आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाकाे सामना गर्दै नेपाल

त्रिकोणात्मक सिरिजको खेलअघि पपुवा न्युगिनी (पीएनजी) सँगको अभ्यास खेलमा दुवै टिमले २-२ खेल जित्दै आत्मविश्वास बलियो बनाएका छन्।

नेपालभ्युज

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाकाे सामना गर्दै नेपाल

काठमाडौं। आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल आज अमेरिकासँग खेल्दैछ। ओमानको अल अमिरत मैदानमा खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ।

त्रिकोणात्मक सिरिजको खेलअघि पपुवा न्युगिनी (पीएनजी) सँगको अभ्यास खेलमा दुवै टिमले २-२ खेल जित्दै आत्मविश्वास बलियो बनाएका छन्। नेपालले पीएनजीसँगको पहिलो खेल २ विकेट र दोस्रो खेल १५१ रनले जितेको थियो।

यसअघि लिग डिभिजन-२ अन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमन र अमेरिकासँग दुई दुई खेल खेलिसकेको छ। जसमा नेपालले अमेरिकालाई दुवै खेलमा हराएको थियो भने ओमनसँग दुवै खेलमा पराजित भएको थियो।

नेपाल र अमेरिका बीचको हेड टू हेड हेर्दा आईसीसीको एकदिवसीय (ओडीआई) मान्यता पाएपछि हालसम्म २ खेल मात्र भएको छ। आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नै गतवर्ष नेपाल मै भएको दुवै खेल नेपालले जितेको थियो।

पहिलो खेलमा नेपालले अमेरिकालाई ओडीआई इतिहासकै सर्वाधिक कम स्कोर ३५ रनमा अलआउट गर्दै ८ विकेटको जित निकालेको थियो। दोस्रो खेलमा भने नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो। ओडीआई मान्यता पाउनु अघिका ५ एकदिवसीय खेलमा भने २ खेल नेपालले जित्दा ३ खेल अमेरिकाको पक्षमा छ।

त्रिकोणात्मक सिरिजमा नेपालसँग ब्याटस्म्यान दीपेन्द्र सिंह ऐरी हुने छैनन्। ओमान पुगेपछि अभ्यासका दौरान एङ्कलमा चोट लागेपछि उनले यो सिरिज गुमाउने भएका हुन्।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को अंक तालिकामा नेपाल ४ खेलमा २ जित पश्चात् ४ अंकसहित छैटौँ स्थानमा छ। सात टिम रहेको लिग डिभिजन-२ मा ओमान १० खेलबाट १६ अंक जोड्दै पहिलो स्थानमा छ भने दोस्रो स्थानमा रहेको अमेरिकाको १० खेलबाट १० अंक नै छ।

लिग डिभिजन-२ मा रहेका ७ टिम मध्ये प्रत्येक टिमले ९ सिरिज मार्फत ३६/३६ खेल खेल्नेछन्। यो लिग डिभिजन-२ बाट शीर्ष स्थानमा रहने ३ टिमले सन् २०२३ मा हुने एकदिवसीय विश्वकपको लागि छनोट खेल खेल्न पाउनेछन्। २०२३ को एकदिवसीय विश्वकप भारतमा हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved