सर्वदलीय बैठक सकियो, एमाले नजाँदा भएन ठोस निर्णय

नेपालभ्युज

सर्वदलीय बैठक सकियो, एमाले नजाँदा भएन ठोस निर्णय
फाइल तस्वीर

काठमाडौं। सभामुखले बोलाएको सर्वदलीय बैठक सकिएको छ।

बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का कोही पनि उपस्थित नभएपछि‍ ठोस निर्णय हुन नसकेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पाैडलले बताइन्। बैठकमा सहभागी उनले नेपाल भ्यूजसँग संक्षिप्त कुरा गर्दै भनिन्, “प्रतिपक्षी एमाले आएपछि मात्र फेरि वार्ताको वातावरण बनाउने गरी आजको बैठक सकियो, हामीले एमालेलाई डाकेर फेरि पनि बैठक बोलाउन सभामुखलाई सुझाव दियाैं।”

एमालले आफ्ना पार्टीका १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै संसद् अवरुद्ध गरिरहेको छ।  सभामुख अग्नि सापकोटाले आज (सोमबार) दिउँसो साढे २ बजेका लागि बैठक बोलाएका थिए।

एमाले प्रमुख सचेतक, सचेतकसहित वार्तापछि सभामुख सापकोटाले सदन अवरोधको अन्त्य हटाउने विषयमा संसद्मा प्रतिनिधित्व गर्ने अन्य गरी सोमबार सर्वदलीय बैठक राखेका हुन्।

आजको सर्वदलीय बैठकमा वार्ताका लागि एमालेसँग पहल गरिए पनि एमालले बैठकप्रति अनिच्छा देखाएको हो।

नेकपा एमाले अध्यक्ष केपी ओलीले आजको बैठकमा कसैलाई पनि नजान एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई निर्देशन दिएका र नेम्बाङले टेलिफोनमार्फत यसबारे सभामुखलाई जानकारी गराएका पाैडेलले जानकारी दिइन्।

विधि र प्रक्रियाअनुसार समाधान खोज्न प्रतिपक्षी जिम्मेवार हुनुपर्ने विषयमा बैठकमा छलफल भएको पाैडेलको तर्क थियो।

त्यस्तै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नआए पनि एमालेसँग अझै पनि वार्ता र सहमतिको प्रयास भइरहेको आजको बैठकमा भनेका थिए। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अझै एक साता प्रतिपक्षीसँग वार्ताको प्रयास जारी राख्न सभामुखलाई सुझाव दिइएको पाैडेलले जानकारी गराइन्।

प्रयास बाबजुत एमाले वार्तामा नआए सदन सुचारु गर्ने विषयमा थप रणनीति बनाउँदै लगिने प्रधानमन्त्री देउवाले बताएका थिए।  संसद् बैठक भोलि (मंगलबार) १ बजेका लागि डाकिएको छ।

आजको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष तथा संसदीय दलका नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल उपस्थित थिए।

यो पनि 

माधव नेपाल आउने भएपछि एमालेको बहिष्कार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved