बर्खे झरी अझै झरेकै छ। पानी पर्ने र मौसम खुल्ने टुंगो छैन। मौसम खुलेको मौका छोप्दै कोदो टिप्न व्यस्त छन् संखुवासभाको मकालु गाउँपालिका-३ हेदाङनागढी गोलेका स्थानीय।
भदौमै कोदो टिपेको देख्दा अचम्मै लाग्छ। कारण, यो बेला नेपालका धेरै ठाउँमा कोदो रोप्ने र गोड्ने चटारो हुन्छ। हेदाङनावासी वैशाखमै कोदो रोप्छन्। भदौमा पाकेर टिप्न ठिक्क हुन्छ। त्यसैले त अहिले गोलेचौर फाँटमा कोदो टिप्न हतार छ। यहाँ वर्षमा दुई पटक कोदो रोपिन्छ।
वर्षाको अन्त्यतिर रोपेको कोदो मंसीरमा पाक्ने गाउँपालिका उपाध्यक्ष चमेली राई बताउँछिन् । भन्छिन्, “पुस्ताैंदेखि यहाँको चलन यस्तै चलन छ, कोदो यहाँको मुख्य नगदेबाली हो।”
मंसिरको भन्दा झरीको मौसमको कोदो स्वास्थ्यका दृष्टिले निकै राम्रो मानिन्छ। जाँड बनाउन, खोले, ढिंडो खान खोज्नेहरु धेरै हुन्छन्। “अहिले पाकेको कोदोको एउटा तोङ्वाको तागत सातवटा बियरको भन्दा पनि बढी हुन्छ”, राई भन्छिन्।
उनका अनुसार जाँड (ई) बनाउन बर्खे कोदोको माग उच्च हुने भएकाले स्थानीयका घरमा ‘स्टक’ रहन्न। हेदाङनागढीमा कोदो मात्रै होइन धान पनि राम्रै सप्रन्छ। तर, युवापुस्ताको आकर्षण परम्परागत खेतीमा घट्दै गएको स्थानीयको गुनासो छ। राई, शेर्पा, गुरुङ, तामाङ, बाहुन, क्षेत्री, विश्वकर्मा लगायतको मिश्रित वस्ती हो हेदाङ्नागढी। यो ठाउँ साविक पाथिभरा गाविसमा अवस्थित छ।
सदरमुकाम खाँदबारीबाट ५३ किमि कच्ची बाटो छिचोल्दै यहाँ पुग्न सकिन्छ। निर्माणाधीन उत्तर-दक्षिण जोड्ने कोशी-ल्हासा राजमार्गले छोएको गढी त्यहाँको स्थानीय बजार हो। गढीमा विभिन्न सरकारी र गैरसरकारी निकायका शाखा र सम्पर्क कार्यालय बाक्लै छन्। गढीबाट तीन किमि हाराहारीमा पुगिन्छ गोलेचौर।