ओरालो लाग्दै कोरोना संक्रमण, जोखिम भने कायमै !

खाली हुँदै अस्पतालका शय्या

पछिल्लो समय कोरोना संक्रमणका ‘केस’हरू उल्लेखनीय रूपमा बढेका छैनन्। मृत्युदरमा ह्वात्तै कमी नआए पनि देशभरका धेरैजसो अस्पतालमा संक्रमित घट्न थालिसकेका छन्। तर कोरोना संक्रमणदर ओरोलो लागे पनि जोखिम भने उस्तै रहेको स्वास्थ्यविद्हरूले बताइरहेका छन्।

ओरालो लाग्दै कोरोना संक्रमण, जोखिम भने कायमै !

काठमाडौं। केही दिनयता नेपालमा कोरोना संक्रमण दर विस्तारै ओरालो लाग्दै गइरहेको तथ्यांकले देखाएको छ। संक्रमणमा कमी आए पनि जोखिम र कोरोनाबाट हुने मृत्युदरमा भने खासै कमी आइसकेको छैन।

अहिले पनि दैनिक २० जनाको हाराहारीमा संक्रमणबाट मानिसको मृत्यु भइरहेको छ।

दोस्रो लहरको शुरुआती चरणमा ५८ प्रतिशत दरले बढेको संक्रमण अहिले नौ प्रशितमा झरेको मन्त्रालयले जनाएको छ। सरुवारोग विशेषशज्ञ डा.सागरराज भण्डारीका अनुसार अहिले संक्रमण दर स्थिर छ। यसले अहिले हामी दोस्रो लहरको अन्तिम चरणमा रहेका उनले बताए।

‘‘समुदायमास्तरमा अझै पनि ज्वरो, रुघाखोकी लाग्दा धेरैले मौसमी रुघाखोकी भन्दै परीक्षण पनि नगराएकाले संक्रमण संख्यामा कमी आएको हुन सक्छ,” उनले भने।

संक्रमित संख्यामा केही कमी आए पनि चाडपर्व नजिकिँदै गर्दा मानिसहरूको चहलपहल बढ्ने हुँदा यो समयमा राम्रोसँग ध्यान दिन भने उनले सुझाव दिए। नत्र संक्रमणको मात्रा ह्वात्तै बढ्न सक्ने पनि उनले चेतावनी दिए।

संक्रमित दर निरन्तर ओरालो लाग्दै

साउनको पहिलो सातातिर लगभग १४ हजारको नमुना परीक्षण गर्दा लगभग ३ हजारमा संक्रमण पुष्टि हुन्थ्यो भने भदौ २३ गते १३ हजार ४५५ जनाको नमुना परीक्षण गर्दा १६ सय ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले जनाएको छ।

मन्त्रालयका अनुसार २४ भदौमा ११ हजार ९४४ जनाको नमुना परीक्षण गरिएको थियो जसमा १२ सय संक्रमित फेला परेका थिए। तीमध्ये सबैभन्दा बढी ३१ देखि ४० वर्षका २ सय ४९ जना थिए सबैभन्दा कम २७ जना ८० वर्ष माथिका थिए। सोही दिन १८ सय ४५ जना संक्रमितहरू अस्पतालबाट निको भए भने, १४ जनाको मृत्यु भएको थियो।

२५ भदौमा १० हजार ९१६ जनाको परीक्षण गर्दा एक हजार १४६ जनामा संक्रमण पुष्टि भएको थियो। जहाँ सबैभन्दा बढी २४ देखि ३० वर्षसम्मका २४७ संक्रमित थिए भने कम १५ जना ८० वर्षभन्दा माथिका थिए। सोही दिन २१ जनाको मृत्यु भएको थियो भने १६ सय ६० जना निको भएर घर फर्किएका थिए।

२६ भदौ शनिबार भने नौ हजार ८४० को नमुना परीक्षण गर्दा नौ सय ९४ जनामा मात्र संक्रमण पुष्टि भएको थियो। जसमध्ये १३ सय ६८ जना संक्रमित निको भएका थिए र १२ जनाको मृत्यु भएको थियो।

त्यस्तै २७ भदौमा ११ हजार १८ जनामा कोरोना संक्रमण परीक्षण गर्दा जम्मा नौ सय ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। जसमध्ये सबैभन्दा बढी २१ देखि ३० वर्षका एक सय ९९ जना संक्रमित थिए भने सबैभन्दा कम ८० वर्ष माथिका ११ जना थिए। त्यस्तै सोही दिन १४ सय २३ जना संक्रमणमुक्त भएका थिए भने १३ जना संक्रमितको मृत्यु भएको थियो।

२८ भदौमा भने १६ हजार ५३९ जनाको नमुना परीक्षण गरिएको थियो। जसमा सबैभन्दा बढी २१ देखि ३० वर्षका २७० जना संक्रमित थिए भने १३ जना सबैभन्दा कम ८० वर्ष माथिका रहेका मन्त्रालयले जनाएको छ। सोही दिन १६ जना संक्रमितको मृत्यु भएको थियो। १२ सय ६० जना निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ।

त्यस्तै भदौ २९ (आज) १४ हजार ४४३ जनाको नमुना परीक्षण गर्दा १५ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा बढी २१ देखि ३० वर्षसम्मका २ सय ९० जना छन् भने सबैभन्दा कम ८० वर्ष माथिका २१ जना छन्।

त्यस्तै आज १५ सय ८९ जना संक्रमित निको भएका छन् भने १९ जना संक्रमितको मृत्यु भएको छ।

यसरी हेर्दा संक्रमितको संख्यामा दैनिक कमी त आएको छ तर स्वास्थ्यविद्हरूले भने जोखिम कायमै रहेको बताइरहेका छन्। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन्, ‘‘संक्रमित घट्नुमा संक्रमितको दायरासम्म बिरामी नआउनु पनि एक हो।”

उनी भन्छन्, ‘‘अझै पनि ९ प्रतिशत संक्रमितदर छ यो दर ५ प्रतिशतमा नघटेसम्म जोखिम घट्यो भन्न मिल्दैन।”

खाली हुँदै अस्पतालका शय्या

त्रिवि शिक्षण अस्पतालमा पछिल्लो दुई सातायता क्रमश कोरोना संक्रमित बिरामी आउने संख्यामा कमी आएको सूचना अधिकारी रामविक्रम अधिकारी बताउँछन्।

अधिकारीले भने, ‘‘अहिले आजको मितिसम्म अस्पतालमा जम्मा ७० जना संक्रमित उपचाररत छन् उनीहरूको स्वास्थ्य अवस्था पनि सामान्य नै छ। संक्रमितहरूको उपचार गर्न लागेबाट कहिले खाली नभएको आइसियू बेड अहिले खाली छ।”

धेरैले खोप लगाएका कारण संक्रमण संख्यामा कमी आएको उनले दाबी गरे। भने, ‘‘अहिले आएका बिरामीमध्ये धेरैजसो मिर्गौला रोगीहरू छन्। धरै जसोले खोप लगाएका कारण सामान्य लक्षणहरू मात्र देखिरहेको छ।”

अहिलेको अवस्थामा संक्रमितहरू हप्ता-दश दिनमा घर फर्किरहेका उनको बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.अनुपराज बाँस्तोला पनि संक्रमित संख्यामा कमी आएको बताउँछन्। अहिले टेकु अस्पतालमा ११ जना आईसीयू र ३१ जना कोभिड वार्डमा रहेका उनले जानकारी दिए।

त्यस्तै वीर अस्पतालमा संक्रमित संख्यामा कमी आएको डा. दीपेन्द्र बस्नेत बताउँछन्। भन्छन्, ‘‘अहिले संक्रमण स्थिर अवस्थामा छ, ह्वात्तै घटेको पनि छैन बढेको पनि छैन तर मानिसहरूले घट्यो भन्दैमा स्वास्थ्यका मापदण्ड पालना गरेनन् भने संक्रमण संख्या बढ्दै जान्छ।”

वीर अस्पतालमा दोस्रो लहरको कोरोना संक्रमणको शुरुआती चरणमा १ सय ५० जना संक्रमित थिए। तर अहिले घटेर ८६ जना उपचाररत छन्। जसमध्ये आईसीयूमा २५ जना रहेका पनि उनले बताए।

बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पनि संक्रमित भएर उपचारका लागि आउनेको संख्या घट्दै गएको अस्पतालका डाक्टर डा.प्रवीन नेपालले बताए।

‘‘सशस्त्र प्रहरी बल अस्पतालमा केही महीनाअघि दुई सय हाराहारीमा बिरामी आउँने गर्थे भने दुई हप्तायता लगातार संक्रमित संख्या घट्दै गइरहेको छ”, उनले भने।अस्पतालमा अहिले ७० जना संक्रमितको उपचार भइरको र जसमध्ये १४ जना आईसीयूमा रहेको पनि उनले जनाए।

त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एक सातायता संक्रमितको चाप घटेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार लगभग ६० जना संक्रमितको उपचार भइरहेको छ भने सात जनाजति आईसीयूमा राखिएको छ। कोरोना संक्रमितका लागि भनेर छुटाइएको फ्लोर नै खाली भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved