नेपाल भर्सेस पीएनजी

यी हुन् एकदिवसीय सिरिजमा जितसँगै बनेका कीर्तिमान

ओडीआई म्याचमा १५१ रनको जित नेपालको हालसम्मकै ठूलो जित हो। यसअघि नेपालको ओडीआई म्याचमा सर्वाधिक ठूलो जित यूएईविरुद्ध १४५ रनको थियो।

यी हुन् एकदिवसीय सिरिजमा जितसँगै बनेका कीर्तिमान

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य स्टार स्पीनर सन्दीप लामिछाने एक्लैले ऐतिहासिक ६ विकेट लिएपछि नेपालले पपुवा न्युगिनि (पीएनजी) सँगको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट (ओडीआई) म्याचमा १५१ रनको कीर्तिमानी जित निकालेको छ।

ओडीआई म्याचमा १५१ रनको जित नेपालको हालसम्मकै ठूलो जित हो। यसअघि नेपालको ओडीआई म्याचमा सर्वाधिक ठूलो जित यूएईविरुद्ध १४५ रनको थियो।


पहिले ब्याटिङ गरेर पीएनजीलाई २३४ रनको विजयी लक्ष्य दिएको नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दा पीएनजी ८२ रनमै अलआउट भयो। यो जितसँगै पीएनजीसँगको २ म्याचको सिरिज नेपालले २-० ले आफ्नो पक्षमा पार्‍यो।

सन्दीपको कीर्तिमानी बलिङ
पीएनजीको इनिङलाई ध्वस्त पार्न सन्दीपले कीर्तिमानी बलिङ गर्दै ६ विकेट झारे। लगातार दोस्रो खेलमा प्लेएर अफ दी म्याच घोषित सन्दीपले ५.१ ओभरमा मात्र ११ रन खर्चेर ६ विकेट लिँदै रेकर्ड बराबर गरेका छन्।

उनले ओडीआई क्रिकेटमा लगातार तीन खेलमा ४ वा सोभन्दा बढी विकेट लिने रेकर्ड बराबर गरेका हुन्। उनले अष्ट्रेलियाका सेर्न वार्न, भारतका मोहमद सामी, पाकिस्तानका वकार युनिस लगायतको नाममा रहेको यो रेकर्ड बराबर गरे।

गत वर्ष नेपालमा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को खेलमा अमेरिकालाई ३६ रनमा अल आउट गर्दा सन्दीपले ६ विकेट लिएका थिए। यसपछि मंगलबार पीएनजीसँगको पहिलो एकदिवसीय क्रिकेट खेल नेपालले २ विकेटले जित्दा पनि उनले ४ विकेट लिए।

सन्दीपको यो खेलको ५.१ ओभरमा ११ रन र ६ विकेटको प्रदर्शन पनि नेपाली बलरको हालसम्मकै उत्कृष्ट बलिङ प्रदर्शन हो। यसअघि गतवर्ष अमेरिका विरुद्धको खेलमा गरेको ६ ओभरमा १६ रन र ६ विकेटको आफ्नै प्रदर्शनलाई सन्दीपले नै सुधारे। साथै, ओडीआई क्रिकेटमा नेपालका लागि दुई पटकभन्दा बढी ५ विकेट लिने सन्दीप पहिलो खेलाडी बने।

२३४ रनको विजय लक्ष्य भेटाउन दोस्रो इनिङमा मैदान उत्रेको पीएनजीलाई नेपाली बलरहरुले शुरुदेखि नै दबाबमा राखे। तेस्रो ओभरमा नै ओपनर साइकालाई सोमपाल कामीले बोल्ड गर्दा अर्को ओभरमा आसाड भालालाई पनि बिक्रम सोबले आउट गरे। शुरु मै ११ रनमा २ विकेट गएपछि पीएनजी केही तनावमा देखियो।

तर, १२ औं ओभरमा बलिङ गर्न आएका सन्दीपले पीएनजीलाई थप ध्वस्त बनाए। सन्दीपले बलिङ गरको ६ ओभरमध्ये प्रत्येक ओभरमा पीएनजीको विकेट खस्यो र पीएनजी १९.१ ओभरमा ८२ रनमै अलआउट भयो। सुसन भारीले नेपालका लागि थप १ विकेट लिएका थिए।

ब्याटिङमा पनि कीर्तिमानी साझेदारी
यसअघि, खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले अन्तिम ३ बल खेल्नु अगाडि अलआउट हँुदै २३३ रन जोड्यो। पीएनजीसँगको पहिलो खेलमा तीन परिवर्तन गर्दै नेपाल मैदानमा उत्रिएको थियो। शरद भेषवाकर, आरिफ सेख र पवन सरार्फको ठाँउमा विकेट किपर ब्याटस्म्यान विनोद भण्डारी, अलराउण्डर करण केसी र स्पिनर सुसन भारी टिममा फर्किएका थिए।

यो खेलमा पनि प्रशिक्षक डेभ ह्वाटमोरले आसिफ शेख र कुशल भुर्तेललाई नै ओपनिङमा निरन्तरता दिए। टी-ट्वान्टी क्रिकेटमा उत्कृष्ठ खेल देखाएपछि यी दुईले अघिल्लो खेलदेखि एकदिवसीय क्रिकेटमा पनि ओपनिङ जोडीको जिम्मेवारी पाएका थिए। अघिल्लो खेलमा पहिलो विकेटको लागि ४६ रनको साझेदारी गरेको ओपनिङ जोडी यो खेलमा भने पूरै फ्लप भयो।

नेपालले मात्र ९ रन जोड्दा दुवै ओपनर पभेलियन फर्किए। खेलको तेस्रो ओभरमा आसिफ शेख क्याच आउट हँुदा लगत्तै अर्कोे ओभरमा भुर्तेल पनि विकेट किपरद्वारा क्याच आउट भएका थिए। यी दुवैले मात्र तीन तीन रन जोड्न सके।

यसपछि नेपालको इनिङ जोगाउने जिम्मा कप्तान ज्ञानेन्द्र मल्लको काँधमा आयो। पछिल्लो समय खासै लामो पारि खेल्न नसकेका कारण आलोचित बन्दै आएका कप्तान ज्ञानेन्द्रले गज्जबको पारि खेले। ज्ञानेन्द्रले रोहित पौडेलसँग मिलेर तेस्रो विकेटको लागि ८९ रनको कीर्तिमानी साझेदारी गरे।

नेपालको ओडीआई क्रिकेटमा ८९ रनको साझेदारी कुनै पनि विकेटका लागि हालसम्मकै उच्च हो। यसअघि, गतवर्ष अमेरिका विरुद्धको खेलमा कुशल मल्ल र विनोद भण्डारीले छैठौँ विकेटको लागि ८४ रनको साझेदारी गरेका थिए।

खेलको २५ औं ओभरमा कप्तान ज्ञानेन्द मल्ल सोपरको बलमा एलबीडब्लू धरापमा पर्दा अर्धशतक पूरा गर्नबाट चुकेका थिए। ज्ञानेन्द्रले ७० बलमा ३ चौका र २ छक्काको मद्दतले ४५ रन जोडे।

त्यसपछि रोहितले सुझबुझपुर्ण ब्याटिङ गर्दै नेपालको स्कोरलाई सम्मानजनक अवस्थामा पुर्याए। उनले लामो पारि खेल्दै १२३ बलमा ३ छक्का र २ चौक्काको मद्दतले ८६ रनको योगदान दिए। शतक नजिक पुगेका उनी इनिङको अन्त्यतिर शतकका लागि लामो सट खेल्ने प्रयासमा आउट भए।

करण केसीले बिस्फोटक ब्याटिङ गर्दै मात्र २६ बलमा ४ छक्का र २ चौक्कासहित ४२ रन जोडेका थिए। बिनोद भण्डारीले १७ रनको योगदान गर्दा २४ रन पीएनजीले अतिरिक्त रनको रुपमा दिएको थियो। सकेसम्म धेरै रन जोड्न खोज्दा अन्तिम २ ओभरमा नेपालको अन्तिम ४ विकेट खसेको थियो।

ओडीआईमा पहिलो डे एण्ड नाइट म्याच
शुक्रबार कुवेतको अल अमिरात मैदानमा नेपाली क्रिकेट टिमले पहिलो पटक एकदिवसीय क्रिकेट (ओडीआई) मा डे एण्ड नाइट (दिनमा र रातमा खेलिने) म्याच खेलिरहेको थियो। सन २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एकदिवसीय मान्यता पाएयता नेपालले शुत्रबार डे एण्ड नाइट म्याचमा डेब्यू गर्‍यो।

हुन त यसअघि नेपालले टी-ट्वान्टी क्रिकेटमा भने फ्लड लाइटमा नाइट म्याच खेलिसकेको छ। सन २०१४ को विश्वकप र पछिल्लो पटक सन २०१९ मा जिम्बाबे र सिंगापुरसँगको त्रिकोणात्मक टी-ट्वान्टी श्रृङ्खला पनि नेपालले राति खेलेको थियो। सो टिमका केही खेलाडीहरु अहिले यो एकदिवसीय टिममा पनि छन्।

लिग डिभिजन-२ को तयारी पूरा
यो खेलसँगै एकदिवसीय त्रिकोणात्मक श्रृङ्खलाको लागि नेपालको तयारी सफल रुपमा सकिएको छ। नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खला खेल्नुअघि अभ्यास स्वरुप पीएनजीसँग दुई खेल खेलेको हो। सोमबारदेखि ओमनमा शुरु हुने श्रृङ्खलामा नेपालले आयोजक ओमन र अमेरिकासँग दुई दुई एकदिवसीय खेल खेल्नेछ।

नेपालले २८ भदौ सोमबार श्रृङ्खलाको पहिलो खेल अमेरिकासँग खेल्नेछ। यसअघि लिग डिभिजन-२ अन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमन र अमेरिकासँग दुई दुई खेल खेलिसकेको छ। जसमा नेपालले अमेरिकालाई दुवै खेलमा हराएको थियो भने ओमनसँग दुवै खेलमा पराजित भएको थियो।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को अंकतालिकामा नेपाल ४ खेलमा २ जितपश्चात् ४ अंकसहित छैठौँ स्थानमा छ। सात टिम रहेको लिग डिभिजन-२ मा ओमान १० खेलबाट १६ अंक जोड्दै पहिलो स्थानमा छ भने दोस्रो स्थानमा रहेको अमेरिकाको १० खेलबाट १० अंक नै छ।

विश्व क्रिकेट लिग डिभिजन-२ बाट शीर्ष स्थानमा रहने ३ टिमले सन् २०२३ मा हुने एकदिवसीय विश्वकपको लागि छनोट खेल खेल्न पाउनेछन्। २०२३ को एकदिवसीय विश्वकप भारतमा हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved