सम्झनामा ९/११

कसरी भएको थियो शताब्दीकै पीडादायी आक्रमण ?

सानो समूहमा रहेका अपहरणकारीको कब्जामा परेपछि ती विमानहरु विस्फोटक मिसाइलको रुपमा प्रयोग भए। अपहरण गरिएको विमानलाई वासिङ्टन र न्यूयोर्कको टावरमा ठोक्काउनका लागि अपहरणकारीहरु पूर्णरुपमा तालिमप्राप्त र निर्देशित थिए।

नेपालभ्युज

कसरी भएको थियो शताब्दीकै पीडादायी आक्रमण ?

एजेन्सी। सन् २००१ को सेम्टेम्बर ११ अर्थात् आजभन्दा ठ्याक्कै २० वर्ष अगाडिको दिन। अमेरिकाको न्यूयोर्क शहरमा शताब्दीकै पीडादायक हमला (आत्मघाती आक्रमण) भएको दिन। अझ भनौ अफगानिस्तान अहिलेको अवस्थामा आउनुको शुभारम्भ भएको दिन।

उक्त दिन न्यूयोर्क शहरको पहिचान बनेको दुई गगनचुम्बी भवटनहरुमाथि जेट विमान पसेर हजारौँ व्यक्तिको ज्यान गयो। एकैदिन भएका चारवटा विमानको अपहरण र आत्मघाती हमलाबाट अमेरिकीसहित विभिन्न देशका करिब ३ हजारले ज्यान गुमाए।

आजभन्दा २० वर्ष पहिले आजकै दिन आत्मघाती आक्रमणकारीहरुले यात्रुहरु रहेका अमेरिकी जेट विमान कब्जामा लिएर न्यूयोर्कको ट्विन टावरमा ठोक्काएका थिए । उक्त घटना भएको दिनलाई अमेरिकीहरुका लागि मात्रै नभएर पूरै विश्वको लागि शताब्दीकै पीडादायी दिनको रुपमा लिइन्छ।

निशानामा के थियो ?
पूर्वी अमेरिकामा यात्रु बोकेर उडेको चारवटा विमान क्रमिक रुपमा अपहरणमा परे। सानो समूहमा रहेका अपहरणकारीको कब्जामा परेपछि ती विमानहरु विस्फोटक मिसाइलको रुपमा प्रयोग भए। अपहरण गरिएको विमानलाई वासिङ्टन र न्यूयोर्कको टावरमा ठोक्काउनका लागि अपहरणकारीहरु पूर्णरुपमा तालिमप्राप्त र निर्देशित थिए।

सबैभन्दा पहिले दुई विमान न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरको दुई विशाल टावरमा ठोक्कियो। पहिलो विमान स्थानीय समयअनुसार बिहान ८ बजेर ४६ मिनेट जाँदा तथा दोस्रो ९ बजेर ३ मिनेट जाँदा टावरमा ठोक्किएको थियो।

विमान ठोक्किएलगत्तै ती टावरका माथिल्लो तल्लामा आगलागी शुरु भयो। विमान ठोक्किएर आगलागी भएसँगै पूरै शहर धुँवामा रुमल्लियो। २ घण्टाभन्दा कम समयमै ११० तल्ले भवनहरु ध्वस्त भए।

त्यसपछि बिहान ९ बजेर ३७ मिनेटमा फेरि अर्को विमान आक्रमण भयो। पेन्टागनस्थित अमेरिकी सेनाको हेडक्वाटरको पश्चिमपट्टीको बाहिरी भागमा तेस्रो विमान ठोक्कियो। बताइएअनुसार आक्रमणकारीहरुले अमेरिकी राजधानी वासिङ्टन डीसीको भवनमा आक्रमण प्रयास गरेका थिए।

चौंथो विमान पेन्सिलभेनियामा दुर्घटनामा पर्यो। अपहरणकारीले पहिले जस्तै आक्रमणको प्रयास गरे पनि यात्रुहरुको विद्रोहका कारण एक मैदानमा दुर्घटनामा पर्यो। आक्रमणकारीहरुले उक्त विमानलाई पनि वासिङ्टन डीसीको क्यापिटल भवनमा ठोक्काउने योजना बनाएका थिए।

कति व्यक्ति मारिए ?
तीन आक्रमण र चौथो दुघटनासहितको घटनामा कुल २ हजार ९७७ जनाको ज्यान गएको थियो । मृतकमध्ये सबैभन्दा बढी व्यक्ति न्यूयोर्कमा टावर आक्रमणमा परेका थिए। यो संख्यामा १९ जना अपहरण तथा आक्रमणकारीलाई समेटिएको छैन।

पेन्सिलभेनियामा दुर्घटनामा परेको चौंथो विमानमा रहेका चालकदल र यात्रुसहित पूरा २४६ जनाको निधन भएको थियो।

ट्विन टावरमा मात्रै २ हजार ६०६ जनाको ज्यान गएको थियो। आक्रमणको समय र पछि मृत्यु भएका घाइतेको संख्या पनि यसमा छ।

पेन्टागन आक्रमण्मा १२५ जनाको ज्यान गएको थियो।

त्यससमयमा आतंकवादी हमलामा ज्यान गुमाउने सबैभन्दा कम उमेरका २ वर्षीय क्रिस्टियन ली हन्सन रहेका थिए। उनी उनका आमाबा पिटर र सुईसँगै मारिएका थिए। सबैभन्दा वृद्ध व्यक्ति ८२ वर्षीय रोबर्ट नर्टन रहेका थिए।

आक्रमणको समयमा ट्विन टावरमा १७ हजार ४०० भन्दा बढी व्यक्ति रहेका अनुमान छ। तीमध्ये उत्तरी टावरको माथिल्लो तल्लामा रहेका कोही बाँच्न सकेनन्। तर, दक्षिण टावरको माथिल्लो तल्लामा रहेका १८ जना भने ज्यान बँचाउन सफल भएका थिए।

उक्त आक्रमणमा ७७ देशका नागरिकले ज्यान गुमाएका थिए। न्यूयोर्कमा मात्रै शुरुवाती प्रतिक्रिया दिने ४४१ जना थिए। उक्त आक्रमणमा हजारौँ व्यक्ति घाइते भएका थिए। केही आक्रमणका क्रममा घाइते भए भने फायरफाइटरसहित केही आक्रमणपछि फैलिएको बिमारीका कारण अस्पताल पुगे।

आक्रमण गर्ने को थिए ?
ट्विन टावर आक्रमणमा अफगानिस्तानको इस्लामी चरमपन्थी समूह अलकायदाको हात रहेको थियो। अमेरिकाले आक्रमणको मुख्य जिम्मेवार ओसामा बिन लादेन नेतृत्वको अलकायदा र यसका सहयोगी मुस्लिम समूदायलाई ठहर्याएको थियो।

आक्रमणमा संलग्न १९ जनालाई अलकायदाले चार समूहमा विभाजन गरेर आक्रमणमा पठाएको थियो। पाँच पाँच जनाको ३ समूह र चार जनाको एक समूह आक्रमणमा परिचालित थियो। चार जनावाला समूहले पेन्सिलभेनियामा दुर्घटनामा परेको थियो।

ती चारवटै समूहमा कम्तिमा एक जना पाइलट तालिम लिएका आक्रमणकारी थिए। उनीहरुले पनि अमेरिकाकै पाइलट स्कुलबाट प्रशिक्षण लिएका थिए। आक्रमणकारीमध्ये १५ जना बिन लादेन जस्तै साउदीका, २ जना युएईका र एक एक जना इजिप्ट र लेबनानका रहेका थिए।

अमेरिकाले के गर्यो ?
ट्विन टावर आक्रमणको एक महिना नपुग्दै अमेरिकाले अफगानिस्तानमा अल कायदा विरुद्धको अपरेसन शुरु गरेको थियो। अन्तर्राष्ट्रिय गठबन्धनको सहयोग लिएर अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले अदकायदाको उन्मुलन र बिन लादेनको शिकारको अपरेसन चलाएका थिए।

अमेरिकाले लादेनलाई खोज्न शुरु तत्काल गरे पनि सन् २०११ मा मात्रै अमेरिकाले बिन लादेनलाई खोजेर मारेको थियो। आक्रमणको मुख्य योजनाकार खालिद शेख मोहम्मद सन् २००३ मा पाकिस्तानबाट पक्राउ परेका थिए। उनी अहिले पनि अमेरिकी जेलमा रहेका छन्।

अमेरिकाको ट्विन टावरमा ९/११ आक्रमण गर्ने अलकायदा अहिले पनि अस्तित्वमा रहेको छ। सबसहारा अफ्रिकामा आधारित भए पनि अफगानिस्तानमा पनि यसका सदस्यहरु रहेका छन्। तर, २० वर्षसम्म अफगानिस्तानमा रहेको अमेरिकी सेना भने केही समय अघिमात्र फर्किसकेको छ।

(बीबीसीकाे सहयाेगमा)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved