सर्वदलीय बैठक

माधव नेपाल आउने भएपछि एमालेको बहिष्कार

सभामुखसँग उपस्थित हुने जानकारी दिए पनि नेकपा (एकीकृत समाजवादी) पनि बैठकमा सहभागी हुने भएपछि नेकपा (एमाले)ले बैठक बहिष्कार गरेको हो।

नेपालभ्युज

माधव नेपाल आउने भएपछि एमालेको बहिष्कार
फाइल तस्वीर

काठमाडौं। संघीय संसद्को अधिवेशन गत २३ भदौमा आह्वान भयो। बैठक आह्वान भएको दिनदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् बैठक निरन्तर अवरुद्ध पार्दै आएको छ।

अवरोधबीच सरकारले आर्थिक अध्यादेश र राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल गरायो। तर पनि संसद्मा एमालेको अवरोध निरन्तर भइरह्यो। एमालले आफ्नो पार्टीले १४ जना सांसदलाई गरेको कारबाहीको सूचना जारी नभएको भन्दै संसद् अवरुद्ध गरेको बताउँदै आएको छ।

अधिवेशन आह्वानका दिन तीन वटा, २५ भदोको तीन वटा र हिजो पहिलो बैठकमा लगातार नाराबाजी गरेपछि सभामुखले सदन सुचारु गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलसँग संवादका लागि सर्वदलीय बैठक बोलाएका छन्। बैठक अहिले जारी छ।

बैठकमा किन गएन एमाले ?

नेकपा एमालेले आफ्ना १४ जना सांसदलाई कारबाहीको सूचना प्रकाशन गर्न सभामुखलाई दबाब दिँदै आएको छ। पार्टीले कारबाही गरेका सांसदको सूचना प्रकाशन नभएसम्म सदन चल्न नदिने एमालले अडान राखिरहेको छ।

तर सभामुख सापकोटाले भने सांसदमाथि एमालेले गरेको कारबाहीको विषय सर्वोच्च अदालतमा विचराधीन भएकाले यस विषयमा जवाफ दिन नसकिने बताइरहेका छन्।

कारबाहीको सूचना प्रकाशन किन नगरेको भन्ने एमालेको प्रश्नमा सभामुख सापकोटाले कानुनअनुसार निर्णय भएको समेत सदनमा जानकारी दिएका छन्। तर एमाले सभामुखको जवाफ चित्तबुझ्दो नभएको भन्दै कारबाहीको सूचना प्रकाशन गर्न दबाब दिँदै आएको छ।

गत साउन ३२ गते संसद् अधिवेशन अन्त्य गरी सरकारले दलविभाजन अध्यादेश ल्याएको थियो। अध्यादेश ल्याएपछि एमालले १ भदौमा माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामुखलाई दिएको थियो।

सोही अध्यादेशको आधारमा नेपालले २ भदाैमा नयाँ पार्टी दर्ता गरेका थिए भने ९ भदौमा दलले मान्यता पाएको थियो। त्यसपछि बल्ल सभामुखले एमालेको पत्रबारे निर्णय गर्दै केही गर्नु नपर्ने बताएका थिए।

दल विभाजनमा सभामुखको संलग्नता रहेको भन्दै एमालले प्रश्न उठाउँदै आएको छ। आज (सोमबार)को सर्वदलीय बैठकमा माधवकुमार नेपालहरूलाई बोलाएका कारण नगएको एमाले सचेतक शान्ता चौधरीले बताएकी थिइन्।

एकातिर वार्ता अर्को तर्फ बहिष्कार

एमालले लगातार सदन अवरुद्ध पारे पनि सभामुखले बैठकको कार्यसूची बढाएका थिए। अवरोधबीच सदन सुचारु भएपछि संसद्मा प्रतिपक्ष चिढियो भने सरकार र प्रतिपक्ष दलसँग मात्र हैन, प्रतिपक्ष र सभामुखबीच पनि टकरावको स्थिति देखियो।

संसद्मा लगातार प्रतिपक्षले अवरोध गरेपछि सभामुखले नै सदन सुचारुको पहल गरे। सदनमा देखिएका अवरोध हटाउन पहल गर्ने भूमिका पनि सभामुखकै हुन्छ। सोहीअनुसार सभामुख सापकोटाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सांसद खगराज अधिकारी र कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए।

उक्त छलफलमा एमाले वार्ताका लागि तयार थियो। संसद्मा देखिएको अवरोध अन्त्य गर्न एमालेले सभामुख र सत्तारुढ दलहरूले नै पहल गर्नुपर्ने बताएको थियो।

एमाले प्रमुख सचेतक, सचेतकसहित वार्ता भएपछि सभामुख सापकोटाले सदन अवरोधको अन्त्य हटाउने विषयमा संसद्मा प्रतिनिधित्व गर्ने अन्य गरी सोमबार सर्वदलीय बैठक राखेका हुन्।

सोहीअनुसार सभामुखले नै औपचारिक रूपमा हस्ताक्षर गरी सर्वदलीय बैठकका लागि सबै संसदीय दलका नेताहरूलाई पत्राचार गरेका थिए। सर्वदलीय बैठक बस्नु अघिसम्म सभामुखले प्रतिपक्ष दलका संसदीय पदाधिकारीसँग संवाद गरिरहेका थिए।

एकातिर संसद् सुचारु गर्न सरकार र सभामुखले पहल गर्नुपर्छ भन्ने अर्कोतर्फ समस्या समाधानका लागि आह्वान भएको सर्वदलीय बैठकमा अनुपस्थित हुनुले एमालेको दोहोरो भूमिका देखिको छ।

संसद्मा देखिएको समस्या एमालेसँगको मात्र भएको एमाले सचेतक चाैधरी बताइन् तर सभामुखले एमालेलाई मात्र नभई सबै दललाई राखेर समाधान खोज्नुको कुनै औचित्य नभएको उनको तर्क थियो।

‘वार्ता हाम्रो पार्टीसँग हुनुपर्थ्यो,’ चौधरीले भनिन्, “तर सभामुखले सबैलाई डाकेर सर्वदलीय बैठक बोलाउनुको आवश्यकता थिएन।” आफू अहिले पनि वार्ताकै पक्षमा रहेको सचेतक चौधरीको भनाइ थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved