महामारीमा जीवन

‘दुःख पर्दा शहरमा आफ्नो कोही नहुने रैछ’

वीर अस्पताल छेउछाउ चिया, चमेना बेचेर गुजारा चलाउने सडक व्यापारीले लकडाउनमा निकै सास्ती खेपे। छाक टार्नै गाह्रो भयो । ऋण थपियो। सकस बाँकी छ।

‘दुःख पर्दा शहरमा आफ्नो कोही नहुने रैछ’

काठमाडौं। बिहानैको चर्को घाम। पसिनाले लतपत अनुहार। वीर अस्पतालअघि स्टोभ बालेर चिया उमाल्दै गरेकी कान्छी तामाङ। १५ वर्षअघिदेखि उनको दैनिकी यसरी नै बित्ने गरेको छ। बिहानै ४ बजे असनको डेराबाट स्टोभ, थर्मस र चिया पकाउने ताप्केसहित अन्य आवश्यक सामग्री बोकेर अस्पताल परिसर आइपुग्छिन् उनी।

अस्पताका बिरामी कुरुवालाई चिया खुवाएरै चल्छ उनको गुजारा।

तर कोभिड महामारीले उनको दैनिकी बिथोलिएको छ। “दिनमा पाँच पोका दूधको चिया पनि बिक्दैन। जिन्दगी चलाउन नै धौधौ भइसक्यो”, कान्छी भन्छिन्, “सुख, दुःखमा साथ दिन्छु भनेका श्रीमान बितेको १५ वर्ष भइसक्यो।”

श्रीमान् बितेपछि छोराछोरीको लालन पालन गर्न उनले निकै समस्या सामना गर्नुपर्‍यो। अस्पताल परिसरमा चिया बेचेरै उनले जिन्दगी चलाइन्। छोराले १२ पास गरिसके। छोरी ११ मा पढ्दैछिन्। जसोतसो जिन्दगीको रथ गुडाइरहिथिन्, नामै नसुनेको रोग आइदियो।

“समयसँग हरेक चोटको मलम हुन्छ भन्थे तर मेरो जीवनमा ठीक उल्टो भइरहेछ, समयसँगै झन् नयाँ चुनौती थपिएका छन्”, उदास अनुहार लगाएर भन्छिन् उनी, “जसोतसो चलाइरहेको जिन्दगीमा कोरोना त तुफानजस्तै भइदियो। यो रोग नआउँदासम्म त कमाएर बेलुका छाक टार्दै गुजारा चलाइरहेको थिएँ। लकडाउन भएपछि डेरा भाडा तिर्न र बिहान बेलुका हात जोर्न पनि सकिएन।”

लकडाउनमा निकै सास्ती खपिन्। छोराछोरीलाई भोकै राख्न मनले मानेन। ऋण खोजिन् चार चौकोस धाइन्। धेरैजनासँग हात थापेपछि बल्ल एकजना आफन्तले ऋण दिएपछि छोराछोरीलाई खाना खुवाउन सकिन् उनले।

पहिलो लहरमै ऋण लागिसकेको थियो। दोस्रो लहरमा झनै थपियो। डेरा भाडा नतिरेको ६ महीना नाघिसक्यो।

०००

हनुमान ढोका सुमित्रा (नाम खुलाउन नचाहेकाले परिवर्तन गरिएको) बिहान ६ बजे नै ‘ट्रमा सेन्टर’को अगाडि चना, पानी, बिस्कुट लगायतका खाद्य सामग्री लिएर आइपुगिसक्छिन्। उनको जिविकाको स्रोत नै यही हो। कमाई त त्यस्तै हो। बिहान–बेलुकाको छाक टर्छ, बचत हुँदैन। जेनतेन जीवन गुजारिरहेकी सुमित्रको पनि कोरोना कहर उस्तै छ।

“पहिलो लकडाउनमै हामीले निकै अभाव भोग्नुपर्‍यो। एउटी छोरीलाई प्यारालाइसिस भएर अस्पताल भर्ना गरिएको थियो। त्यहीबेला अर्की छोरीको हात भाँच्चियो”, उनी सुनाउँछिन्।

त्यसैमा थपियो उनकी बहिनीको पीर पनि। श्रीमान् बितेपछि ज्यामी काम गरेर गुजारा चलाइरहेकी उनकी बहिनी उच्च रक्तचापका कारण बेहोस भएपछि अस्पताल भर्ना गर्नुपर्‍यो। बहिनीको अवस्था निकै गम्भीर थियो।

“भारी बोकिरहेकै बेला बेहोस भएकाले टाउकोमा रगत जमेको छ, बचाउन कठीन हुन्छ भनेका थिए डाक्टरले। तैपनि सास हुन्जेल सबैलाई आश हुन्छ। मैलै पनि बहिनीलाई बचाउने आशा मारिन्। उसको छोराछोरीका लागि भए पनि बचाउनुपर्छ भनेर लागिपरेँ”, सुमित्रा सुनाउँछिन्।
यसरी कोभिड कहरको बीचमा सुमित्राका दिन अस्पतालमा बिते। एकातिर छोरीहरूको पीर, अर्कोतिर बहिनीको। त्यसमाथि कोभिड संक्रमणको त्रास। तर हार मानेर के गर्नु ? अस्पताल गइरहिन्। छोरीहरूको स्वास्थ्यमा सुधार त आयो तर बहिनीलाई बचाउन सकिनन्। आफ्नै परिवार पाल्न कठिन भइरहेको बेलामा बहिनीका दुईवटी छोरीको जिम्मेवारी पनि थपियो।

पैसा तिर्न नसकेपछि अस्पताले बहिनीको शव दिन मानेन। ऋण काढेर बहिनीको शव अस्पालबाट निकाल्नुपर्‍यो। बल्लतल्ल पशुपति आर्यघाट पुर्‍याएर अन्तिम संस्कार गरे उनीहरूले।

एकातिर लकडाउनका कारण भएको गुजाराको सानो स्रोत पनि थुनिएको थियो। अर्कोतिर लाखौं खर्च थपियो।

“जस्तो भए पनि सहनबाहेक के गर्न सकिने रैछ र ? आफ्नै सन्तानको लालनपालन गर्न गाह्रो छ, बहिनीका छोरीलाई कसैले सहयोग गरिदिए उनीहरूले आफ्नो भविष्य बनाउने थिए”, सुमित्रा भन्छिन्।

आफ्नो नाम सुनाउन नचाहनुको पनि कारण सुनाइन् उनले। “नगरपालिकाले पसल थाप्न दिँदैन। नाम भन्यो भने यसले पसल राख्दिरहिछ भनेर दुःख दिन्छ”, उनले भनिन्।

०००

वीर अस्पतालकै छेउमा चाउचाउ, बिस्कुट, चकलेटलगायत खानेकुरा बेच्न बस्छिन्, रामेछापकी कुमारी श्रेष्ठ।

श्रीमानलाई मधुमेहले च्यापेपछि दुई वर्षअघि काठमाडौं पसेकी हुन् उनी। छोराछोरी र श्रीमानसहित असनमा डेरामा बस्छिन्। दुई वर्षदेखि उनको दैनिकी पनि वीर अस्पताल परिसरमा खाद्य सामग्री बेचेर नै बितेको छ। बिहान ६ नबज्दै आइपुग्छिन्। साँझ ८ बजेपछिमात्रै फर्किन्छिन्। पहिले फलफूल बेच्थिन्। अचेल खानेकुरा बेच्छिन्।

भन्छिन्, “व्यापार ठप्प छ। लकडाउनअघि जीविका चलाउन पुग्ने आम्दानी हुन्थ्यो। अहिले एक छाक टार्न पनि मुश्किल छ। छन त गाउँमा आफ्नै घर र तीन महिनजसोलाई खान पुग्ने खेती छ। तर त्यसले कहाँ पुग्छ र ? त्यसमाथि महिनैपिच्छे श्रीमान् अस्पताल जानपर्ने भएपछि काठमाडौंमै बस्न बाध्य भयौं।”

काठमाडौं बस्न शुरु गरेको केही समयमा नै लकडाउन भयो। डेरामा दिन कटाउन निकै कठिन भयो। बिहान-बेलुकाको खाना जुटाउन पनि गाह्रो भयो।

“काठमाडौंमा बस्न पैसा हुनुपर्ने रहेछ। नभए यहाँ कसैको कोही नहुनेरैछ। गाउँमा त अ‍ैंचो, पैंचो गरेर पनि चलाइन्छ। केही समयका लागि उधारो पनि पाइन्छ। तर यहाँ केही दिनका लागि उधारो पनि पाइएन। त्यसमाथि बेलाबेलामा घरबेटीले भाडा माग्न आइरहे। निकै तनाव भइरह्यो”, दुःख पोख्छिन् कुमारी श्रेष्ठ।

‘महामारीमा जीवन’ शृंखलाः

१. जिन्दगी बिथोलिदियो महामारीले, दुःखमा झन् सास्ती दियो सरकारले

२. दुःखका साथी भएनन् राजनीतिक दल

३. तिम्रा किताब खोइ त?

४. राहतको आशमा थिए दमकका सुकुमबासी, सरकारले डोजर चलायो

५. कोभिडले खोस्यो गाँस, त्यसैमा तिनाउले थपेको त्रास

६. जसले जोखिम मोलेर अस्पताल सफा राखे


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved