प्रचण्डको स्विकारोक्ति – माओवादी आन्दोलन विचलित भयो

नेपालभ्युज

प्रचण्डको स्विकारोक्ति – माओवादी आन्दोलन विचलित भयो
फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलन विचलित रूपमा रहेको स्विकारेका छन्।

स्व नेता पोस्टबहादुर बोगटी ‘दिवाकर’को सातौँ स्मृति दिवसका अवसरमा बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पद प्रतिष्ठाका लागि गुट बनाउने प्रवृत्तिले माओवादी आन्दोलन स्खलन उन्मुख रहेको बताएका हुन्।

त्यसको समीक्षा गर्दै पार्टी पुनः निर्माणको महान् अभियानमा लागेकाले अब अरूलाई गाली गर्न छाडेर आफैँलाई गाली गर्नुपर्ने अवस्था आएको उनले बताए। “पार्टी विचलित भएको अवस्था छ, युद्धका बेलामा उत्पीडित वर्ग जातिलाई लिएर रूपान्तरणको लागि अगाडि बढ्यौ। तर अहिले हाम्रो पार्टीमा पद प्रतिष्ठाका लागि गुट बनाउने हाबी आयो, क्रान्तिकारी चरित्र स्खलित हुने अवस्था छ,” प्रचण्डले भने। उनले विगत १५ वर्षमा पार्टीबाट सय जनाभन्दा बढी मन्त्री बनेको र त्यसतिर बढी ध्यान गएको भन्दै अब पार्टी निर्माणमा ध्यान केन्द्रित गर्ने बेला भएको बताए।

फरक प्रसंगमा प्रचण्डले संविधान जारी हुँदाको बखत आफूहरूले राखेको फरक मतको अहिले सान्दर्भिकता देखिएको टिप्पणी गरे। शासकीय प्रणाली, निर्वाचन प्रणालीलगायत विषयमा संविधान संशोधन आवश्यक ठानेर आफूहरूले प्रधानमन्त्री हुँदा प्रक्रिया अघि बढाए पनि प्रतिक्रियावादीहरूले रोकेको प्रचण्डले बताए।

उनले भने, “म प्रधानमन्त्री हुँदा संविधान संशोधनको पहल गरे, प्रतिक्रियावादीहरूले सफल हुन दिएनन्। तर अहिले त्यो विषय सान्दर्भिक भएको छ। शासकीय प्रणाली, निर्वाचन प्रणालीलगायत विषयमा अहिले बहस छेड्न जरुरी भएको छ। यसका लागि हामी सडकमा जान तयार छौँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved