काठमाडौं । गुजरातका मुख्यमन्त्री विजय रुपाणीले चुनावको एक वर्षअघि अचानक राजीनामा दिएका छन्।
मिडियासँग कुरा गर्दै उनले भने, “पार्टीमा जिम्मेवारी समयसँगै बदलिरहन्छ। यो भाजपामा एक स्वाभाविक प्रक्रिया हो। मैले मुख्यमन्त्रीको जिम्मेवारी ५ वर्षको लागि पाएँ, जुन मैले पूरा गरेको छु।”
मिडिया रिपोर्टका अनुसार भाजपाले भोलि गान्धीनगरमा विधायक दलको बैठक बोलाएको छ, जसमा नयाँ मुख्यमन्त्री चयन हुने सम्भावना छ। केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख माण्डविया, केन्द्रीय माछापालन र पशुपालन मन्त्री पुरुषोत्तम रूपाला, गुजरातका उपमुख्यमन्त्री नितिन पटेल र गुजरात भाजपा अध्यक्ष सीआर पाटिलको नाम नयाँ मुख्यमन्त्रीको दौडमा छ।
रुपाणीले भने- २०२२ को चुनाव मोदीको नेतृत्वमा लड्ने छु
रूपानीले भनेका छन्, “जेपी नड्डाजीको मार्गदर्शन मेरा लागि पनि अभूतपूर्व भएको छ। अब म जुन जिम्मेवारी पाउँछु, म त्यो निर्वाह गर्छु। हामी भन्छौं, जिम्मेवारी स्थिति हैन। मलाई दिएको जिम्मेवारी मैले पूरा गरेको छु। हामी नरेन्द्र मोदीजीको नेतृत्वमा राज्यको चुनाव लड्छौं र २०२२ को चुनाव पनि उनको नेतृत्वमा लड्नेछौं।”
विगत केही दिनदेखि नेतृत्व परिवर्तनको कयास चलिरहेको थियो। पछिल्ला केही दिनबाट गुजरात सरकारमा नेतृत्व परिवर्तनबारे अनुमान लगाइएको थियो। केन्द्रीय गृहमन्त्री अमित शाह बिहीबार राति ८ बजे अहमदाबाद पुगेका थिए।
उनको गुजरात भ्रमणको कुनै निश्चित समयतालिका थिएन। राज्यका गृहमन्त्री प्रदीप सिंह जडेजा, मेयर किरीट परमार र स्थायी समितिका अध्यक्ष हितेश बरोट विमानस्थलमा अमित शाहलाई स्वागत गर्न आएका थिए।
यद्यपि अमित शाह बिहीबार राति आफ्नी बहिनीको घर पुगेका थिए उनी पारिवारिक कामका लागि आएका हुन सक्ने आकलन गरिएको थियो। तर अहिले उनी गुजरात पुग्नुमा सत्ता परिवर्तनमा उनको हात हुन सक्ने भारतीय सञ्चारमाध्यले उल्लेख गरेका छन्।
भाष्करको सहयोगमा