोस्रो ओभरमै १८ रन र करण केसीको आठौं ओभरमा २० रन पाएको थियो। फाष्ट बलरहरूविरुद्ध खरो उत्रेको ओमानले मात्र आठ ओभरको खेल सकिँदासम्म मात्र एक विकेटको क्षतिमा ९३ रन जोडिसकेको थियो। जहाँ नेपालले खेल लगभग गुमाइसकेको अवस्था थियो।

जितको कारणमा ओमानका कप्तान जिसान मक्सुदले बताए, “माथिल्लो क्रमका ब्याट्सम्यानले नेपालको जस्तो राम्रो बलिङ आक्रमणलाई सजिलै खेलेपछि यसपछिका ब्याट्सम्यानलाई प्रेसर नै भएन, पछिकाले स्ट्राइक रोटेटिङ मात्र गरेर पनि सजिलै खेल जिते।”

५० ओभरमा १९७ रनको सहज विजय लक्ष्य पाएको ओमानले आठ ओभरमै खेल लगभग आफ्नो पक्षमा पारिसकेको थियो। जितका लागि बाँकी ३८ ओभरमा ओमानलाई मात्र १०४ रन जोड्नुथियो र ऊसँग ९ विकेट हातमै थियो।

नेपालले आफ्नो एकदिवसीय क्रिकेट इतिहासमै खेलमा शुरुआती १० ओभरको पावर प्लेमा सर्वाधिक रन खर्चियो। नेपालले पावर प्लेमा १०८ रन दिएको थियो।

महँगा साबित भएका ३ फाष्ट बलरमध्ये विक्रम शोबले मात्र २.१ ओभरमा २९ रन खाए। त्यसैगरी करण केसीले पाँच ओभरमा ५२ र सोमपाल कामीले ४ ओभरमा ३८ रन खर्चिएका थिए।

जतिन्दर सिङको विस्फोटक ब्याटिङ

विजय लक्ष्य ३२ औं ओभरमा नै पूरा गराउन ओमानका ओपनर जतिन्दर सिङले विस्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरे। ओमानको जितमा ब्याटिङको मोर्चा उनी एक्लैले समालेको भान हुन्थ्यो। जितका लागि ओमानको आधा भन्दा बढी रन उनैले हाने। उनी एक्लैले मात्र ६२ बलमा १२ चौका र ६ छक्को मद्दतले १०७ रन जोडेका थिए।

कप्तान ज्ञानेन्द्र मल्ल पनि हारको मुख्य कारण जतिन्दरको ब्याटिङलाई मान्छन्, “शुरुमा पिच हेर्दा अमेरिकासँगको हिजोको खेलमा भन्दा आजको पिचमा हामीले विकेट लिने अझ धेरै मौका छ जस्तो लागेको थियो। तर जतिन्दर एक जनाको ब्याटिङले खेल पूरै परिवर्तन भयो। यसको श्रेय सब उसैलाई जान्छ।”

टी ट्वान्टी शैलीको ब्याटिङ गर्दै मात्र ३४ बलमा ८५ रन जोडेका जतिन्दरले शतक पूरा गर्न ६० बल खेलेका थिए। ३२ वर्षीय जतिन्दरको एकदिवसीय क्रिकेट यो पहलो शतक हो। उनले सोमपालको एक ओभरबाट ३० र करणको एक ओभरबाट २० रन गरी मात्र २ ओभरमा नै ५० रन जोडेका थिए।

नेपालभन्दा तुलनात्मक रूपमा बलियो टिम ओमानमा प्रायः भारतीय र पाकिस्तानी मुलका खेलाडी छन्। जतिन्दर पनि भारतीय मुलका खेलाडी हुन्।

सन्दीप लामिछानेको अभाव

स्टार स्पिनर सन्दीप लामिछानले खेल दौरान पेटमा समस्या आएपछि एक ओभर पनि बलिङ गर्न सकेनन्। उनले फिल्डिङका क्रममा पेटका दुखाइका कारण मैदान छाडेका थिए।

खेलको शुरुमै समस्या आएपछि पूरै खेल अवधिभर सन्दीप मैदान बाहिर आराम गरिरहेका थिए। आफ्नो प्रमुख बलर नभएपछि त्यसको प्रभाव नेपाली टिममा टड्कारो रूपमा देखिएको थियो। स्पिनलाई सहयोगी पिचमा सन्दीप नै नहुनु नेपाललाई ठूलो घाटा थियो भने ओमानलाई फाइदा।

जसलाई ओमानका कप्तान मक्सुद पनि स्विर्काछन, “सन्दीप निकै राम्रा बलर हुन, उनीजतिको विश्वस्तरीय बलरले बलिङ नगर्दा हामीलाई वास्तवमै फाइदा भयो।”

उनी अझ थप्छन्, “सन्दीप खेलेको भए खेलमा पक्कै केही फरक पर्न सक्थ्यो। हामी समस्यामा पर्न सक्थ्यौं।”

सन्दीप नहुँदा एकातर्फ नेपालको विकेट आउने सम्भावना कम भयो भने अर्कातर्फ सन्दीपको ओभर अरु बलरले पूरा गर्नुपर्दा रन धेरै खर्चन पगे।

“सन्दीप नभएर खेलमा निश्चय नै असर पर्‍यो, सन्दीप भइदिएको भए मध्यम गतिका बलरलाई धेरै बलिङ गराउन पर्ने थिएन,” नेपालका कप्तान ज्ञानेन्द्र मल्लले भने। सन्दीपको अवस्था हाल सामान्य रहेको बताइएको छ।

मिडिल अर्डरमा समस्या कायमै

१९६ रनको योगफल अहिलेको एकदिवसीय क्रिकेटमा सामान्य मानिन्छ। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओमानजस्तो टिमविरुद्ध गतिलो स्कोर बनाउन नसक्नु नै कमजोरी भयो।

विपक्षी टिमका कप्तान भन्छन्, “नेपालले अघिल्लो खेलमा अमेरिकासँग २३० रन चेज गरेको थियो। त्यसैले हामीले पनि २२० देखि २३० सम्मको लक्ष्य पाउने अनुमान गरेका थियौं। तर नेपालले ठूलो योगफल बनाउन सकेन।”

ओपनर कुशल भुर्तेल दोस्रो बलमै डकआउट भएका थिए। १२ औ ओभरमा कप्तान ज्ञानेन्द पनि २१ रनमा आउट भए। यसपछि रोहित कुमार पौडेल पनि २० रनमा बाहिरिएपछि नेपालले १०० रन जोड्ने क्रममा ३ विकेट गुमाइसकेको थियो।

नेपालको ब्याटिङको एक समस्या मिडिल अर्डर चल्न नसक्नु पनि हो। यो खेलमा पनि सोही समस्या दाहोरियो। विशेषगरी पारसको संन्यासपछि नेपालको मिडिल अर्डरमा खाडल अझ बढेको देखिन्छ। रोहित कुमार पौडेलले अघिल्ला खेलमा राम्रो प्रदर्शन गर्दै यो खाडल पुर्ने प्रयास गरे पनि यो खेलमा उनी जमेनन्।

एकातर्फको क्रिजमा ओपनर आसिफ शेख डटिरहेका थिए भने अर्कोतर्फको विकेट लगातार खसिरहको थियो। जुन क्रम अन्त्यसम्म चलिरहयो।

ज्ञानेन्द्र भन्छन्, “हारको पहिलो कारण त हाम्रो रन नै पुगेन, खेलमा हाम्रो मिडिल अर्डरमा ठुल्ठूलो पार्टनरसिप नै हुन सकेन, जसले गर्दा योजनाअनुसार २३०/२४० रनको स्कोर बन्न सकेन। हाम्रो रन नै पर्याप्त भएन, नत्र खेल फरक हुन्थ्यो।”

विकेट किप्पर ब्याटस्म्यान विनोद भण्डारी ६ रनमा, सोमपाल कामी ७ रनमा, र कुशल मल्ल पनि चार रनमा पेभेलियन फर्किएका थिए।

नेपालका लागि आसिफले ९० रन जोड्दा अन्य कुनै पनि खेलाडीले उनलाई साथ दिएनन। सबै जना सस्तैमा समेटिँदा लामो साझेदारी गर्ने कोही भएन। जसले गर्दा आसिफमा पनि दबाब बढ्यो र न उनले शतक बनाउन पाए न नेपालको रन नै उकास्न।

सामान्य कप्तानी

ओमानको अल अमेरत मैदानमा प्रायः दोस्रो ब्याटिङ गर्दै लक्ष्य पछ्याउने टिमले जित्ने रेकर्ड थियो। तर टस जितेका नेपालमा कप्तान ज्ञानेन्द्र मल्लले पहिले ब्याटिङ गर्ने निर्णय गरे, जुन गलत साबित भयो।

ज्ञानेन्द्र भन्छन्,“ हाम्रो क्षमता हेर्दा चेज गर्नलाई अप्ठ्यारो हुन्छ कि भन्ने लाग्यो, उनीहरूको बलिङ राम्रो हुन्छ भनेर पहिले ब्याटिङ रोजे, पहिले ब्याटिङ गरेर २३० प्लस रन बनाउन सके ओमानलाई दबाब दिन सक्ने योजना थियो। तर रन पर्याप्त भएन।”

कप्तानले पहिले फिल्डिङ रोजेको भए पिचको हिसाबले सायद रन चेज गर्न सजिलो हुन्थ्यो।

त्यसैगरी स्पिनलाई सहयोगी पिचमा फाष्ट बलरहरूले शुरुदेखि नै चुटाइ भेटे पनि ज्ञानेन्द्रले स्पिनरलाई चाँडै नै बलिङमा ल्याउने साहस गरेनन्। ८ ओभरसम्म फाष्ट बलरहरूले ९३ रन खाइसकेका थिए भने जतिन्दर एक्लैले ७४ रन जोडिसकेका थिए।

यसपछि मात्र कप्तान ज्ञानेन्द्र मल्लले स्पिनरलाई बलिङमा उतारे। यसपछि स्पिनरद्वय कुशल मल्ल र सुसन भारीले ओमानको रनमा अंकुश लगाए भने लगातार २ विकेट पनि झारेका थिए।

तर नेपाललाई खेलमा फर्कन ढिला भइसकेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved