काठमाडौं। सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक सहमतिबिना नै सकिएको छ। सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँड र एमसीसीको विषयमा साझा निश्कर्ष नआउँदा बैठकमा सहमति हुन नसकेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिने विषयमा छलफल गर्नका लागि गठबन्धनको बैठक राखेका थिए। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालय बाँडफाड र एमसीसीका विषयमा पनि छलफल भएको थियो।
तर, मन्त्रालय भागबन्डामा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच विवाद भएको र एमसीसीको विषयमा गठबन्धनका दलबीच मतैक्य हुन नसक्दा बैठकले कुनै निर्णय भने गरेन।
सरकार गठन भएको दुई महिनासम्म पनि सरकारले पूर्णता नपाउँदा सरकारको कार्यक्षमता र जनताप्रतिको जवाफदेहितालाई लिएर आलोचना बढ्न थालेको छ। तर, मन्त्रिपरिषद्लाई पूर्ण बनाउनका लागि गठबन्धनमा रहेका दलबीच नै सहमति हुन सकेको छैन।
यता, अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा पनि सत्ता गठबन्धनमा रहेका दलबीच फरक मत रहेको छ। यसथास्थितिमा पास गर्ने कि संशोधन गराउने भन्ने विषयमा दलहरुबीच विवाद छ।