मलेसियामा १६ वर्षदेखि हराए एक युवा

मलेसियामा १६ वर्षदेखि हराए एक युवा

पर्वत। रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि बेपत्ता भएका छन्। महाशिला गाउँपालिका-१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन्।

विसं २०६२ मा मलेसिया गएका सर्वजित हालसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन्। छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गरेकी छन्।

राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरु अत्यन्त पिरमा परेको विष्णुमायाले बताइन्। उनले भनिन्, “घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा हामी छोराकै पिरले दिनको भोक न रातको निद भएका छौँ।”

मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरिरहे पनि त्यसपछि कुराकानी हुन छोडेको विष्णुमायाको भनाइ थियो। छोराको अवस्था थाहा पाउन नसकेपछि अहिले कहाँ कस्तो अवस्था छ, कुनै आपतविपत् परेर हो कि अथवा केही भयो कि ? भन्ने पिरमा आमाबाबु चौबिसै घण्टा तनावमा रहने गरेको बेपत्ता सर्वजितकी भाउजू सम्झना विकले बताइन्।

काठमाडौं मेभ मेनपावरबाट मलेसिया गएका सर्वजित मलेसियाको सेलेङगर भन्ने ठाउँमा (निलेइ कम्पनी) हेन गल्वस कम्पनीमा काम गरेको उनका आफन्त विष्णुराम विकले बताए। चार वर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सम्पर्कविहीन भएको उनको भनाइ छ।

सर्वजितलाई विदेश पठाएको मेनपावर अहिले बन्द भएको छ। हालसम्म धेरै खोजी गर्दा पनि सर्वजितको अवस्था पत्ता नलागेको विष्णुरामले बताए। विक परिवार अझै पनि छोरो घर फर्किन्छ भन्ने आशामा रहेको छ। छोरा गएको ठाउँ मलेसियालगायत सबैतिर खोजिदिन परिवारले आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved